बनेपा नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई, सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुझाव
बनेपा/बनेपा नगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ मा सम्पादन गरेका नियमित, विकासात्मक र आकस्मिक सेवा प्रवाह सम्वन्धी कार्यक्रमहरुको सार्वजनिक सुनुवाई आयोजना गरेको छ । कार्यक्रममा सहभागि नागरिकहरुले नगरपालिकाले गरिरहेका विकास निर्माण लगायत विभिन्न सेवाका बारेमा सुझाव, जिज्ञासा सहित सल्लाह प्रदान गरेका थिए ।
नगर प्रमुख शान्तिरत्न शाक्यले नागरिकहरुले उठाएका जिज्ञासाको सम्बोधन गर्दै नगरपालिकाको आन्तरिक श्रोतबाट नागरिकहरुका असिमित चाहना पुरा गर्न असहज भएको बताए । झनै भाद्र २३ र २४ गते भएको आन्दोलनका नाममा नगरपालिकाको प्रशासनीक भवन लगायत नगरपालिकाको इतिहास देखि संरक्षित संरचना तथा अन्य सामाग्री नस्ट भए पछि श्रोतको समेत अभाव हुने चिन्ता ब्यक्त गरे । ‘त्यो भवनले नागरिकहरुलाई के दुख दिएको थियो र ? नागरिक आफैले पनि अनुशासित हुनु पर्ने कि नपर्ने ? कानून सबैले मान्नु पर्ने कि नपर्ने ?’–नगर प्रमुख शान्तिरत्न शाक्यले भने–‘सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनीमा पहिचान भएकाहरुलाई पनि कारवाही हुन सकेको छैन ।’
नागरिकले उठाएको सडक, शिक्षा, खानेपानी, स्वास्थ्य, करिडोर तथा उद्योग ब्यवसायका सन्र्दभमा क्रमशः तत्कालिन र दीर्घकालिन रुपमा सम्बोधन गर्दै जाने नगर प्रमुख शाक्यले बताए । बनेपा नगरपालिका प्रशासनिक भवन ध्वस्त भएसँगै वडा नम्वर १० को भवनमा अस्थायी संरचना निर्माण गरेर कार्यालय संचालन गरिरहेको छ । प्रदेश र संघ सरकार बजेट कटौती गर्ने, स्थानीय श्रोत संकलन हुन नसक्ने अनि नागरिकहरुले खोजे जस्तो सेवा कसरी सम्भव छ ? नगर प्रमुख शाक्यले भने–‘नागरिकहरुका हरेक समस्या सम्बोधन गर्न जनप्रतिनिधि र कर्मचारी निरन्तर सक्रिय छन् ।’
कार्यक्रममा उपप्रमुख विमला सापकोटाले करिडोर निर्माणमा सर्वाेच्च अदालतले दिएको फैसला, स्थानीयहरुको चाहना र नगरपालिकाको सोचका बारेमा संयुक्त छलफल गरिने बताईन् । शिक्षाको गुणस्तरका लागि विद्यालय एकीकरण, स्वास्थ्य सेवामा प्रभावकारिताका लागि चिकित्सकिय ब्यवस्थापन, घर जग्गा ब्यवस्थापन, करको क्षेत्र र उद्योगी ब्यवसायीको समस्याको सम्बोधन गरिने उनले बताईन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले स्वागत सहित कार्यक्रमको आवश्यकता र नगरका गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनाले गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा नगर भित्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु तथा नागरिकहरुको सहभागिता रहेको थियो । आर्थिक वर्ष २०८१/२०८२ मा भएका गतिविधिहरु सोहि अवसरमा प्रस्तुत गरिएको थियो । नगरपालिकाका तर्फबाट प्रशासकीय प्रमुख यादव खनालले कार्यक्रम संचालन गरेका थिए ।
कसले के भने ?
