हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान

सरकारले यस वर्ष हिउँदमा हिमाली तथा उच्च पहाडी र तराईरमधेशमा सम्भावित हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा तयार गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको छलफल र परामर्शपछि कार्ययोजनाको मस्यौदालाई अन्तिम रूप दिएको हो । यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका काम यथाशीघ्र गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशप्रसाद भट्टले गृहमन्त्रीको अध्यक्षता रहेको कार्यकारी समितिबाट कार्ययोजना पारित गरेर कार्यान्वयमा लैजाने तयारी गरिएको बताए।

कार्ययोजनामा हिमपातबाट हिमाली तथा उच्च पहाडी २९ जिल्ला र शीतलहरबाट तराईरमधेशका २१ जिल्ला प्रभावित हुन सक्ने अनुमान गरिएको छ । कार्ययोजनामा ती जिल्लामा विशेष सावधानी र हिमपात तथा शीतलहरबाट हुने सक्ने जोखिम न्यूनीकरण गर्न विशेष रणनीतिक कार्य समावेश गरिएको छ ।

सरकारले हिमपात र शीतलहरबाट हुन सक्ने सम्भावित क्षति तथा जनजीवनमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय कार्ययोजना जारी गर्न लागेको हो । हिमाली तथा उच्च पहाडी जिल्लामा मङ्सिरदेखि फागुनसम्म हिमपात र तराईरमधेशका जिल्लामा शीतलहरको प्रभाव रहन्छ ।

कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरू शीतलहरबाट बढी प्रभावित हुने अनुमान गरिएको छ । कोशीका झापा, सुनसरी र मोरङ, मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, गण्डकीको नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, लुम्बिनीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शीतलहरको प्रभाव पर्ने अनुमान गरिएको छ । उदयपुर, मकवानपुर, सिन्धुली र सुर्खेतमा पनि शीतलहरको सामान्य प्रभाव पर्न सक्ने अनुमान छ ।

कार्ययोजना अनुसार हिमपातबाट कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र उच्च पहाडी जिल्ला बढी प्रभावित हुने अनुमान छ । कोशीको ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, तेह्रथुम र भोजपुरको माथिल्लो क्षेत्र बढी प्रभावित हुने आँकलन गरिएको छ ।

यस्तै बाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा र धादिङ, गण्डकीको गोरखा, मनाङ, मुस्ताङ, बागलुङ र कास्की तथा लुम्बिनीको रुकुम पूर्वमा हिमपातको प्रभाव पर्नेछ । कर्णालीको डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बाजुरा, बझाङ, दार्चुला, बैतडी र डडेलधुरा जिल्ला हिमपातबाट बढी प्रभावित हुने आँकलन गरिएको छ ।

कार्ययोजनाको कार्यान्वयनसँगै विपन्न र ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सहयोग पुग्ने कार्यकारी प्रमुख भट्टले बताउ।

हिमपात र शीतलहरबाट जनजीवनमा पर्न सक्ने प्रभाव कम गर्न एवम् प्रतिकार्यका लागि आवश्यक राहत सामग्रीको अग्रिम व्यवस्था गर्न कार्ययोजना तयार गरिएको हो । कार्ययोजनालाई आधार मान्दै सबै जिल्ला, प्रदेश र पालिकाबाट स्थानीय परिवेश अनुसारको कार्ययोजना बनाई कार्यान्वयन गर्नसमेत सकिने उनले बताए।

कार्ययोजना अनुरूप मङ्सिर १५ गतेभित्र हिमपातबाट प्रभावित हुन सक्ने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरी तथ्याङ्क अद्यावधिक गरी लाभग्राहीको प्राथमिकता निर्धारण गर्ने रणनीति तय गरिएको छ ।