काभ्रेमा जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न थप ५ जना पक्राउ

गत भदौ २४ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न ५ जना पक्राउ परेका छन् । जिल्ला स्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन र सम्पतिमाथी तोडफोड आगजनी र लुटपाटमा संलग्न ५ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन विष्टले जानकारी दिए । आगजनी, तोडफोड र लुटपाटमा संलग्न धुलिखेल नगरपालिका–३ का अजय तामाङ, खानीखोला गाउँपालिका–१ का विशाल भोलन, बनेपा नगरपालिका–३ का रविन्द्र परियार, वडा नम्बर ८ का अभि सुधाकार र दोलखाको जिरी नगरपालिका–१ का भिम तामाङ पक्राउ परेका छन् । पक्राउ परेका मध्ये दुई जना विरुद्ध यसअघि पनि मुद्दा दर्ता भएको थियो । खानीखोलाका विशाल भोलन विरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा २०८१ मा लागु औषध मुद्दा दर्ता भएको छ भने बनेपा–८ का अभि सुधाकार विरुद्ध २०७९ मा सवारी ज्यान मुद्दा दर्ता भएको छ । काभ्रे प्रहरीले आगजनी र तोडफोडमा संलग्नको खोजी कार्य तीव्र पारेको छ ।