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय राजनीतिक दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव पुरुषोतम घिमिरेले सुझाव सहित जिज्ञासा राखेका थिए । रासायनिक मलको अभाव, जगली जनावारको उचिव ब्यवस्थापन गरी कृषकहरुलाई क्षतिपुर्ति राहतको ब्यवस्थापन, फोहोरमैलाको ब्यवस्थित ब्यवस्थापन, सुरक्षाको प्रत्याभुति, दमकलको ब्यवस्थापन, वडा वडामा पुग्ने बस तथा अटोको ब्यवस्थित पार्किङ्ग, राजमार्गको ब्यवस्थापन लगायतका विषयमा नगरपालिकाले तत्कालिन र दीर्घकालिन योजना निर्माण गर्न सुझाव दिएका थिए ।
काभ्रे उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदारले उद्योगी ब्यवसायीहरुका समस्या समाधानका लागि विस्तारित राजमार्गले पु¥याएको असर कम गर्न करिडोर निर्माण, कर संकलनमा साझेदारी र तालिम कार्यक्रमहरुमा समन्वय र साझेदारी गर्न तयार रहेको बताए । नागरिकहरुको सुरक्षाका लागि उद्योगी ब्यवसायीहरुको समेत संरक्षण गर्न र ब्यवसाय करसँगै घर भाडा करलाई ब्यवस्थित गर्न उनले सुझाव दिए । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले नगरपालिकाले गरिरहेका सेवा प्रवाहको सुधारका लागि सुझाव दिएका थिए ।
अपाङ्गता महासंघकी प्रतिनिधि पम्फा पुर्काेटीले पुर्वाधार निर्माण, सडक तथा अन्य क्षेत्रमा अपाङ्गता भएका ब्यक्तिहरुलाई प्राथमिकतामा राख्न र महिला उद्यमशिलता, शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिक तथा हरेक क्षेत्रमा समावेशी सहभागिता सहित अपाङ्गता मैत्री कानून निर्माण गर्न सुझाव दिईन् । बनेपा नगरपालिका वडा नम्वर १ स्थायी घर भएका टोल सुधार समितिका अध्यक्ष समेत रहेका श्रीकृष्ण पाण्डेले सामुदायिक वनको इतिहास कायम गर्ने देखि सडक निर्माणमा ध्यान दिन सुझाव दिए । वडा नम्वर १२ का सौरभ विष्टले वडा नम्वर १२ पुग्ने सडक भत्किएको र तत्काल मर्मतका लागि अनुरोध गरे । साथै स्वास्थ्य भवन राम्रो भए पनि औषधी अभाव रहेको बताए ।
बनेपा वडा नम्वर ८ का यशकुमार रञ्जितले सार्वजनिक सुनुवाईमा नागरिकहरुको सहभागिता कम हुने गरेको बताए । साथै स्वास्थ्य बीमाको प्रभावकारिता, सामुदायीक विद्यालयको शिक्षाको गुणस्तर लगायतका विषयमा नगरपालिकाको ध्यानकर्षण गराए । बनेपा ७ का प्रल्हाद बस्नेतले मतदाता नहुँदा विकास निर्माणमा अनागरिक जस्तो ब्यवहार भएको बताए । १० लाख रुपैया खर्च गरेर निर्माण गरिएको ढल वेवारिसे भएर टोल दुर्घन्धित भएको बताए । ५ लाख स्थानीयले र ५ लाख नगरपालिकाले खर्च गरेर बनाएको ढल ब्यवस्थापनको कार्य पुरा गर्न सकिएको छैन । तत्काल पुरा गरिदिन उनले नगरपालिकाको ध्यानाकर्षण गराए । वडा नम्वर ८ का रामप्रसाद दुलालले ३ वर्ष देखि नगरपालिकालाई दिएको सुझाव कार्यान्वयन नभएको बताए । करिडोर निर्माण, टोल विकास समितिको गठन, सुमागाल क्षेत्रको डुबान, राजमार्ग निर्माणमा भएको ढिलासुस्तिका बारेमा उनले जिज्ञासा राखेका थिए ।
