एमालेको ऐतिहासिक जन्मकुण्डली: नेतृत्वदेखि नेतृत्वसम्म
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भारतीय भूमिमा भएको थियो । त्यसका लागि पुष्पलालले नेतृत्वदायी भूमिका खेलेका थिए । त्यसअघि उनी तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस डिल्लीरमण गुटको कार्यालय सचिव थिए । नेपाली राष्ट्रिय कांग्रेस परित्याग गरी उनले नेकपा स्थापना गरेका थिए ।
भारतमा रहँदा उनको भारतीय कम्युनिष्ट नेताहरुसँग सम्पर्क भयो । उनलाई भारतीय कम्युनिष्ट नेता नृपेन्द्र चक्रवर्तीले माक्र्सवाद अध्ययनमा सघाएका थिए । कार्ल माक्र्सको ‘कम्युनिष्ट घोषणापत्र’लाई पहिलोपटक नेपाली भाषामा पुष्पलालले नै अनुवाद गरे । २००५ चैत २३ मा प्रकाशित ‘कम्युनिष्ट घोषणापत्र’को नेपाली अनुवाद नेपालीमा प्रकाशित पहिलो माक्र्सवादी रचना थियो ।
भारतीय कम्युनिष्ट नेताहरूको प्रेरणा र माक्र्सवादको अध्ययनपछि उनले वि.सं. २००६ मा मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीको साथ लिएर नेकपा स्थापना गरे । पार्टी महासचिवमा पुष्पलाल आफैँ चुनिए ।
नेकपाको स्थापना १० वैशाख २००६ मा कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा भएको थियो । पुष्पलालले ‘नेपालको कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’मा नेकपा स्थापनपछि पार्टीको निर्णय अनुसार ‘माक्र्सवादी अध्ययन मण्डल’ गठन गरेर त्यससम्बन्धी अध्ययनलाई व्यवस्थित बनाएको उल्लेख गरेका छन् । अध्ययन मण्डलमा हिक्मतसिंह भण्डारी, प्रयागलाल, शमशेर चाँद र केशरजंग रायमाझी सदस्य थिए ।
पार्टी स्थापनापछि यसलाई गोप्य नै राखिएको थियो । नेकपा स्थापनाको औपचारिक जानकारी २००६ भदौ ३० गते मात्र बाहिर ल्याइयो । पार्टी स्थापनाबारे औपचारिक जानकारी सार्वजनिक गर्दा यसअघिका पाँच संस्थापकमध्ये पुष्पलालबाहेक अरु कोही पनि केन्द्रीय कमिटीमा थिएनन् । पुष्पलाल नै महासचिव रहेका केन्द्रिय कमिटीमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंह सदस्य थिए । अयोध्या सिंहलाई भारतीय कम्युनिष्ट पार्टीका प्रतिनिधिका रुपमा नेकपा केन्द्रीय कमिटीमा राखिएको थियो ।
पहिलो महाधिवेशनअघि नै पुष्पलालको बहिर्गमन भएको थियो । नेकपाको पहिलो सम्मेलन २००८ असोजमा कलकत्तामा भएको थियो । पुष्पलालले आफ्नो पुस्तकमा २००८ सालको प्रथम सम्मेलनपछि पार्टीमा संशोधनवाद प्रवेश गरेको उल्लेख गरेका थिए ।
पहिलो सम्मेलनले पुष्पलाललाई पुनः महासचिव छानेको थियो । पाँच जनाको राजनीतिक समितिमा पुष्पलालसहित मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय र भाइसाहेब थिए । पछि पटकपटक गरी शम्भुराम श्रेष्ठ, केदार खनाल, धनुषचन्द्र गौतम र विजयकुमार दादालाई समावेश गरी राजनीतिक समिति नौ सदस्यीय बनाइएको थियो । यीमध्ये पुष्पलालबाहेक कोही पनि नेकपाका संस्थापक सदस्य थिएनन् । यहीँबाट पुष्पलाललाई एक्ल्याउन सुरु भएको थियो ।
