काँग्रेसको केन्द्रीय समिति बैठक ४ गतेलाई सारियो

काठमाडौं / नेपाली कांग्रेसको बहुप्रतिक्षित केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित भएको छ । आज (मंसिर १ गते) बस्ने तय भएको बैठक अब आगामी मंसिर ४ गते बिहीबार दिउँसो २ बजेका लागि सारिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ मंसिर १ गते सोमबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८२ मंसिर ४ गते बिहीबार दिउँसो २:०० बजे बस्ने भएको छ ।’

निरन्तरको स्थगितले कांग्रेसभित्रको आन्तरिक तयारी र छलफलमा केही ढिलाइ भएको संकेत मिलेको छ । यो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

कांग्रेसभित्र ‘नियमित महाधिवेशन कि विशेष महाधिवेशन’ भन्ने विषयमा जारी गहन बहसले गर्दा पार्टीले कुनै ठोस निर्णय लिन सकेको छैन । असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकका श्रृंखलाबद्ध स्थगितले पार्टीको आगामी दिशा र रणनीति तय गर्न थप समय लाग्ने देखिएको छ ।