कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, मंसिर १ मा बस्ने
काठमाडौं/ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित गरिएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजेका लागि तय गरिएको बैठक स्थगन गरिएकाले अब आगामी मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्नेछ।
उनका अनुसार सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश समितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
गत असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १५ औँ महाधिवेशनको तयारी तथा मिति निर्धारणबारे विस्तृत छलफल हुँदै आएको छ। महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेताहरूले विभिन्न धारणा राख्दै आएका छन्।
जेनजी आन्दोलनका क्रममा घाइते भएपछि सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। खड्काकै नेतृत्वमा पछिल्ला बैठकहरू बसेका छन्।
उपचारका लागि सिंगापुर गएका देउवा दम्पति शुक्रबार साँझ स्वदेश फर्किएपछि बैठक फेरि आगामी मितिमा सारिएको हो।