त्यसको केही समयपछि वि.सं. २००९ मा पुष्पलाललाई महासचिवबाट हटाइएको थियो । उनलाई महासचिवबाट हटाउन मनमोहन समूहको प्रमुख हात थियो । २००८ सालमा नेकपामाथि प्रतिबन्ध लागेपछि प्रमुख नेताहरुलाई वारेन्ट जारी गरिएको थियो । प्रतिबन्धित अवस्थामा रहेको पार्टीको पहिलो बैठक २००९ जेठ–असारमा धनुषाको बटेश्वरमा बसेको थियो ।
त्यसअघि पुष्पलाल, मनमोहन, तुलसीलाल, शैलेन्द्रकुमार उपाध्याय र डीपी अधिकारी रहेको पोलिटब्यूरो बैठकमा उपाध्यायले महासचिव फेर्ने प्रस्ताव राखेका थिए । उपाध्याय मनमोहन समूहका थिए । उनको प्रस्तावपछि बहुमतले पुष्पलाललाई हटाएर मनमोहनलाई पार्टी महासचिव बनाइयो । (मनमोहन अधिकारी: नेपाली राजनीतिमा ६ दशक, डा। ढाकाराम सापकोटा) । महासचिवबाट हटाएपछि पुष्पलाललाई गन्डक प्रान्तको इन्चार्ज बनाइयो ।
नेकपाको पहिलो अधिवेशन वि.सं. २०१० मा मात्र भयो । प्रतिबन्धित नै रहेको अवस्थामा पहिलो अधिवेशन भूमिगत रुपमा पाटनमा २०१० सालमा भएको थियो । अधिवेशनबाट मनमोहन अधिकारी महासचिव चुनिए । यसरी, मनमोहन अधिवेशनबाट निर्वाचित हुने नेकपाको पहिलो महासचिव भए ।
दोस्रो महाधिवेशनअघि नै केशरजंग रायमाझीको उदय भएको थियो । नेकपाको प्रतिबन्ध हटाउन तत्कालीन महासचिव मनमोहन अधिकारीले २०१३ वैशाख ३ गते एक वक्तव्य जारी गरे । उनले त्यसमा राजालाई वैधानिक नायकत्व मानी समाजवादको शान्तिपूर्ण प्रचार गर्ने उल्लेख गरेका थिए । तर, त्यसलगत्तै बसेको केन्द्रीय समिति बैठकले पोलिटब्यूरोको उक्त वक्तव्यलाई गलत ठर्हयायो ।
नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास पौराणिक जस्तै देखिनथालेको छ । यद्यपि, मनमोहन अधिकारी पार्टीमा शक्तिशाली महासचिव छँदै थिए । त्यही बेला चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनमा भाग लिन उनी शम्भुराम श्रेष्ठ र कमर शाहसहित चीन गए । मनमोहनको अनुपस्थितिमा कार्यवाहक महासचिव हुन पुष्पलाललाई प्रस्ताव गरिए पनि उनले अस्वीकार गरे । त्यही मौकामा केशरजंग रायमाझीले आफू कार्यवाहक बन्ने प्रस्ताव राखे जुन पारित पनि भयो । मनमोहन स्वास्थ्य उपचारका लागि लामो समय चीनमा नै बस्नुपर्ने भएपछि केशरजंग पार्टीमा सर्वेसर्वा भए । उनले आफ्नो गुट पनि बलियो बनाउँदै लगे ।
नेकपाको दोस्रो महाधिवेशन २०१४ जेठ १५–२५ मा फोहोरा दरबारमा हुँदा महासचिव मनमोहन चीनमा नै थिए । महाधिवेशनले कार्यनीति पुष्पलालको पारित ग¥यो भने नेतृत्वमा रायमाझीलाई नै चयन र्गयो । महामन्त्रीका लागि भएको निर्वाचनमा रायमाझीले १७ मध्ये १२ मत पाए भने पुष्पलालले पाँच मतमात्र पाए ।
