‘निर्वाचनको वातावरण बनिसकेको छ’ : सञ्चार मन्त्री खरेल
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आउँदो फागुन २१ गतेका लागि घोषित चुनावको वातावरण बनिसकेको बताए । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले गरेको साक्षात्कारमा मन्त्री खरेलले निर्धारित मितिमै चुनाव हुने विश्वास व्यक्त गरे ।
नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको, कुनै पनि राजनीतिक दलले चुनावमा भाग लिन्नौँ नभनेका, केही दलले सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो राखिरहेको, मतदाता नामावली सङ्कलन उत्साहजनक रूपमा भइरहेको अवस्थाले चुनावको वातावरण बनेको उनको भनाइ छ ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले जेन–जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता नै चुनावसँगसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्द्धन भएको उल्लेख गरे । विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउनका लागि कानुनी प्रक्रिया शुरु गरिएको र अध्यादेश ल्याएर भए पनि यो व्यवस्था गर्नेतर्फ पहल भइरहेको उनको भनाइ छ ।






