महेश बस्नेत चढेको गाडीमा मसी प्रहार गर्ने नेविसंघका दुई युवा पक्राउ

नेकपा (एमाले) का नेता महेश बस्नेत चढेको गाडीमा केही युवाले रातो मसी फ्याँकेका छन् ।

सुनसरीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतलाई एयरपोर्ट गेटबाट निस्कँदै गर्दा केही युवाले रातो मसी फ्याँकेको युवा संघका नेता अरुण गुरुङले बताए ।

उनीहरूले बस्नेतविरुद्व नाराबाजी गरेका थिए । उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले बताइन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् । उनीहरु नेवि संघमा आवद्ध रहेको पाइएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेकपा एमालेका नेता महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कारबाही गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।

युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा बस्नेत सावरी कारमा रातो मसी फ्याँकिएको थियो ।

रातो मसी छ्याप्ने विराटनगर(२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर(१ का २५ वर्षीय सन्जोग गौतम कांग्रेस निकट नेविसंघमा आवद्ध विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले आज बिहान प्रहरी भ्यान पछिपछि गुडिरहेको बस्नेत सवार कारमा सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका थिए ।

लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार भए पनि बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसंघको हुन नसक्ने शेर्पाले बताएका छन् ।