जसको नीति उसकै नेतृत्व: नेकपा एमाले र ओली सरकारको लोकप्रीयता

नेकपा एमाले नेपालको कम्यूनिष्ट राजनीतिक इतिहासमा पूरानो र जनमत बोकेको पार्टी हो । यसले थुप्रै सन्दर्भ र उतारचढावहरु पार गर्दै र पाखा लगाउँदै आएको इतिहास छ । हालसम्म नेकपा एमालेको नेतृत्वमा पाँच पटक सरकारहरु बनेका छन् । पहिलो पटक, २०५१ सालको मध्यावधि निर्वाचनमा सबभन्दा ठूलो दल भएपछि तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पटक नेपालका कम्युनिस्ट पार्टीको सरकार बनेको थियो । नौ महिना चलेको उक्त सरकारले गरेका जनमुखी कामहरु नेपालको विकास र समृद्धिका लागि मार्गदर्शकका रुपमा रहेका छन् । आफ्नोगाउँ आफैं बनाऔं, सामाजिक सुरक्षा भत्ता, नौ सको अभियान, तीनखम्बे आर्थिक नीति अवलम्बन, सन्तुलित विदेश सम्बन्ध जस्ता कामहरुमा त्यस सरकारले अघि बढाएका कदमहरु समयक्रममा कसैले पनि उल्ट्याउन नसक्ने कदमका रुपमा स्थापित छन् ।

दोस्रो पटक, २०६६ सालमा माधवकुमार नेपालको प्रधानमन्त्रीत्वमा नेकपा एमालेले सरकारको नेतृत्व गरेको थियो । संविधानसभामा तेस्रो दल भएको बेलामा पाएको उक्त अवसरलाई तत्कालीन पार्टी नेतृत्वको अयोग्यताले राम्ररी उपयोग गर्न नपाए पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा केही प्रगति चाहिं भएको थियो ।

तेस्रो पटक, आफ्नै पार्टी नेतृत्वको सरकार विस्थापित गर्न तत्कालीन पार्टी नेतृत्वले गरिरहेको प्रयत्न स्वरुप झलनाथ खनालको नेतृत्वमा माओवादीको समर्थनमा सरकार बनेको थियो । उक्त सरकारले खास कुनै उल्लेखनीय काम गर्न नसकेर सात महिनामा राजीनामा दिएको थियो ।

चौथो पटक, २०७२ सालमा संविधानसभाबाट नेपाली जनताका प्रतिनिधिहरुले आफ्नो संविधान आफैं बनाएपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेको सरकार बनेको थियो । संविधान बनेवापत भारतले लगाएको नाकाबन्दीको दृढतापूर्वक सामना गर्नुका साथै राष्ट्रिय आत्मसम्मान र स्वाभिमान अभिवृद्धिका लागि त्यस सरकारले लिएको अडान इतिहासमा स्वर्ण अक्षरले अंकित छ । उत्तरी नाका खोलेर नेपालको समुद्रसम्म पुग्ने अधिकारलाई सुरक्षित गरेर विदेश सम्बन्धमा सन्तुलन कायम गर्न उक्त सरकारले ऐतिहासिक कदम चालेको थियो ।

पाचौ पटक, २०७४ सालको निर्वाचनबाट नेकपा एमाले सबभन्दा ठूलो दलका रुपमा स्थापित भएपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार विकास र समृद्धिको अभियानलाई अघि बढाउन सफल सरकारका रुपमा स्थापित छ । माओवादीसंग पार्टी एकता गरेर बनेको नेकपाभित्र आन्तरिक विवाद र खिचातानी गरेर सरकारलाई काम गर्न अवरोध गर्दागर्दै उक्त सरकारले नेपालको इतिहासमा हालसम्म हुन नसकेका विकास निर्माणका कामहरु गरेर नेपालीहरुका मनमष्तिष्कमा हामीले आफ्नो देशलाई समृद्ध बनाउन सक्छौं भन्ने राष्ट्रिय भावनाको विकास गरेको छ । लगभग साढे तीन बर्ष मुलु्क चलाउँदा मुलुक र जनताको शीर ठाडो हुने गरी काम गर्दागर्दै राजनीतिक षड्यन्त्र र त्यसका आधारमा अदालतको आड लिएर पार्टीलाई सरकारबाट हटाइए पनि नेपालीहरुले उक्त सरकारप्रति गर्ने गरेको गर्व हाम्रा लागि ठोस उपलब्धिका रुपमा रहेको छ ।

