निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा समितिको सिफारिस
फागुन २१ गते घोषणा गरिएको आम निर्वाचनमा नेपाली सेना परिचालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ।
आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सेना परिचालनको निर्णय गर्न राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने र त्यसका लागि रक्षा मन्त्रालयमा लेखेर पठाउने निर्णय भएको छ।
गृहमन्त्रीको अध्यक्षतामा बसेको चारवटै सुरक्षा निकायसहितको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
‘निर्वाचन सुरक्षा योजना अनुसार नेपाली सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद् समक्ष सिफारिस प्रयोजनार्थ रक्षा मन्त्रालयमा लेखेर पठाउने निर्णय भएको छ’, काफ्लेले नेपालखबरसँग भने, ‘निर्वाचन सुरक्षालाई लक्षित गरेर क्षेत्रीय सुरक्षा योजना गोष्ठी सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।’
उनका अनुसार पहिलो सुरक्षा गोष्ठी लुम्बिनी प्रदेशमा मंसिर ९ गते गर्ने निर्णय भएको छ। यस्तै हिंसा भड्काउने, जनतालाई आतंकित पार्ने गैरकानुनी गतिविधिलाई निस्तेज गर्न कडाइकासाथ कानुनी कारबाही अगाडि बढाउने निर्णय पनि केन्द्रीय सुरक्षा समितिको बैठकले गरेको छ।
बैठकमा नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका रथी सहभागी थिए।






