आज पितृका नाममा शतबीज छर्दै लाखौंले मनाए बालाचतुर्दशी

काठमाडौं/मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन मंगलबार रातिदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा बालाचतुर्दशी पर्व धुमधामले मनाइएको छ। दिवंगत पितृको सद्गतिको कामना गर्दै लाखौं श्रद्धालुले बागमती नदी किनारमा बत्ती बालेर रातभर जाग्राम बसेका थिए भने बुधबार बिहान शतबीज छरेका हुन्।

त्रयोदशीका दिन बेलुका विधिपूर्वक पितृका नाममा बत्ती बालेर जाग्राम बस्ने र बालाचतुर्दशीका दिन बिहान सप्तऋषिको आश्रमदेखि गौरीघाटसम्म शतबीज छर्ने परम्परा अनुसार पशुपतिनाथ क्षेत्र बत्ती र भक्तजनको समुद्रमा बदलिएको थियो।

पशुपतिनाथ क्षेत्रमा आएका भक्तजनका लागि नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरमा स्वास्थ्यकर्मीले भक्तजनको स्वास्थ्य जाँच गरेका थिए।

बुधबार बिहानैदेखि पशुपतिनाथसहित देशभरका महादेव मन्दिरमा मृतक आफन्तको सम्झनामा शतबीज छर्दै श्रद्धालुले पशुपति परिसरलाई सेतै बनाएका थिए।