आशा लघुवित्त वित्तिय संस्था उत्कृष्ट करदाता, राजश्व असुलीमा लक्ष्यको आधा
धुलिखेल/आन्तरिक राजश्व कार्यालय धुलिखेलले लक्ष्यको ६३.१२ प्रतिशत राजश्व संकलन गरेको छ । आर्थिक वर्षको चार महिनाको अवधीमा तोकिएको लक्ष्य भन्दा कम अर्थात ६३.१२ प्रतिशत राजश्व संकलन भएको हो ।
कर दिवसको अवसर पारी सार्वजनिक गरिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/२०८३ को चार महिनाको अवधी साउन–कार्तिक मसान्तसम्म १ अर्ब २३ करोड ६५ लाख ७३ हजार राजश्व असुल हुनु पर्नेमा ७८ करोड ५ लाख ८२ हजार रुपैया असुल भएको छ । कार्तिक महिनामा मात्रै १९ करोड ६१ लाख ९३ हजार रुपैया राजश्व संकलन भएको छ ।
कर दिवसको अवसर पारी आन्तरिक राजश्व कार्यालय धुलिखेलमा कारोवार गरेका करदाताहरु मध्ये सबै भन्दा धेरै कर रकम बुझाउने बनेपा १३ मा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त वित्तिय संस्था सम्मानित भएको छ । १४ औ राष्ट्रिय कर दिवसको अवसर पारेर उक्त संस्थालाई सम्मान गरिएको थियो ।
त्यस्तै सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिन्धुपाल्चोक जिल्लामा सबै भन्दा धेरै कर बुझाए बापत सम्मानित भएको छ । कार्यालयले मसिंर १ गते पहिलो सेवा लिने सेवाग्राहिलाई पनि सम्मान गरेको थियो । प्रमुख कर अधिकृत रमेश भट्टराई र प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले संयुक्त रुपमा उनिहरुलाई सम्मान गरेका थिए ।