सत्र सदस्यीय केन्द्रीय कमिटीका लागि २२ जनाको उम्मेदवारी परेपछि भएको निर्वाचनमा केशरजंग रायमाझी, पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, कमर शाह, डीपी अधिकारी, शम्भुराम श्रेष्ठ, हिक्मतसिंह भण्डारी, पीबी मल्ल, कमलराज रेग्मी, केदारप्रसाद उपाध्याय, मोहनविक्रम सिंह, अरविन्द रिमाल, कृष्णलाल श्रेष्ठ, कृष्णप्रसाद अधिकारी र मधु सिंह निर्वाचित भए । शैलेन्द्रकुमार उपाध्याय, धनुषचन्द्र गौतम, नरबहादुर कर्माचार्य, गोपाल प्रसाईं र महेश उपाध्याय पराजित भए ।
एमालेको तेस्रो महाधिवेशनलाई फुटको महाधिवेशनको रुपमा समेत हेर्ने गरिन्छ । तेस्रो अधिवेशनअघि नै पार्टीमा कारबाही र निष्कासनको श्रृङ्खला चलिसकेको थियो । तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेपछि दरभङ्गामा बसेको केन्द्रीय प्लेनमको बैठकमा दुई लाइन देखा र्पयो । पुष्पलालले राजाको कदमको विरोधमा संघर्षको प्रस्ताव राखे । रायमाझीले समर्थनमा प्रस्ताव राखे । तर, पुष्पलालको प्रस्ताव पारित भयो । रायमाझीलाई महासचिवबाट हटाइयो र शम्भुराम, डीपी र केशरजंगको अन्तरिम मन्त्रिपरिषद् गठन भयो ।
त्यतिबेला मनमोहन अधिकारी जेलमा थिए । उनले पुष्पलालकै लाइनलाई समर्थन गरेका थिए। उक्त प्लेनमले नौ महिनाभित्र तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, रायमाझी पक्षले महाधिवेशन गराउन आलटाल र्गयो । जसकारण पुष्पलालकै पहलमा ‘अन्तरजोन सामञ्जस्य समिति’ बन्यो । उक्त समितिलाई दुई महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी दिइयो ।
नेकपाको पुष्पलाल समूहको तेस्रो महाधिवेशन २०१९ वैशाख ४–१५ मा भारतको बनारसस्थित मयुरगञ्जमा भयो । यो महाधिवेशनमा रायमाझी समूहले भाग लिएन । यो महाधिवेशनले पोलिटब्यूरो सरहको सात सदस्यीय राजनैतिक समिति बनायो । त्यसमा पुष्पलाल, तुलसीलाल अमात्य, मनमोहन अधिकारीलगायत थिए । महाधिवेशनपछि २०१९ वैशाख १७ गतेदेखि जेठ ५ सम्म चलेको केन्द्रीय कमिटीको बैठकले तुलसीलाललाई महामन्त्री चुनेको थियो ।
उता रायमाझी समूहले भने २०२४ सालमा मात्र तेस्रो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले २१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दै महासचिवमा रायमाझीलाई चयन गरेको थियो । उक्त समूहले पनि जेलमा रहेका मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठलाई केन्द्रिय कमिटीमा राखेको थियो ।
चौँथो महाधिवेशनबाट मदन भण्डारीको उदय शुरुवात भएको थियो । तेस्रो महाधिवेशनबाट फुटतिर गएको नेकपाको चौथो महाधिवेशन फरक स्थानमा फरक गुटले फरक मितिमा गरे । यसबाट ती पार्टीको लाइन पनि फरक हुँदै आयो । निर्मल लामा, अमिक शेरचन, नरबहादुर कर्माचार्य, जयगोविन्द साह, चित्रबहादुर आलेहरुले दरभंगामा छुट्टै पार्टी गठनका लागि प्रथम राष्ट्रिय सम्मेलन अयोजक समिति बनाए । उनीहरुले २०३१ सालमा चौथो महाधिवेशन गरेर पार्टीको नाम नै नेकपा (चौथो महाधिवेशन) अर्थात् चौम राखे । तर, यो पार्टी एमालेको नभइ २०५२ सालमा जनयुद्धमा गएको नेकपा (माओवादी) को विरासत बोकेको पार्टी हो ।
