बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फेरि रोकियो काठमाडौँको फोहोर
काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध सिर्जना भएको छ। स्थानीय बासिन्दाको अवरोधका कारण बञ्चरेडाँडामा बुधबारदेखि फोहोर विसर्जन प्रभावित भएको छ।
नुवाकोटको ककनी र धादिङको धुनबेंसीस्थित बञ्चरेडाँडामा फोहोर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै अवरोध गरेका हुन्। स्थानीय बासिन्दाको अवरोधका कारण उपत्यकाबाट फोहोर बोकेर आएका गाडीलाई काठमाडौँ फिर्ता पठाइएको हो।
फोहोर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्ने लगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले गत कात्तिक दोस्रो साता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए। फोहोर विर्सजनमा गरिएको अवरोध खुलाउन प्रभावित क्षेत्रमा गत कात्तिक १६ गते पुगेका सहरी विकासमन्त्री कुलमान घिसिङले सहमति कार्यान्वयनको चरणमा लैजाने प्रतिबद्धता पूरा नभएको भन्दै फेरि अवरोध गरिएको धुनबेँसी नगरपालिका–१ का स्थानीय निराञ्जन सञ्जेलले बताए।
विगतमा भएका सहमति कार्यान्वयनमा लैजाने मन्त्रीको मौखिक प्रतिबद्धतामा ‘१५ दिनभित्र कार्य सुरु गर्ने’ अवधिको प्रगति उपलब्धिमूलक नभएपछि पुनः फोहोर विसर्जनमा अवरोध गर्नुपरेको उनको भनाइ छ। ‘सिसडोल बञ्चरेडाँडा-कुँडुले ल्यान्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका सम्बन्धमा विगतमा भएका १८ बुँदे सहमति १५ दिनभित्र कार्यान्वयन सुरु हुन्छ भने पनि हालसम्म काम सुरु भएन,’ सञ्जेलले भने, ‘अहिले लिखित प्रतिबद्धतासहित काम सुरु हुनुपर्ने माग राखेका छौँ।’
ककनी गाउँपालिका वडा नं. १, २ र ३ तथा धुनबेँसी नगरपालिका वडा नंं। १ र ३ वडाका प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दाले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहोर विसर्जन गर्न पुगेका गाडीलाई प्रवेश नदिई अवरोध जारी राखेका छन्। उनीहरूले २०७९ जेठ २६ मा काठमाडौँ महानगर प्रमुख बालेन साहसहितको टोलीसँंग भएको १८ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका हुन्।
सहमतिमा फोहोर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहोर बोकेका गाडीले लिच्चड नचुहाउने, फोहोर विसर्जनपश्चात् लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने लगायत मागलाई समझदारीअनुसार चरणबद्ध रूपमा पूरा गर्ने उल्लेख छ।
सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहोरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको समक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको भन्दै स्थानीयले गुनासो गरेका छन्। मागको सम्बोधन र सहमति कार्यान्वयनका लागि मन्त्रीस्तरीय लिखित प्रतिबद्धताको साथमा जिम्मेवार प्रतिनिधि प्रभावित क्षेत्रमा आउनुपर्ने भन्दै सिसडोल, कुँडुले, ढाँडेका सडकमा स्थानीय शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका छन्।
स्थानीयको मागमा नुवाकोटको ककनी र बेलकोटगढी तथा धादिङको धुनबेँसीका जनप्रतिनिधि, दलीय प्रतिनिधिलगायतले समर्थन जनाएका छन्। रासस






