कविता : स्वार्थ बाझिएपछि
एउटै आमाका सन्तान पनि
फरक लाग्दा रहेछन्
स्वार्थ बाझिएपछि !
आस्था अलग थलग भएपछि
फरक फरक परिवेशमा
बाँच्ने चाह राखेपछि
आ आफ्ना दुन्दुभीका
साइरनहरुका आवाजहरु पनि
फरक हुने रहेछन् ।
विचारमा मतभिन्नता बढेपछि
एउटै आस्था र विश्वासको पनि
आफ्नै ढंगले व्याख्या हुने रहेछ ।
झण्डाहरु पनि फरक
डिजाइन हुने रहेछ ।
चिसोले कक्रेका ओठ
र,
भोकले आन्द्रा बाँउडिएको पेट
बोकेर आशावादीताको भाव
त्यो रातो झण्डाको ओत लागेथे
कैयन हुल भुइँमान्छेहरु
त्यो रातो झण्डामुनी
सुरक्षित हुनेछु भनेर
एक टुक्रा खुशी मिल्ने आशमा
समर्पित गरेथे तन र मन सबै ।
तर विडम्बना !
गन्तव्यमै नपुग्दै
पद,धन र प्रतिष्ठाको लागि
दुषित बनाएर राजनीतिलाई
आफ्नो स्वार्थ अनुकूल
हिंडाउँन लाग्नेहरुको
गुलाम पो बन्न परेको छ भुइँमान्छेहरु ।
सुन्दर जीवनको लयको आशा राख्नेहरु
काटिएको मन बोकेर
कित्ताकाटको राजनीतिमा
लड्खडाउँदै पछि लाग्न विवश छन् ।
विचार,सिद्धान्त,लक्ष्य र उद्देश्य
आ आफ्नो स्वार्थ अनुकूल
व्याख्या,विश्लेषण र विवेचना
के गर्ने यहाँ,
केहीलाई आ आफ्नो स्वार्थको आहालमा डुब्नु छ ।






