धुलिखेलमा एमालेको मोटरसाइकल र्याली, सरस्वती बजारमा कोण सभा
नेकपा एमाले धुलिखेल नगर कमिटीको आयोजनामा धुलिखेलमा बृहत मोटरसाइकल र्याली गरिएको छ । सयौंको संख्यामा एमालेका नेता कार्यकर्ता र्यालीमा सहभागी भएका थिए । र्याली पश्चात सरस्वती बजारमा आयोजित कोण सभालाई शीर्ष नेताले सम्बोधन गरेका छन् । कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं पुर्वमन्त्री रेशम लामाले भदौ २३ र २४ गतेको प्रदर्शन आन्दोलन नभइ विध्वंशात्मक गतिविधि भएको बताए । आन्दोलनका नाममा नेपालको राष्ट्रियता, विकास र प्रगतीमाथी भएको आक्रमण एमालेलाई सह्य नरहेको उनको भनाई छ । नवयुवालाई उक्साएर नेपालको पहिचान मेटाउने प्रयास भएको केन्द्रिय सदस्य लामाले बताए । राष्ट्रियताको रक्षा, देश विकास र प्रगतिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने उनको ठोकुवा छ । जेनजीका नाममा जेनजी पुस्तालाई नै अपमानित गरिएको भन्दै उनले चिन्ता समेत व्यक्त गरेका छन् ।
एमालेका बागमती प्रदेश कमिटी सदस्य एवं पुर्व जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले आजको राजनीतिक समस्या समाधान एमालेले मात्रै गर्न सक्ने बताए । जेनजी आन्दोलनका जायज मागलाई एमालेले पुरा गर्ने भन्दै उनले जेनजीका नाममा सुरु गरिएका गलत कार्य भने एमालेलाई मान्य नभएको बताए । संसद पुर्नस्थापनाको विषय राजनीतिक विषय मात्रै नभइ विधिको शासन स्थापित गर्ने महत्वपूर्ण बाटो भएको उनको भनाई छ । एमालेका जिल्ला अध्यक्ष राजन भुर्तेलले अग्रभागमा बालबालिका राखेर पछाडी षड्यन्त्र गर्दा देशले ठुलो मानविय र भौतिक क्षति व्यहोर्नुपरेको बताए । समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्ने, आर्थिक रुपान्तरण, गुमेको भूमि फिर्ता लगाएतका दुरगामी काम गरेको सहन नसकेर जनतालाई भ्रममा पारेर जनतामाथी षड्यन्त्र गरिएको उनको आरोप छ । उनले लोकतन्त्रले हिंसालाई सहन नसक्ने बताए ।
पुर्वउपाध्यक्ष एवं बागमती प्रदेशका पुर्वमन्त्री चन्द्र लामाले जेनजी आन्दोलनको सत्यतथ्य छानविनको माग गरेका छन् । यद्यपी गलत प्रचार गरेर एमालेमाथी गरेको आक्रमण एमालेले नस्किार्ने उनको चेतावनी छ ।
एमाले नगर अध्यक्ष विष्णु धितालले एमालेलाई भौतिक आक्रमण मार्फत कमजोर बनाउने सपनाको जवाफ एमालेका नेता कार्यकर्ताले दिइसकेको बताए । एमाले माथी ठुलो प्रहार भए पनि धुलो टक्टक्याएर उठ्ने उनको भनाई छ ।
कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य विमला शर्मा, जिल्ला सचिव राजकुमार सापकोटा, जिल्ला कमिटी सदस्य, नगर कमिटीका पदाधिकारी एवं सदस्य लगायत विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकतार्काको उल्लेख्य उपस्थिती रहेको थियो ।






