कांग्रेस संस्थापन पक्षको बटमलाइन– चुनावअघि महाधिवेशन हुँदैन
नेपाली कांग्रेसका संस्थापन पक्षका अधिकांश नेताहरूले चुनावअघि महाधिवेशन गर्न नसक्ने पक्षमा उभिएका छन्।
सभापति शेरबहादुर देउवा निकटका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्ने पक्षमा रहे पनि अधिकांश नेताहरू आगामी वैशाखमा मात्रै महाधिवेशन गर्ने अडानमा छन्।
महाधिवेशनको मितिमा कुरा नमिलेपछि अब केन्द्रीय समिति बैठक शनिवारको लागि बोलाइएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइराला नियमित नभए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा रहे पनि त्यो कुरा स्वीकार्न संस्थापन पक्षका नेताहरू तयार छैनन्।
पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताए। अहिले निर्वाचनमा केन्द्रित भएर वैशाखमा महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ।
महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले नेतृत्वमा नआउने भनेपछि अहिले महाधिवेशनको विवादमा अल्झिन आवश्यक नभएको बताए।
यादवको प्रस्तावमा आफूसहित प्रकाशमान सिंह, कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, शशांक कोइराला, एनपी साउद, विजय गच्छादारसहित केन्द्रीय सदस्यहरूको पनि साथ रहेको बताए। उनले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई ५४ प्रतिशत प्रतिनिधिलाई काठमाडौंं ल्याएर हस्ताक्षरको सनाखत गर्न समेत चुनौती दिए।
उनी मात्रै होइन, प्रवक्ता डा.प्रकाशशरण महत पनि चुनावअघि समय अभावको कारणले महाधिवेशन हुनै नसक्ने दाबी गर्छन्।उनी भन्छन्, ‘मंसिर लागिसक्यो, अब चुनावको तयारी गर्नुपर्छ, त्यसैले हामीले चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्छ भनेका हौँ।’
तर सहमहामन्त्री जीवन परियार भने केन्द्रीय कार्यसमितिको बैठकको निर्णय गर्न अब ढिलाइ गर्न नहुने बताउँछन्। उनले भने, ‘यो विषम परिस्थितिमा पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्ने समय हो। तसर्थ पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न गरी नियमित महाधिवेशनको कार्यतालिका पारित गर्नुपर्छ ।’
निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न नसक्ने हो भने विशेष महाधिवेशन गरी केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्ने बताए। नयाँ संरचना, पार्टीको नीतिगत परिमार्जन र कार्यक्रम सहित नयाँ ढङ्गबाट पार्टी अगाडि बढ्नु पर्ने आजको आवश्यकता भएको बताए।
केन्द्रीय सदस्य मधु आचार्य पनि अब केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने बताए। उनले भने, ‘बैठक सरेको सर्यै छ, हामीले हस्ताक्षरसहित विधान अनुसार नै विशेष महाधिवेशनको माग गरेका हौँ, त्यसैले अब निर्णय गर्न ढिला गर्नुहुँदैन।’