यतिमात्र हैन, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका धेरै राम्रा काम छाँयामा परेका छन् । तत्कालिन सत्तारुढ नेकपाभित्रको विवाद र सरकार सञ्चालनमा देखिएका समस्याले राम्रा काम छाँयामा परेका हुन् । जसको कारण सरकारको लोकप्रियता समेत घट्न पुगेको जस्तो भान हने गर्दछ । 

प्रतिपक्षी दलहरु सरकारको विरुद्वमा उभिनु त स्वभाविक हो तर, सत्तारुढ दलभित्रका नेताहरुले पनि सरकारको कामको आलोचना मात्रै गर्ने गर्दा पनि समस्या देखिएको छ । सँगै छिमेकी राष्ट्रले पनि सरकारका कमजोरीलाई मात्रै आफ्नो अनुकुलमा प्रचार गर्ने गरेको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ऐतिहासिक रुपमै दुरगामी महत्वका कामहरु गरिरहेको सन्दर्भमा चर्चा गर्नु न्यायसंगत हुनेछ । उहि परिपाटीसहितको व्यवस्थामा केहि अपेक्षाहरु पुरा नभएपनि सरकारले गरेका राम्रो कामको भने चर्चा गर्नु अनिवार्य हुन्छ ।

केपी ओली सरकारले गरेका केहि ऐतिहासिक कामहरुको चर्चा राम्ररी गर्न सकिन्छ । जनकपुर–जयनगर रेल सञ्चालनको काम महत्वपूर्ण मात्र छैन दूरगामी समेत रहेको छ । प्रधानमन्त्री ओलीले सरकारमा आउनुपूर्व र आएसँगै पनि रेल र पानीजहाजको विषयमा निकै चर्चा गरेका थिए । जसको विषयमा राम्रोभन्दा नराम्रो चर्चा धेरै भयो । तर, ओलीले देखेको रेल चलाउने सपना विस्तारै पुरा हुँदै गएको छ । ओली सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण अघि बढाउने, काठमाडौं र अन्य सहरमा मेट्रो र मोनो रेल सञ्चालनको लागि सम्भावता अध्ययन गर्ने, पूर्वपश्चिम रेलमार्गको निर्माण काँकडभिट्टाबाट सुरु गर्ने कुरा बजेटमा नै उल्लेख गरेको छ । सरकारले रेललाई प्राथमिकतामा राख्दै चालु वर्षको लागि ७ अर्ब ७० करोड रुपैयाँ बजेटसमेत बिनियोजना गरेको थियो ।

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गरेको बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना ओलीको दोस्रो कार्यकालमा सम्पन्न भयो । दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७५ भदौ २४ देखि सञ्चालनमा आएको छ ।

पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको पनि एक वर्ष पुरा भएको छ । पाइपलाइन सञ्चालनमा आएको एक वर्षको अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल पाइपलाइनबाट आयात गरिएको आयल निगमको तथ्यांक छ । ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडा वापत मात्रै एक वर्षमा ८० करोडभन्दा बढिको बचत भएको कुरा निगमले जनाएको छ । जसबाट आगामी वर्षहरु झण्डै एक अर्बभन्दा बढिको बचत हुँदै जाने देखिन्छ ।

