ब्राजिलमा जारी कोप-३० आयोजना स्थलमा आगलागी
काठमाडौं / ब्राजिलको बेलेममा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३०) को आयोजना स्थलमा आगलागी भएपछि केही समयका लागि भागदौड मच्चिएको छ । आगलागीपछि सम्मेलनमा सहभागी सयौं प्रतिनिधिहरूलाई तत्कालै सुरक्षित स्थानमा सारिएको थियो ।
प्रारम्भिक जानकारी अनुसार धुवाँका कारण १३ जना बिरामी परेका छन्, जसमध्ये केहीलाई उपचारका लागि अस्पताल लगिएको छ । स्थानीय समयअनुसार पभिलियन क्षेत्रमा आगो र बाक्लो धुवाँ देखिएपछि सम्मेलनमा खैलाबैला मच्चिएको थियो । बीबीसीका जलवायु सम्पादक जस्टिन रोलाटसहित त्यहाँ उपस्थित पत्रकारहरूले आगलागीको प्रत्यक्षदर्शी भएको र उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघका अधिकारीहरूका अनुसार दमकल र सुरक्षाकर्मीको तीव्र प्रयासपछि आगो ६ मिनेटभित्रै पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । यद्यपि, आगलागीको कारण भने अझै खुल्न सकेको छैन । सुरक्षाकर्मीहरूले घटनाबारे अनुसन्धान सुरु गरिसकेका छन् ।
घटनाले जलवायु परिवर्तनजस्तो गम्भीर विश्वव्यापी मुद्दामा छलफल भइरहेको महत्वपूर्ण सम्मेलनको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरेको छ । आयोजकहरूले भविष्यमा यस्ता घटना दोहोरिन नदिन थप सतर्कता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।






