काभ्रेको पनौतीमा बृहत् मोटरसाइकल र्‍याली हुने

पनौती/ काभ्रेपलाञ्चोकको पनौतीमा नेपाली कांग्रेसको महाधिवेशन गर्न दबाब दिने उदेश्यले भोलि शनिबार बृहत् मोटरसाइकल र्‍याली आयोजना गरिएको छ।

जिल्लाभरका नेता कार्यकर्ता, युवाहरु र समर्थकहरूलाई आफ्ना मोटरसाइकल सहित तोकिएको स्थान र समयमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरिएको छ। र्‍याली मध्यान्ह १२स्३० बजे पनौती बसपार्क, काभ्रेबाट सुरु हुने जनाइएको छ। आयोजकका अनुसार र्‍यालीलाई ‘दबाबमूलक कार्यक्रम’ का रूपमा अघि सारिएको छ । जसको उद्देश्य पार्टीभित्र नियमित महाधिवेशन सुनिश्चित गर्न, जिम्मेवार नेतृत्वलाई सक्रिय बनाउन र सुशासनको आवश्यकता जनतासमक्ष बलपूर्वक प्रस्तुत गर्न रहेको छ। “नियमित महाधिवेशन गर १ सुशासन कायम गर १ आत्मनिर्भरताको ग्यारेन्टी गर १” भन्ने राजनीतिक नारा उल्लेख गरिएको छ।

र्‍यालीमा काभ्रे जिल्ला भरिका विभिन्न स्थानबाट सहभागी आउने अपेक्षा गरिएको छ। कार्यक्रम व्यवस्थापनका लागि सुरक्षा निकाय, ट्राफिक प्रहरी र स्थानीय निकायसँग आवश्यक समन्वय भइरहेको आयोजकले जनाएको छ। मोटरसाइकलको लामो लाइनमार्फत पनौती बजार क्षेत्र हुँदै चल्ने र्‍यालीले जिल्लाभर जनचेतनाको वातावरण बनाउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।

स्थानीयस्तरमा यस कार्यक्रमप्रति युवाहरु विशेष रुपमा उत्साहित देखिएका छन्। र्‍यालीले काभ्रेको राजनीतिक वातावरणमा सक्रियता बढाउने र आगामी महाधिवेशनमा सहभागिता र पारदर्शिताबारे सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।