पोखरा र भैरहवामा विमानस्थलको काम अझ महत्वपूर्ण छ । ओली नेतृत्वको सरकारले पोखरा, भैरहवा र बाराको निजगढमा एकैसाथ अन्तराष्ट्रिय विमानस्थलहरु बनाउँदैछ । २०१७ को नोभेम्बरदेखि सुरु भएको पोखरा विमानस्थलको निर्माण कार्य सम्पन्न भएको छ । पोखरा विमानस्थलसँगै सरकारले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य पनि गरेको छ । यता काठमाडौंको विकल्पको रुपमा लिइएको निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण काम पनि सुरु गराइएको छ ।

पूर्व–पश्चिम राजमार्ग विस्तार ओली नेतृत्वको सरकारले नेपालको सुदुर पूर्व र सुदुर पश्चिम जोड्ने पुर्व–पश्चिम राजमार्गलाई विस्तार गर्न तिव्र रुपमा जुटेको छ । दोस्रो कार्यकालको लागि निर्वाचित भएसँगै प्रधानमन्त्री ओलीले २०७५ को चैत्रमा बुटवल पुगेर सडक विस्तार तथा स्तरोन्नतीको शिलान्यास गरेका थिए । दुई लेनको पूर्वपश्चिम राजमार्ग कतिपय ठाउँमा ४ लेन र कतिपय ठाउँमा ६ लेनको बनाईँदै छ ।

नौबिसे–काठमाडौं सुरुङ्ग निर्माण सुरु भएको छ । वि.सं. २०७६ कार्तिक ७ मा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको बहुप्रतिक्षित नौबिसे–काठमाडौं सुरुङ्गमार्गको निर्माण काम तिव्र रुपमा चलेर सम्पन्नको अवस्थामा पुगेको छ । ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य लिइएको उक्त सुरुङमार्ग निर्माणमा १६ अर्ब रकम जापान सरकारले सहुलियत ऋणमार्फत उपलब्ध गराएको छ । उक्त सुरुङ्गमार्ग सम्पन्न भएसँगै घण्टौ हुने जाम र यातायात सञ्चालनमा भएको समस्या दिर्घकालिन रुपमा हल हुनेछ । साथै आधा घण्टा लाग्ने दुरी बढिमा ५ मिनेटमा पुरा गर्नेछ ।
मदन भण्डारी राजमार्ग निर्माण सुरु भएको छ । ओली नेतृत्वको सरकारले २०७५ जेठमा मदन भण्डारी राजमार्ग निर्माण गर्ने योजनाको घोषणा गरेको थियो । पञ्चायतकालमा निर्माण गरिएको महेन्द्र राजमार्गको विकल्पको रुपमा सरकारले मदन भण्डारी राजमार्गलाई अगाडि सारेको हो । एक हजार दुई सय किलोमिटर लामो यो राजमार्गले नेपालको पूर्वी जिल्ला र पश्चिमी जिल्लालाई जोड्नेछ । यो राजमार्ग १० वटा विभिन्न टुक्रे सडकलाई एकिकृत गरि पूर्वदेखि पश्चिमसम्म पुर्याउने गरी बनाइएको हो ।
५० अर्ब खर्चमा बन्ने यो बहुप्रतिक्षित परियोजना नेपालको यातायात पूर्वाधारको विकासमा भने कोसे ढुंगा साबित हुनेछ । पुष्पलाल राजमार्ग मध्यपहाडीपुरा हुँदै छ । मध्यपहाडी क्षेत्रको निमित्त निकै महत्वपूर्णं मानिएको गौरवको आयोजना पुष्पलाल राजमार्ग निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । सरकारले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

नेपाल–भारत सीमा पूर्व पाँचथरको चियोभञ्ज्याङबाट सुरु भई पश्चिम पहाडी जिल्ला बैतडीको झुलाघाट महाकाली नदीसम्म गएर टुङ्गिने यो लोकमार्ग एक हजार ८ सय ७० किमी लामो छ । यो राजमार्ग पहाडी क्षेत्रको विकासमा निकै ठूलो कोसेढुंगा सावित हुनेछ । ओलीको पहिलो कार्यकालको बेला २०७३ भदौमा भएको निर्माणको ठेक्का सम्झौता केहि प्राविधिक समस्याका कारण निर्माणमा ढिलाई भएको थियो ।

