यूएईमा ४ महिनामा ९३ नेपालीको ज्यान गयो
पछिल्लो चार महिनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा ९३ नेपालीले ज्यान गुमाएका छन्। यूएईको अबुधावीस्थित नेपाली दूतावासका अनुसार २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो।
२०८२ साउनमा ३२, भदौमा १९, असोजमा २८ र कात्तिकमा १४ जना नेपालीको यूएईमा मृत्यु भएको हो। मृत्यु हुनेहरू सबै वैदेशिक रोजगारीको सिलसिलामा यूएई गएकाहरू हुन्।
नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो। गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए। सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन्।






