फैसला कार्यान्वयनमा काभ्रे प्रहरीको सक्रियता, चार महिनामा ५३ जना पक्राउ, १२ वर्ष ८ महिना कैद र २ करोड ६७ लाख जरिबाना असुल
धुलिखेल/निर्वाचनको कार्यतालिका प्रकाशन भईरहेका बेला प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने चुनौती थपिएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा अपराधिक समुहले प्रहरी कार्यालय जलाउँदै प्रहरीको हत्या समेत गरेर लुटिएका हातहतियार अझै फिर्ता हुन सकेको छैन । भागेका कैदीहरु फरार छन् । यो अवस्थामा पनि प्रहरीले नागरिकहरुलाई शान्ति सुरक्षा कायम गराउने प्रतिवद्धता सहित सक्रिय भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले चालु आर्थिक वर्षको चार महिनाको अवधीमा ५३ जना कैद तथा जरिवना तोकिएका ब्यक्तिहरुलाई पक्राउ गरेको छ । अदालतले फैसला कार्यान्वनका लागि पठाएका करिव ६ सय ब्यक्तिहरुको सूचीका आधारमा ५३ जना पक्राउ गरिसकिएको सूचना अधिकारी एवं डिएस्पी रविन विष्टले जानकारी दिए । ‘चालु वर्षको साउन देखि कार्तिक मसान्तसम्म ५३ जना ब्यक्ति पक्राउ परेका छन्’–डिएस्पी रविन विष्टले भने–‘पक्राउ परेकाहरुबाट १२ वर्ष ८ महिना ७ दिन कैद र २ करोड ६७ लाख ५९ हजार ९ सय रुपैया जरिवना असुल भएको छ ।’ अदालतले प्रहरीलाई दिएको सूचीका आधारमा अझै ५ सय ४३ जना कैद तोकिएका ब्यक्ति अझै फरार छन् । यो विभिन्न अपराधमा कैद तथा सजाँय तोकिएका ब्यक्तिहरु हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले भदौ २४ गते जेलबाट भागेका पनि ५३ जना कैदीहरु पक्राउ गरिसकेको छ । समुदायमा त्यस्ता ब्यक्तिहरु भएको सूचना पाए तत्काल खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ ।





