संविधानविपरीत सरकार बनेको भन्दै एमाले अध्यक्ष ओलीले मागे प्रधानमन्त्रीको राजीनामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् । साथै, उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै सरकारमा पुगेको आरोप लगाए । अध्यक्ष ओलीले वर्तमान सरकार संविधानविपरीत बनेको आरोप लगाउँदै तत्काल राजीनामा दिन पनि माग गरेका छन् । राष्ट्रपतिलाई यो सरकार हटाउन उनले आग्रह गरेका छन् । उनले संविधान अनुसार नबनेको सरकार हटाउन कुनै संविधान नचाहिने समेत जिकिर गरे । उनले अब प्रतिनिधि सभा पुनस्र्थापना हुने दाबी गरेका छन् । भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै अब देश एमालेमय बन्ने दाबी गरे । उनले पार्टीपंक्तिलाई प्रतिनिधि पुनस्र्थापनाको पक्षमा लाग्न निर्देशन दिए। उनले प्रतिनिधि सभा अनधिकृत, असंवैधानिक र अलोकतान्त्रिक सिफारिसमा विघटन भएको दाबी गरे । फरक प्रसंगमा ओलीले सरकारले जेनजी आन्दोलनको नाममा हुलदङ्गा रोक्नेतर्फ उदासीनता देखाएको आरोप लगाएका छन्। उनका अनुसार आन्दोलनको दोस्रो दिन प्रहरीले ढुंगामुढा सहनु परेको तर प्रतिवाद गर्ने आदेश नदिइएको थियो । उनले सरकारकै निर्णयले सुरक्षा संयन्त्र कमजोर भएको दाबी गरेका छन् । ओलीले सरकार र सत्ता पक्षले विभिन्न संवैधानिक तथा सुरक्षा निकायहरूलाई एमालेसँग जोडेर बदनाम गर्न खोजेको आरोप समेत लगाए । ओलीले देश नै ‘एमालेमय’ भएको जिकिर गर्दै सरकारप्रति कटाक्ष गरे ।