चुनावको सुरक्षाका लागि सेना परिचालन गर्न सिफारिस गर्ने सुरक्षा परिषद्को निर्णय
राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। सरकारले निर्वाचन केन्द्रित शान्ति सुरक्षामा ध्यान दिँदै सेना परिचालनको तयारी गरेको हो।
निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ। सेना परिचालनको सिफारिस प्रयोजनार्थ गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्मा पत्राचार गरिसकेको छ।
भदौ २३ र २४ को जेनजी आन्दोलनले बिग्रिएको शान्ति सुरक्षाको अवस्था अहिले पनि साम्य भइसकेको छैन। निर्वाचनका लागि सुरक्षा वातावरण नभएको भन्दै दलहरूले सरकारको आलोचना गरिरहेका छन्।
सुरक्षाको वातावरण बनाउन भन्दै सरकारले यसपटक नेपाली सेनालाई चाँडै फिल्डमा उतार्न लागेको हो। यसअघिका निर्वाचनमा निर्वाचन हुनुभन्दा एक महिनाअघि मात्रै सेना परिचालन गरिँदै आएको थियो।
तर, यसपटक सुरक्षा अवस्था असामान्य रहेकाले पहिल्यै सेना खटाउन लागिएको हो।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष, रक्षा मन्त्री, अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षामन्त्रालयका सचिव सदस्य सचिव रहन्छन्।






