सिमरामा प्रदर्शनकारी र प्रहरीबीच झडप , विमानस्थल आसपास कर्फ्यु
जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपास आज पनि कर्फ्यु आदेश जारी गरेको छ। बुधबार जेनजी प्रदर्शनकारीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै आज बिहीबार पनि जेनजीले प्रदर्शन जारी राखेपछि थप जनधनको क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले आज दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशअनुसार कुनै पनि व्यक्ति तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला वा जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन्।
सिमरा चोकमा अहिले जेनजीले प्रदर्शन जारी राखेका छ्न्। आजै केहीबेरअघि प्रदर्शनकारी र प्रहरीबीच पनि झडप भएको थियो। सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
बुधबार एमालेको कार्यक्रममा महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत आउने थाहा पाएपछि उनीहरूको विरोधमा जेनजीले प्रदर्शन गरेका थिए। उनीहरूको विरोध प्रदर्शनपछि दुवै नेताहरू काठमाडौँबाट सिमरा जान सकेनन्। जेनजीले विमानस्थलको गेट पनि तोडफोड गरेका थिए।
त्यसै क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए। यसै घटनामा संलग्न भएको आरोपमा एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका दुई जना वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरिसकेको छ।
बाराको सिमरामा बुधबार भएको जेनजी र नेकपा एमालेका कार्यकर्ताबीचको झडपमा संलग्न दुई जना वडा अध्यक्ष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी छन्।
उनीहरूविरुद्ध कुटपिटको आरोपमा स्थानीय जेनजी सम्राट भनिने साइकुस उपाध्यायले इलाका प्रहरी कार्यालय सिमरामा बुधबार नै जाहेरी दिएका थिए।
जाहेरीपछि श्रेष्ठ र अन्सारीलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए। दुवै वडा अध्यक्ष एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्।
घटनामा संलग्नलाई पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएका जेनजीहरू बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरूले पथलैया सडक खण्ड अवरुद्ध गरेका छन्।
अवरुद्ध सडक खुलाउनेक्रममा प्रहरी बल प्रयोग गर्दा केहीबेर झडप भएको थियो। बुधबार नेकपा एमालेको युवा संघको राष्ट्रिय जागरण कार्यक्रमको विरोधमा जेनजीहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए।
आफ्नो नेतालाई अवरोध गरेपछि एमालेका नेता कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए।
उक्त कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतसहितका नेता आउने थाहा पाएपछि जेनजीहरूले सिमरा विमानस्थल अगाडि प्रदर्शन गरेका थिए। उनीहरूले सिमरा विमानस्थलको गेट समेत तोडफोड गरेका थिए।






