आज रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दामा बिहीबार पेसी तोकिएको छ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगीसहितको अभियोगमा रास्वपा सभापति लामिछाने र जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पेसी तोकिएको हो ।
यसअघि कार्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्च अदालतबाट मूल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो।
गत बिहीबार तुलसीपुर उच्च अदालत, बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मूल अभियोग मिसिल मगाउने आदेश दिएको थियो।
यसअघि कार्तिक २० गते पनि आचार्य-अर्याल इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो। सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि आज पेशी चढाइएको हो।