साना समूहहरुलाई एकीकृत गरी २०३२ सालमा स्थापना भएको अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (माले) हुँदै २०३५ सालमा बनेको नेकपा माले चाहिँ अहिलेको एमालेको विरासत बोकेको पार्टी हो । २०३२ सालमा कोकेका संस्थापक सीपी मैनाली, झलनाथ खनाल, माधव नेपाल, अमृत बोहोरा, मणिलाल राई, रामचन्द्र यादव, मुकुन्द न्यौपाने र गोविन्द न्यौपाने थिए। त्यति बेला केपी ओली भने जेलमा थिए ।
कोकेको पहिलो सम्मेलन २०३५ पुस ११–१७ सम्म भएको थियो । यसले १० सदस्यीय केन्द्रीय समिति बनायो । जसमा सीपी मैनाली, रत्नकुमार वान्तवा, मदन भण्डारी, माधव नेपाल, ईश्वर पोखरेल, मकुन्द न्यौपाने, अमृत बोहोरा, जीवराज आश्रीत, प्रदीप नेपाल र मोदनाथ प्रश्रित थिए । झलनाथ खनाल जेलमा थिए । उनलाई जेलबाट छुटेपछि केन्द्रीय कमिटीमा ल्याइएको थियो । महासचिव सीपी मैनाली भए । चार सदस्यीय पोलिटब्यूरोमा सीपीसहित माधव नेपाल, जीवराज र मोदनाथ थिए ।
मालेको नेतृत्वबाट २०३९ सालमा सीपी मैनालीलाई हटाएर झलनाथ खनाललाई ल्याइयो । त्यति बेला माधव नेपाल र जीवराज आश्रितलाई उछिन्दै केन्द्रीय सदस्य मात्र भएका खनाल महासचिव भएका थिए । तर, उनको कार्यकाल लामो रहेन । २०४४ सालमा फेरि सीपी मैनाली महासचिवमा पुनःस्थापित भए ।
नेकपा मालेले आफ्नो पार्टीलाई पुष्पलालले स्थापना गरेकै पार्टीको निरन्तरतामा जोड्न २०४६ सालमा गरेको भूमिगत महाधिवेशनलाई चौथो महाधिवेशन भएको उल्लेख र्गयो। सिरहाको विष्णुपुरकट्टीस्थित माले कार्यकर्ता बलबहादुर सुनुवारको घरमा भएको यही महाधिवेशनले आफ्नो पार्टीले गर्ने क्रान्तिको विशिष्ट कार्यक्रममा बहुदलीय जनवादी शासन प्रणाली स्वीकार र्गयो । यो महाधिवेशनले २१ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । ६ सदस्यीय पोलिटब्यूरो पनि बनायो, जसमा मदन भण्डारी महासचिव चुनिए ।
तर, पार्टीले उनलाई प्रवक्ताको रुपमा मात्र सार्वजनिक गरेको थियो । त्यति बेला सीपी, झलनाथ, जीवराज, माधव पोलिटब्यूरोमा थिए। अमृत बोहोरा वैकल्पिक पोलिटब्यूरो भए । केन्द्रीय समितिमा अशोक राई, ईश्वर पोखरेल, केपी ओली, प्रदीप नेपाल, वामदेव गौतम, राधाकृष्ण मैनाली, त्रिलोचन ढकाल, युवराज ज्ञवाली लगायत थिए ।