बनेपा १० का टोल विकास समितिका अध्यक्ष समेत रहेका जीवन भुजेलले बजेट विना पनि सामाजिक कार्य गरेको बताए । साथै उनले जग्गाका कारोवारीहरुले सामाजिक सम्पत्ति नष्ट गरेको, खोला, नाला, पँधेरो, सार्वजनिक जग्गा अतिक्रमणमा नगरपालिकाले ध्यान नदिएको बताए । प्लटिङ्गले पु¥याएको क्षति र त्यसको दर्ता प्रकृयामा जान उनले सुझाव दिए । वडा नम्वर १२ का सुमन बस्नेतले उपभोक्ता समिति भ्रष्टाचार गर्ने मुख्य अखडा भएको बताए । संस्थागत विद्यालयले दिने भनेको १० प्रतिशत छात्रबृत्ति पारदर्शी नभएको, शुल्क मनलाग्दी लिएकाले अनुगमन गर्न सुझाव दिए ।
वडा नम्वर ७ का कुमार श्रेष्ठले कार्य सम्पन्न गर्ने पहिलो उपभोक्ता समिति बन्यौ तर अहिले बजेट नआएको गुनासो गरे । स्थानीयहरुले खानेपानी नआउँदा गुनासो गर्ने ठाउँ नभएको बताए । बनेपा ८ की सविता थापाले फोहोर मैला ब्यवस्थापन, खानेपानी वितरण र सरसफाईमा ध्यान दिन अनुरोध गरिन् । वडा नम्वर ३ की विमला श्रेष्ठले २०६४ सालमा सडक निर्माण भएको र रातमाटा सुमारा सडक निर्माण गरी जेष्ठ नागरिकलाई सहज बनाउन सुझाव दिईन् । बनेपा ३ का बुद्धी तामाङले गाउँ विकास समिति र नगरपालिका मिलेर बनेको नगरपालिकाको नाम परिवर्तन गर्न सुझाव दिए । धुलिखेल नगरकोट टनचोक सडक निर्माणलाई प्राथमिकतामा राख्न उनले सुझाव दिए । चण्डेश्वरीमा भएको अब्यवस्थित पार्किङ्ग तथा अन्य क्षेत्रको पार्किङ्गलाई पनि नगरपालिकाले ध्यान दिन उनले सुझाव दिए ।
अपाङ्गता क्षेत्रमा लामो समय देखि काम गरिरहेका बनेपाका मणिराज श्रेष्ठले नगरपालिकाको भवन जल्दा रोक्न नसकिएकोमा दुख ब्यक्त गरे । भवन र सेवा प्रतिको आक्रोशलाई समयमा ब्यवस्थापन गर्न नसकेकाले क्षति भएको हो कि ? समिक्षा गर्न उनले सुझाव दिए । साथै सामाजिक संघ संस्था सम्वन्धी समितिलाई सक्रिय बनाउन उनले सुझाव दिए । बनेपा ५ का रामकृष्ण मानन्धरले खुल्ला ढलले बनेपाको ढकाल गणेश क्षेत्र भएर बहने खोला दुर्घन्धित भएकाले तत्काल ब्यवस्थापनका लागि अनुरोध गरे ।
काभ्रे बहिरा विकास संघका महासचिव धिरोज अधिकारीले बहिरामैत्री कार्यक्रम संचालन गर्न दोभासेको ब्यवस्थापन गर्न अनुरोध गरेका थिए । बनेपा ५ का राजु दाहालले बनेपाबाट चण्डेश्वरी हुँदै अस्पताल जाने बाटोमा अब्यस्थित पार्किङ्गका कारण समस्या भएको बताएका थिए । आयुर्वेद बैकल्पिक चिकित्सालयका तर्फबाट ल्यावमा रिएजेन्ट नभएकाले सेवामा समस्या परेको गुनासो प्रस्तुत गरिएको थियो । वडा नम्वर ११ का विष्णुप्रसाद आचार्यले पुण्यश्वर ढुङ्गेधारा टोल सुधार समितिको तर्फबाट नागरिकहरुले सडक प्रयोग गर्न नपाएकाले नयाँ ट्रयाक खोल्नु पर्ने बताए ।






