निर्वाचन घोषणा पछि काभ्रेमा थपिए ५ हजार मतदाता
धुलिखेल/ मतदाता सूचीमा नाम दर्ता गर्न फोटो खिचाउनेहरुको भिड बढेसँगै निर्वाचन आयोगले मसिंर ५ गतेसम्म समय थप गरेको छ । यस अघि तोकिएको कार्तिक ३० गतेसम्मको समयावधीमा भने करिव ५ हजार नागरिकले मतदाता सूचीमा नाम समावेश गरेका छन् । निर्वाचन घोषणा भए पछि करिव ५ हजार मतदाताले फोटो खिचाएका छन् ।
निर्वाचन कार्यालय काभ्रेका सूचना अधिकारी नरेश मानन्धरका अनुसार कार्तिक ३० गते हिजो एकै दिन २ सय ६४ जनाले मतदाता सूचीका लागि फोटो खिचाएका छन् । कार्तिक २९ गते शनिबार विदाको दिनमा समेत कार्यालयले सेवा प्रदान गरेको थियो । उक्त दिन १७ जनाले फोटो खिचाए । दैनिक विहान ८ बजे देखि साँझ ६ बजेसम्म सेवा प्रदान गरिरहेको कार्यालयले कार्तिक २८ गते ३ सय ७९ जनाको फोटो खिचाएको थियो । कार्तिक २७ गते २ सय ८१, कार्तिक २६ गते ३ सय ४७, कार्तिक २५ गते ४ सय ६४, कार्तिक २४ गते ४ सय १४, कार्तिक २३ गते ४ सय १३ र कार्तिक २१ गते २ सय १९ जनाले फोटो खिचाएका थिए । पछिल्लो १० दिनको अवधीमा २ हजार ७ सय ९८ जनाले फोटो खिचाएका छन् । असोज १० देखि कार्तिक २० गतेसम्म २ हजार १ सय ९ जनाले फोटो खिचाएका छन् ।
यस अघि निर्वाचनको तयारी स्वरुप जिल्ला स्तरीय निर्वाचन समितिले मतदान स्थल र मतदान केन्द्रको फेरबदलका लागि सिफारिस गरेको छ । कार्तिक १७ गतेसम्म काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १३ हजार ३ सय ५० मतदाता कायम भएका थिए । कार्तिक १७ देखि ३० सम्म करिव ३५ सय मतदाता थपिएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा अघिल्लो निर्वाचनका समयमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र, नगरपालिका ६, गाउँपालिका ७, वडा संख्या १ सय ३५ मा १ सय ९० वटा मतदान स्थल र ३ सय ८९ वटा मतदान केन्द्र रहेका थिए । काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख ७५ हजार २ सय २१ जनसंख्या रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेका निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार निर्वाचन आयोगको निर्णय अनुसार मतदाता नामावली लगायत मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१ ले तोके बमोजिम वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस तथा अन्य कार्य भईरहेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको जिल्ला स्थित सुरक्षा निकाय र राजनीतिक दलहरुको बैठकले उक्त सिफारिस गरेको हो ।