कतिपय खण्डमा कालोपत्रसमेत भईसकेको यो राजमार्गको काम २०७७ को अन्तिमसम्म निर्माण सम्पन्न भईसक्ने लक्ष्य छ । कोरोना महामारी र अन्य केहि समस्याले निर्माणमा थप समय लिनसक्ने भए पनि लक्ष्य अनुसार प्रगति भईरहेको सरकार निकायको भनाई छ ।

थप, विकास निर्माण तथा पूर्वाधारको क्षेत्रमा माथि उल्लेखित ७ कामसँगै ओली नेतृत्वको सरकारले अन्य पनि थुप्रै कामहरु गरिरहेको छ । कतिपय साना–ठूला आयोजना सम्पन्न भईसकेका छन् भने कतिपय सम्पन्न हुने चरणमा छन् ।

त्यतिमा मात्र सिमित छैन, सरकारले पूर्वाधार निर्माणतर्फ, संघीय संसद भवन र मुख्यमन्त्री आवास निर्माण कार्य अघि बढाएको छ । भक्तपुरमा सुविधा सम्पन्न आधुनिक वीर अस्पतालको निर्माण कार्य सुरु भएको छ । उपत्यकाभित्र भूमिगत तार बिछ्याउने काम अघि बढेको छ । त्यस्तै सरकारले काठमाडौँ उपत्यकाभित्र चार वटा स्मार्ट सिटीको निर्माण कार्य अघि बढाएको छ ।

वर्षेनी रसायनीक मलको आयातमा हुने समस्यालाई दिर्घकालिन समाधान गर्न सरकारले देशभित्र नै रासायनीक मल कारखाना खोल्ने प्रकृया अघि बढाएको छ । त्यस्तै प्रविधिमा देशलाई अगाडि लैजान सरकारले मुलुकभर फोर जी सेवा विस्तार गराएको छ । सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकारले प्रत्येक गाउँपालिकामा १५ सैयाको अस्पताल निर्माणको प्रकृया अघि बढाएको छ । दुर्गम र पिछडिएको गाउपालिकामा समेत कम्तिमा एक बैंक को स्थापना गरी बैंकिङ कारोबारको व्यवस्था गरेको छ ।

त्यस्तै ओली सरकारको कार्यकालमा यातायातको सिन्डिकेट अन्त्य गर्ने निर्णय भएको छ । पछिल्लो दुई वर्षमा विभिन्न नदी र खोलामा गरी ३ सय २५ ओटा पक्की मोटरेवल पुल निर्माण सम्पन्न भएका छन् । जुम्लामा डाक्टर पढ्ने मेडिकल कलेज सञ्चालनको तयारी पुरा भएको छ ।

सरकारले नवलपरासीमा फलाम खानी सञ्चालनको लागि अन्तिम तयारी गरिरहेको छ । नेपाली राजनीतिका शिखर पुरुषद्वय बीपी कोइरालाको जन्मस्थल दुम्जा, सिन्धुली र पुष्पलाल श्रेष्ठको जन्मस्थल भँगेरी, रामेछापमा स्मृति उद्यान निर्माणको काम अघि बढेको, ललितपुरको गोदावरीमा तीन हजार सिट क्षमताको सभाहल निर्माणको काम तिव्र गतिमा अघि बढाएको छ । यसलगायत पचासभन्दा बढि अन्य महत्वपूर्णं काम पनि प्रधानमन्त्री ओलीकै कार्यकालमा भएका छन ।

सरकार सञ्चालनमा आएका अवरोधका बीच पनि सरकारले समग्रतामा उत्साहजनक काम गरेको देखिन्छ । सरकारले गरेको कामलाई उचित र सहि ढंगबाट प्रचार गर्न सकिएको खण्डमा आम जनतामा पनि सकारात्मक भावनाको सञ्चार हुनेछ ।