आईएसओ प्राप्त मदानी डेरी ‘चीज’ निर्यातको तयारीमा
मोतीराम तिमल्सिना
बेथान्चोक, च्याम्राङ्गबेशी
गुणस्तरीय चीज निर्यातका लागि मदानी डेरीले उत्पादन शुरु गरेको छ । स्विस कन्ट्यकको सहयोगमा स्विस चीज विज्ञ जोहान्स निकोलसबाट तालिम प्राप्त माईक बुरीले चीज उत्पादनका लागि एक महिना देखि निरन्तर बेथान्चोक गाउँपालिका वडा नम्वर १ स्थित च्याम्राङबेशीमा प्रशिक्षण दिईरहेका छन् ।
‘नेपालका प्रमुख शहरहरुमा हाम्रा उत्पादन खपतसँगै विदेशमा निर्यात गर्ने तयारीमा जुटेका छौं’–अध्यक्ष माधव दाहालले भने–‘चीजका विभिन्न प्रकारहरु कञ्चन, मोजरेला, क्रीम चीज, चेडार, गौंडा, पार्मेसनको उत्पादन शुरु भएको छ । यि मध्ये चीजका केहि प्रकारका उत्पादन विदेश निर्यात हुनेछन ।’ मदानी डेरीले आइएसओ २२ हजारको प्रमाणपत्र समेत प्राप्त गरेको छ । कम्पनीका उत्पादनहरुको गुणस्तर, मापदण्ड र उत्पादन प्रणालीहरुको निरीक्षण गरी प्रदान गरिने प्रमाणपत्र उक्त डेरीले प्राप्त गरिसकेको छ । अन्तराष्ट्रिय मापदण्ड प्राप्त डेरीले विदेश निर्यात गर्ने दुग्धजन्य पदार्थका लागि स्वीस विज्ञ मार्फत कार्य भईरहेको अध्यक्ष दाहालले बताए ।
आयातित डेरी बस्तुलाई प्रतिस्थापन गर्दै देशमा आत्मनिर्भर बन्ने लक्ष्य सहित खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट खुवा, नौनी, घिउ, पनिर र चीजका उत्पादन गरी विभिन्न आकारमा काट्ने, स्लाईस गर्ने स्वचालित मेशिन जडान गरी उत्पादन क्षमता र गुणस्तरमा सुधार गरेको छ । सोहि कार्यका लागि मदानी डेरीले आधुनिक मेसिन, उपकरण र प्रविधि जडान गरेको छ । ४२ वटा दुध संकलन केन्द्रमा नयाँ भ्याट, चिलर र जेनेरेटर जडान गरेको छ । ८ हजार लिटर दुध संकलन गरी त्यसको गुणस्तरीयता कायम गर्न आवश्यक पुर्वाधार निर्माण गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न होटलहरु, बनेपा, धुलिखेल, पनौती तथा आसपासका क्षेत्र, नगरकोट, भक्तपुर, काठमाडौ उपत्यकाका विभिन्न होटल, सुपरमार्केट तथा डेरी आउटलेटहरुमा नियमित आपूर्ति सञ्जाल विस्तार गरेको छ । राष्ट्रिय स्तरको डेरी कायम भई अन्तराष्ट्रिय स्तरको ब्यवसायीक साझेदारीता प्रारम्भ गरेको छ । गुणस्तर कायम गर्न विहान बेलुका नै संकलनको ब्यवस्था गरिएको छ । उत्पादित सामाग्रीहरुलाई ब्रान्डिङ गरिएको छ । उद्योगलाई मजबुत र स्थायी बनाउन स्थानीय स्तरमा ब्यवस्थापन समिति गठन गरी सक्रिय र गतिशिल बनाईएको संचालक सदस्य रामहरी बजगाईले बताए ।
दुध उत्पादन बृद्धिका लागि राजधानी डेरी र मदानी डेरीको संयुक्त कोष स्थापना गरी बैकसम्म पहुँच नपुग्ने कृषकहरुका लागि अति न्यून ब्याजदरमा गाई–भैसी खरिद गर्न पँुजी उपलब्ध गराईएको छ । वर्षभरी सबैभन्दा धेरै दुध उत्पादन गरी मदानी डेरीमा विक्री गर्ने किसानलाई क्षेत्रगत सम्मान तथा पुरस्कार वितरण गरिएको छ । साथै कर्मचारीहरु मध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा उत्कृष्ट कर्मचारी सम्मान गरिएको छ । स्विस प्रतिनिधि माईक बुरी मार्फत कर्मचारीको क्षमता बृद्धि तथा उत्पादनको गुणस्तरमा अझ बृद्धी गर्ने गरी निरन्तर तालिम प्रदान गरिएको छ । पाँचवटा गाडी मार्फत स्टेनलेस स्टील ट्याङ्कहरु जडान गर्ने कार्य शुरु भएको छ । कृषकहरुलाई पशु आहार सम्वन्ध्ी तालिम तथा घाँस खेती तालिम समेत प्रदान गरिएको छ । गुणस्तर प्राप्त गरेकै कारण कम्पनीले आईएसओ २२ हजार प्रमाणपत्र प्राप्त गरेको हो ।
