टिपर चालकहरुलाई बागमती टिपर ब्यवसायी संघको चेतावनी – ‘लागु पदार्थ तथा मादक पदार्थ सेवन र मोवाईल फोन प्रयोग गरेर सवारी चलाउँदा भएको दुर्घटनामा क्षतिपुर्ति छैन’

बनेपा/बागमती टिपर ब्यवसायी संघले सूचना प्रकाशन गर्दै चालकहरुलाई सवारी चलाउने क्रममा लागु पदार्थ तथा मादक पदार्थ सेवन नगर्न सचेत गराएको छ । लापरवाही रुपले सवारी संचालन गरी दुर्घटना हुने क्रम बढिरहेका बेला प्रशिक्षण समेत संचालन गर्दै आएको बागमती टिपर ब्यवसायी संघले पछिल्लो पटक चालकहरु लापसे र मापसे गरेको फेला पर्न थाले पछि सचेत गराएको हो ।

‘हामी दुर्घटना न्यूनीकरण गराउन सचेत छौं । चालकहरुलाई प्रशिक्षित गर्ने, दुर्घटना नगराउने चालकहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्ने, दुर्घटना बीमा तथा अन्य सेवा उपलब्ध गराईरहेका छौं’–अध्यक्ष सुरेश खत्रीले भने–‘बागमती टिपर ब्यवसायी संघले गरेको अनुरोधलाई अटेर गरी लागु पदार्थ र मादक पदार्थ सेवन गरी लापरवाही पूर्ण रुपले सवारी चलाउने चालकहरुलाई भवितब्य परी दुर्घटना भए क्षतिपुर्ति लगायतका अन्य सेवाका लागि संघ बाध्य हुने छैन ।’ संघले चेतावनीपूर्वक नै सूचना प्रकाशन गरेको अध्यक्ष खत्रीले बताए ।

टिपर चलाउँदा मोवाईल फोन प्रयोग गरेर दुर्घटना हुँदा पनि संघ मार्फत हुने क्षतिपुर्ति दिन बाध्य नहुने अध्यक्ष खत्रीले बताए । विहिबार सार्वजनिक सूचना प्रकाशन गरी चालकहरुलाई चेतावनी सहित जानकारी गराएको संघले बताएको छ ।