एमालेको भोलेन्टियर फोर्सका संयोजकको चेतावनी–लोकेसन ट्र्याक गरेका छौँ, घर–घर घेर्छौँ
नेकपा एमालेले शुक्रबार (आज) घोषणा गरेको ‘नेसनल भोलेन्टियर्स फोर्स’ का संयोजक पुष्पराज श्रेष्ठले पार्टीले आशा गरेर दिएको जिम्मेवारी एक रत्ति पनि मर्न नदिने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौंको बबरमहलस्थित कार्की बैंन्क्वेटमा आयोजित घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले जस्तोसुकै अवस्थामा पनि सडकबाट मात्रै नभइ जहाँबाट पनि भिड्न तयार रहेको बताए ।
‘पार्टीले जुन आशा भरोसा गरेर हामीलाई एउटा जिम्मेवारी दिएको छ, त्यसलाई एक रत्ति पनि मर्न दिइने छैन,’ श्रेष्ठले सम्बोधनको क्रममा भने, ‘हामी जस्तो अवस्थामा पनि टाउकोमा रातो कफन बाँधेर सडकबाट भने पनि सडकबाट, जहाँबाट लड्न भिड्न पनि तयार छौं ।’
श्रेष्ठले सम्बोधनको क्रममा सरकारलाई धम्की दिँदै नसच्चिएको खण्डमा जस्तोसुकै प्रतिकार गर्न तयार रहेको पनि बताए । ‘यो सरकारलाई म चुनौती दिन चाहन्छु– यदि तपाईंहरू सच्चिएनौं भने हामीले तपाईंहरू जस्तो विरोध गर्छ, अवरोध गर्छ त्यसको प्रतिकार गर्छौं,’ उनले भनेका छन् ।
साथै, जसरी आफ्ना नेताहरूको घरलाई लोकेसन ट्र्याक गरिएको छ त्यसैगरी आफूहरूले पनि लोकेसन हेरेर बसेको जिकिर गरे ।
‘जसरी तपाईंहरूले लोकेसन ट्र्याक गरेर तपाईंहरूले देखाउनुभएको छ, हामीले पनि तपाईंहरूको लोकेसन हेरेका छौं । हामी पनि तपाईंहरूको घर घर घेर्नेछौं,’ उनले भनेका छन् ।






