बनेपा–च्याम्राङ्गबेशी हुँदै हेटौडातर्फ क्यू बस सेवा सञ्चालन

काभ्रे/ मङ्सिर १ गतेबाट बनेपा–च्याम्राङ्गबेशी हुँदै बागमती प्रदेशको राजधानी हेटौडातर्फ क्यू बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेशीलाई केन्द्र मानेर सञ्चालनमा आएको यो बस सेवाले काभ्रे र हेटौडा बीचको आवत–जावत थप सहज बनाएको छ।

स्थानीयवासीको माग र वडा कार्यालयको सिफारिसपछि सञ्चालनमा आएको क्यू बसले बनेपा, पनौती, दड्खर्क, च्याम्राङ्गबेशी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौडा सम्म नियमित सेवा दिने जनाएको छ।

काभ्रे पुन्यवती यातायात प्रालि, पनौतीलाई पठाइएको पत्रमार्फत वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले बस सेवा सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरेका हुन्।वडा अध्यक्ष तिमल्सिनाका अनुसार “सुपर बस सेवा सञ्चालन भएमा बेथानचोक गाउँपालिका तथा वडावासीलाई प्रदेश राजधानी आवत–जावतमा सहज हुनेछ।” उनले सम्बन्धित निकायलाई रुट अनुमति लगायतका आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गरेका छन्।

सुपर बस सेवा सञ्चालनसँगै प्रदेश राजधानीमा कार्यालय, व्यपारिक तथा व्यक्तिगत कामका लागि यात्रा गर्नु पर्ने स्थानीयवासीहरूलाई ठूलो राहत मिलेको छ। स्थानीयले लामो समयदेखि माग गर्दै आएको आधुनिक र सुरक्षित यातायात सेवा उपलब्ध भएपछि क्षेत्रकै आवत–जावत, व्यापार र पहुँचमा सहजता आउने अपेक्षा गरिएको छ।