काभ्रे उद्योग वाणिज्य संघले दियो फूलको बुके बनाउने तालिम

उद्योग वाणिज्य संघ काभ्रेले फूलको बुके बनाउने तालिम आयोजना गरेको छ । उद्यमशीलता प्रवद्धनका लागि सञ्चालन गरिएको दुई दिने तालिममा २६ जना महिलाहरुको सहभागिता रहेको थियो । पछिल्लो समय अतिथीको स्वागत, विवाह, जन्मदिन लगायतका शुभकार्यमा बुकेको प्रयोग बढ्दै गएको छ । आयातित बुकेको प्रयोग न्यूनिकरण गर्दै स्थानीय स्तरमै बुके उत्पादनका लागि सहजीकरण गर्न तालिम आयोजना गरिएको उद्योग वाणिज्य संघ काभ्रेका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदारले बताए ।

तालिममा सहभागी महिलाहरुले सीपलाई व्यवसायिक रुपमा लैजाने प्रतिवद्धता जनाएका छन् । महासचिव रजित पलाञ्चोकेले उत्पादित सामाग्रीको बजारीकरणका लागि उद्योग वाणिज्य संघले सहजीकरण गर्ने बताएका छन् । कार्यक्रममा संयोजक पूर्णिमा श्रेष्ठ, प्रशिक्षक तृष्ण श्रेष्ठ लगायतले तालिममा सिकेको सीपबाट व्यवसायीक बन्न सुझाव दिएका छन् ।