जारमा दुध, प्रिमियम मुल्य
उत्पादन विविधिकरणलाई अझ विस्तार गर्दै पिउने दुध र मिठाई उत्पादनको तयारी गर्ने, देशका शहरी क्षेत्रमा बसोबास गर्न उच्च वर्गका उपभोक्तालाई लक्ष्य गरी ३ देखि ५ लिटर क्षमताका जारमा दुध उत्पादन गरी प्रिमियम मुल्यमा विक्री गर्ने, अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्यात स्तरीय उत्पादन गर्ने, दुध संकलन तथा प्रसोधन क्षमता ५ वर्ष भित्र दैनिक ४० हजार लिटर पु¥याउने, लागतलाई घटाउने साथै पशुपालन गर्ने कृषकको आम्दानी बृद्धि गर्न आवश्यक सहयोग गर्ने योजना निर्माण गरेको छ ।
उत्पादन लागत घटाउन किसानलाई फिड, घाँस र नश्ल सुधारमा सहयोग गर्ने, सार्वजनिक वन पाखामा उन्नत घाँस खेतीका लागि स्थानीय सरकासँग समन्वय गर्ने, सिजनमा बढी भएको घाँसलाई साईलेस बनाउने प्रविधिको विकास गरी मोवाईल पशुआहार वितरण गर्ने, घाँसलाई विज्ञद्वारा बर्गिकरण गराई पोषिला जातको संरक्षण गर्ने र पोषक तत्व नभएका घाँस विस्थापित गराई उन्नत र पोषिला घाँस लगाउने ब्यवस्था मिलाउने र किसानहरुलाई ब्यवसायीक पशुपालन तथा घाँसखेती भएको स्थानमा भ्रमण गराउने रहेको छ । तीन तहकै सरकासँगको समन्वयमा पाडा, बाछा हुर्काउने केन्द्र स्थापना गर्न पहल गर्ने योजना बनाएको छ । अवैधानिक रुपमा हरेक वर्ष दुहुना भैसी ल्याउने र एक वेतको दुध खाएर मासुका लागि पठाउने कार्य रोक्न, करोडौ रुपैया विदेशिएको पुँजी पलायन हुन नदिन पाडी बाछी हुर्काउने, दुध थोकका वहाड नलिएका गाई भैसीलाई छुट्टै स्याहार केन्द्रमा पालन पोषण गरी आवश्यक उपचार समेत गराई ब्याउने भए पछि निश्चित रकम लिएर किसानलाई फिर्ता दिने योजना साकार पार्न स्थानीय सरकार मार्फत प्रयास गर्ने बताए ।
दुध उत्पादन बृद्धि गर्न दुग्ध संकलकको जिम्मामा कृषकलाई गाई–भैसी खरिदका लागि पेश्की उपलब्ध गराई किसानलाई पुशपालन क्षमता र उत्पादन बृद्धी गर्ने कार्यक्रम शुरु गरेको छ । साँझ विहान संकलन कार्यलाई अझै प्रभावकारी र गुणस्तरीय बनाउन थप भ्याट र जेनेरेटरको ब्यवस्थापन गरिरहेको छ । उत्पादन क्षमता र गुणस्तर प्रतिस्पर्धात्मक रुपमा बढाउने, उत्पादित सामाग्रीहरु ब्रान्डिङ्ग गरी बजार विस्तार गर्ने, स्थानीय शेयरधनीको प्रतिनिधित्व भएको ब्यवस्थापन समितिलाई थप सक्रिय र गतिशिल बनाई निर्णय र संचालन प्रकृयालाई प्रभावकारी बनाउने, किसानलाई पशु खरिदका लागि न्यून ब्याजदरमा ऋण सुविधा तथा पेश्की उपलब्ध गराउने, कृषक र कर्मचारीलाई सम्मान गरी प्रोत्साहन गर्ने, विक्री कक्ष विस्तार गरी बजारमा पहुँच र उपभोक्तासँगको प्रत्यक्ष सम्पर्क मजबुत बनाउने लगायत रहेको छ ।
त्यस्तै गुणस्तर कायम राख्न देश तथा विदेशमा रहेका कन्सल्ट्यान्टहरुलाई अल्पकालिन रुपमा नियुक्ति गर्ने, उत्पादनको विविधिकरणलाई सहयोग पु¥याउन मकवानपुर जिल्ला दुग्ध उत्पादकसंघ सँग दैनिक १५ सय लिटर दुध खरिद गर्ने, लेखाप्रणाली, प्रशासनिक कार्य तथा उत्पादनलाई सहज रुपमा बजार पु¥याउन ब्यवस्थित कार्यालय र भण्डारणका लागि कोल्ड रुम निर्माण गर्ने योजना अघि सारेको छ । खानीखोला गाउँपालिकाका किसानहरुलाई आर्थिक समृद्धीका लागि स्थानीय सरकारको सहयोगमा दुध संकलन विस्तार गर्ने, डिजिटल प्रविधि प्रयोग गर्ने योजना बनाएको छ ।






