शंखेश्वर महालक्ष्मी माविका विद्यार्थी–अभिभावकको प्रतिबद्धता, जङ्क फूड छोडेर सन्तुलित भोजन गर्छौं
विकास तिमल्सिना
धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौरमा रहेको श्री शंखेश्वर महालक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक र अभिभावकले जङ्क फूड प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन् । शैक्षिक सशक्तीकरण केन्द्र र मेडम्याक्स प्रा.लिको आयोजनामा भएको सचेतनामुलक कार्यक्रम शिक्षक–विद्यार्थी र अभिभावकले जङ्क फूडको सट्टा सन्तुलित भोजनको प्रयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
मेडम्याक्सका प्रबन्ध निर्देशक महेन्द्र बस्नेतले धुलिखेल नगरपालिकाका ६ वटा विद्यालयमा जङ्क फूड न्युनीकरणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
कुनै पनि परिवर्तनको सुरुवात गर्न चेतनास्तरमा परिवर्तन ल्याउन जरुरी भएकाले विद्यालय स्तरमा कार्यक्रम सुरु गरिएको उनको भनाई छ । घरको भान्सामा र विद्यालय हाताभित्र मात्रै पनि जङ्कफुड निशेष गर्ने हो भने धेरै रोगबाट बच्न सकिने बस्नेतले बताए । उनले सन्तुलित आहारमा जोड दिन विद्यार्थी र अभिभावकलाई आग्रह गरेका छन् । सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दुग्धजन्य पदार्थ, लगायतका खाद्यान्न समावेश हुन्छन् । कार्यक्रममा सन्नु अहमदले जङ्क फूड किन हानिकारक छ भन्ने स्पष्ट पारेका थिए । प्याकेटको खानेकुरा र बोतलमा भएको खानेकुरा, जुन उद्योगबाट बनेर आएको छ त्यस्ता खानेकुरा जङ्क फूड अन्तर्गत पर्ने उनले बताए । केमिकलको प्रयोगबाट बनेको खानेकुरा नै जङ्क फूड हो । यस्ता अस्वस्थकर खानेकुरा खाँदा प्रेसर, सुगर क्यान्सर रोगको संक्रमण हुन्छ । यसबाट बच्नको लागि आफ्नै बारीमा भएका खानेकुरामा जोड दिन आग्रह गर्दै उनले घरबाटै खानेकुरा बनाएर विद्यालय पठाउन अभिभाकलाई अनुरोध गरेका छन् । पैसा दिएर जङ्कफूड खान प्रेरित नगर्न उनको सुझाव छ ।
प्रधानाध्यापक तेज बहादुर तामाङ स्वादका लागि खाइने अस्वस्थकर खानले स्वास्थ्यमा गम्भीर असर गरिरहेको बताए । उनले बालबालिकाको स्वास्थ्यमा ध्यान दिन अभिभावकलाई आग्रह गरेका छन् । आफ्नै करेसाबारीमा उत्पादन हुने सन्तुलीत आहार प्रयोग गर्न उनले सुझाव दिएका छन् । सचेतनामुकल कार्यशालामा मेडम्याक्सकी कार्यक्रम संयोजक रोसनी रिजाल, शैक्षिक सशक्तीकरण केन्द्रका फिल्ड अफिसर राजेन्द्र कर्माचार्य, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक लगायतको उपस्थिती रहेको थियो ।