पाँचौँ महाधिवेशनले जनताको बहुदलीय जनवादको जन्म भएको थियो । पाँचौं महाधिवेशन नेकपा एमालेकै नाममा भएको पहिलो महाधिवेशन थियो । त्यसअघि २०४७ पुस २२ गते नेकपा माले र मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादीबीच पार्टी एकता भएर नेकपा एमाले गठन भएको थियो । यसको २७ सदस्यीय केन्द्रीय समिति बन्यो । अध्यक्ष मनमोहन अधिकारी भए भने शक्तिशाली महासचिवमा मदन भण्डारी नै छानिए । पोलिटब्यूरोमा सीपी, जीवराज, झलनाथ, माधव, बलराम उपाध्याय, भरतमोहन अधिकारी, सहाना प्रधान र सिद्धिलाल सिंह थिए । अमृत बोहोरा, ईश्वर पोखरेल, केपी ओली, मुकुन्द न्यौपाने, राधाकृष्ण मैनाली, केशरमणि पोखरेललगायत नेता केन्द्रीय समितिमा परे ।
पाँचौँ महाधिवेशन २०४९ माघ १४९२० काठमाडौँमा भएको थियो । यो महाधिवेशनले मदन भण्डारीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘जनताको बहुदलीय जनवाद’ पारित गरेको थियो । भण्डारीको विरुद्धमा सीपी मैनालीले ‘परिमार्जित नौलो जनवाद’ र मोहनचन्द्र अधिकारीले ‘नौलो जनवाद’ प्रस्तुत गरे पनि असफल भए । त्यसबाहेक रघुजी पन्तको ‘सामाजिक जनवाद’ले त शून्य मत पाएको थियो। भण्डारीको प्रस्तावले ५४१ मत पाउँदा सीपीको प्रस्तावको पक्षमा १०१ र अधिकारीको पक्षमा ५५ मत परेको थियो ।
महाधिवेशनले मनमोहनलाई अध्यक्ष र मदन भण्डारीलाई नै महासचिव चुनेको थियो । यही महाधिवेशनबाट केपी ओली पहिलो पटक पोलिटब्यूरो सदस्य भएका थिए । तर, ईश्वर पोखरेल पोलिटब्यूरोमा आउन सकेनन् । प्रदीप नेपाललाई त अझ ४२ सदस्यीय केन्द्रीय कमिटीमै राखिएको थिएन । पछि उनलाई केन्द्रीय सदस्यमा ल्याइएको थियो ।
छैटौँ महाधिवेशनले रोक्न सकेन पार्टी विभाजन । एमालेको छैटौँ महाधिवेशन २०५४ माघ १२–१८ सम्म नेपालगन्जमा भएको थियो । महाकाली सन्धिलाई लिएर एमालेभित्र विवाद भइरहेको अवस्थामा यो महाधिवेशन भएको थियो। पाँचौं महाधिवेशनको तीन वर्ष नपुग्दै तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगा जीप दुर्घटनामा मृत्यु भएपछि माधवकुमार नेपाल महासचिव चयन भएका थिए ।
नेपालगञ्ज महाधिवेशनले अध्यक्षमा मनमोहन अधिकारीलाई र महासचिवमा माधव नेपाललाई नै चयन र्गयो । तर, महाधिवेशनलगत्तै २०५४ फागुन २१ मा पार्टी विभाजन भयो । सहाना प्रधान अध्यक्ष र वामदेव गौतम महासचिव रहेको नेकपा माले गठन भयो । त्यसको चार वर्षपछि २०५८ फागुन ४ गते पुनः पार्टी एकता गरिएको थियो ।
सातौँ महाधिवेशनमा पनि फेरि माधव नेपालकै हामीमुहाली वढ्यो । एमालेको सातौँ महाधिवेशन २०५९ माघ १८–२२ सम्म जनकपुरमा भएको थियो । यो अधिवेशनमा आइपुग्दा एमालेमा माधव नेपाल र केपी ओलीका अलग समूह बनिसकेका थिए । तर, ओली नेपाललाई महासचिव बन्नबाट रोक्ने गरी टक्कर दिने अवस्थामा थिएनन् ।
महाधिवेशनले पुनः माधव नेपाललाई नै महासचिव निर्वाचित गरेको थियो । ५५ सदस्यीय केन्द्रीय कमिटीमा ४३ जना पूर्ण र १२ वैकल्पिक सदस्य निर्वाचित भएका थिए ।
