प्रदेश लेखा इकाई कार्यालय काभ्रेपलाञ्चोक बिस दिन देखि प्रमुख विहिन हुँदा भुक्तानी ठप्प

धुलिखेल/प्रदेश लेखा इकाई कार्यालय काभ्रेपलाञ्चोकका इकाई प्रमुख सरुवा भएको २० दिनसम्म कार्यालय प्रमुख विहिन छ । प्रदेश अन्तरगतका कार्यालयको पुँजीगत र चालु खर्चको भुक्तानी रोकिएको तीन साता वितिसक्दा समेत आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशले कार्यालय प्रमुख पठाउन सकेको छैन ।

‘कर्मचारीहरुको तलब रोकिएको छ । विकास निर्माणमा खर्च भएको भुक्तानी हुन सकेको छैन’–प्रदेश अन्तरगतका कार्यालयका लेखा प्रमुखहरुले भने–‘२० दिन देखि प्रदेश लेखा इकाई कार्यालय खाली हुँदा आर्थिक कारोवार ठप्प भएको छ ।’ कार्यालय प्रमुख जगनाथ घिमिरे संघीय कार्यालयमा गएका छन् । उनी त्यस अघि प्रदेश अन्तरगतकै कार्यालयमा कार्यरत थिए । प्रदेश अन्तरगतको बढुवामा उनी परे पछि इकाई प्रमुख भएका थिए । इकाई प्रमुख भएको केहि महिना भित्र नै उनको संघीय सरकार अन्तरगत लेखा अधिकृतमा नाम निस्किए पछि घिमिरे भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रमा हाजिरी भए । तर प्रदेश लेखा इकाई कार्यालय खाली भयो । खाली कार्यालयमा प्रदेश सरकारको उक्त मन्त्रालयले न निमित्त तोक्यो, न प्रमुख नै पठायो ।

आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका सचिव झलकराम अधिकारी फोन सम्पर्कमा आउन चाहेनन । सूचना अधिकारी सुरज पौडेलले काभ्रेपलाञ्चोक जिल्लामा रहेको प्रदेश लेखा इकाई कार्यालयका बारेमा मन्त्रालयलाई जानकारी भएकाले तत्कालै कार्यालय प्रमुखको ब्यवस्था गर्ने गरी छलफल भएको जानकारी दिए ।

बजेट कटौती
जेनजी आन्दोलन र निर्वाचन देखाउँदै बागमती प्रदेश सरकारका सबै मन्त्रालयहरुले बजेट कटौती गरेका छन् । हरेक मन्त्रालयले पुर्वाधार निर्माणका लागि विनियोजन गरेको रकममा १० लाख रुपैयासम्मका योजना कटौती गरेको छैन भने २० लाखसम्मका योजनामा १० प्रतिशत, ५० लाख रुपैयासम्मका योजनामा २० प्रतिशत र त्यो भन्दा माथीका योजनामा ३० प्रतिशत सम्म रकम कटौती भएको छ ।
चालु तर्फका योजनाहरुमा बैठक, तालिम र गोष्ठीमा हुने खर्च कटौती गरिएको छ । त्यस्ता कार्यक्रममा विनियोजन गरिएको रकम ५० प्रतिशतसम्म कटौती गरिएको छ ।