पनौती नगरपालिका–२ कुशादेवीको बोलखे गाउँका ६० घरमा सुरक्षित खानेपानी
पनौती नगरपालिका–२ कुशादेवी स्थित बोलखे गाउँ सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भएको छ । पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जाराले गुणस्तरीय खानेपानीयुक्त समुदाय घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै बोलखे गाउँलाई पनौती नगरपालिकाको दोस्रो सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरेकी हुन् ।
युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दिगो विकासका लागि नागरिक मञ्च (सिविक) फोरमको सहजीकरणमा ६० घरधुरीमा गुणस्तरीय खानेपानी पुगेको छ ।
नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागद्धारा २०८२ श्रावण १५ गते, जारी “सुरक्षित खानेपानीयुक्त समुदाय दिग्दर्शन पुस्तिका–२०८२” को अनुसूची–३ मा उल्लेखित न्यूनतम सूचकहरु पुरा भएपछि ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको सिविक फोरम काभ्रेपलाञ्चोकका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले जानकारी दिए ।
योजना अन्तर्गत एउटा इन्टेक निर्माण गरिएको छ । खानेपानी संरचनाको सुरक्षाको लागि काँडेतारबार लगाईएको छ । ४ सय मिटर पाइप, एन्फो पानी परिक्षण किट १ सेट बोलखे गाउँ खानेपानी सरसफाई तथा उपभोक्ता समितिलाई उपलब्ध गराइएको छ । प्रत्येक घरधुरीका सदस्यलाई सरसफाई प्रवद्र्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
३ लाख २ हजार ३ सय ९७ रुपैयाँ लागतमा योजना सम्पन्न भएको हो । जसमा ३८ हजार ३ सय ६ रुपैयाँ बराबरको जनश्रमदान स्थानीयले गरेका छन् । आयोजना निर्माण सम्पन्न भएसँगै योजनाको स्वामित्व ग्रहण, व्यवस्थापन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिमा रहनेगरी हस्तान्तरण गरिएको छ । यो खानेपानी योजनामा पानी शुद्धिकरणको लागि स्वचालित क्लोरिनेशन प्रणाली जडान गरिएको छ ।
कार्यक्रममामा उप–प्रमुख गिता बञ्जाराले गत वर्षको असोजमा आएको बाढीपहिरोले खानेपानी आयोजना क्षतविक्षत बनाएको अवस्थामा त्यस्लाई पुर्ननिर्माण, मर्मतसुधार गर्नका लागि सिविक फोरमले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । स्वच्छ खानेपानीको उपलब्धतासँगै फोहोर पानीका कारण लाग्ने रोगबाट छुटकारा मिल्ने उनको विश्वास छ । उनले खेर गएको करेसाबारीलाई सदुपयोग गर्न र क्रमशः आर्थिक उपार्जनका जोडिन पनी आग्रह गरेकी छन् ।
पनौती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले औषधीको मात्रा कति प्रयोग गर्ने भन्ने अन्योलतालाई हटाउन स्वचालित क्लोरिनेशन प्रणाली झनै प्रभावकारी भएको बताए । उनले वडालाई नै सुरक्षित खानेपानीयुक्त वडा घोषणा गर्नेगरी काम गरिरहेको बताए ।
पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जनक केसीले नगरपालिकाले पानी परिक्षणका लागि उपकरण खरिद गर्ने बताए । पानी मानव जीवनसँग प्रत्यक्ष जोडिएकोले यसको गुणस्तरीयता जरुरी रहेको उनको भनाई छ । फोहोर पानीकै कारण धेरै रोगहरु लाग्ने भन्दै उपभोक्तालाई सरसफाईमा ध्यान दिन उनले आग्रह गरेका छन् ।
कार्यक्रममा बोलखे गाउँ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका सचिव लक्ष्मी आचार्यले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष केदार बोलखेको सभापतित्व रहेको थियो । गुणस्तरीय खानेपानी उपलब्ध भएसँगै स्थानीय खुसी भएका छन् ।