आठौँ महाधिवेशनबाट बहुपदीय प्रतिस्पर्धा शुरु भएको थियो । बुटवलमा २०६५ फागुन ५–१४ सम्म भएको आठौँ महाधिवेशनमा पहिलोपटक एमालेमा बहुपदीय व्यवस्था भयो । शक्तिशाली महासचिव प्रणालीबाट अध्यक्ष शक्तिशाली हुने प्रणालीमा गयो । यो महाधिवेशनमा माधव नेपाल कुनै पनि पदको आकांक्षी थिएनन् । २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा एमाले पराजित भएपछि उनले महासचिवबाट राजीनामा दिएका थिए । उनको ठाउँ झलनाथ खनालले लिएका थिए ।
महाधिवेशनमा झलनाथ र केपी ओलीले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । ओलीलाई ११७ मतले पराजित गरेर खनाल अध्यक्ष भए । महत्वपूर्ण मानिएको महासचिवमा प्रदीप नेपाललाई हराउँदै ईश्वर पोखरेल विजयी भए । यो महाधिवेशन नीतिभन्दा पनि नेतृत्व केन्द्रित भएको थियो ।
नवौँ महाधिवेशनबाट पार्टीमा केपी ओलीको उदय शुरु भएको हो । एमालेको नवौँ महाधिवेशन २०७१ असार १९ देखि साउन १ सम्म काठमाडौँमा भएको थियो । यो महाधिवेशनमा पनि नीतिभन्दा नेतृत्व चयनलाई नै महत्व दिइएको थियो । महाधिवेशनबाट माधव नेपाललाई थोरै मतले पराजित गर्दै केपी ओली अध्यक्ष निर्वाचित भएका थिए । ओलीले १०४७ मत पाउँदा नेपालले १००३ मत पाएका थिए । उता महासचिवमा ईश्वर पोखरेल ६ मतले विजयी हुँदै सोही पदमा दोहोरिए । पोखरेलले १०३६ मत पाउँदा सुरेन्द्र पाण्डेले १०३० मत पाएका थिए ।
अध्यक्षमा पराजित भएका माधव नेपालको समूह शक्तिशाली थियो । यसकारण एमालेमा स्थायी दुई समूह कायम रहे । यो क्रम एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बन्दासम्म पनि कायमै थियो । माधव नेपाल पक्षका केही नेता नेकपा एकीकृत समाजवादी हुँदै प्रचण्डपथमा बिलय हुन पुगे भने लामो समय माधव पक्षकै भनेर चिनिएका नेताहरु एमालेमै रहेका छन् । उनीहरुमध्येका एक भीम रावलले दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचन हारेसंगै विष बमन गर्दै आएपछि पछिल्लो समय उनीपनि प्रचण्ड पथमै सामेल हुन पुगेका छन् ।
मुलुकको विषम परिस्थितिका विच एमालेले आफ्नो ११ औं महाधिवेशन गर्दैछ । काठमाडौंमा हुने महाधिवेशनबाट केपी ओली एक पटक पुनः दोहोरिनु पर्ने अवस्थाको सिर्जना भएको छ । संविधान झण्डै झण्डै कोमामा पु¥याइएको छ । कथित जेन–जीको नामबाट असंवैधानिक ढंगले सुशिला कार्कीको नेतृत्वमा सरकार गठन गराइएको छ । त्यो सबै चिजको चिरफार गर्न र कोमामा पु¥याइएको लोकतान्त्रिक गणतन्त्रलाई पुनरस्र्थापित गराई अगाडी वढाउनको लागि एमाले नेता केपी ओली केवल एमालेकोमात्र नेता बनेर सुख नपाउने अवस्थाको सृजना भएको छ । त्यसको लागि पुनः एक पटक केपी शर्मा ओलीको नेतृत्वमा महाधिवेशन भएर सर्वसम्मत अध्यक्ष बन्नु÷बनाउनु आजको निर्विकल्प विषय हो । यसमा सबै लागेर वढ्दामात्र नेकपा एमाले र सिंगो मुलुकको लागि फलदायी हुनेछ ।






