आफ्ना मान्छे नियुक्ति विवादमा प्रधानमन्त्रीको सचिवालयले भन्यो–अनावश्यक कर्मचारी नियुक्त गरिएको छैन
प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले कर्मचारी नियुक्तिको विषयमा प्रकाशित–प्रसारित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार सचिवालयले विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।
जेनजी आन्दोलनको बलमा स्थापित यस सरकारका प्रधानमन्त्रीले मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्दै आउनुभएको सचिवालयले प्रष्ट पारेको छ। राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रुपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदैआएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले प्रष्ट पारेका छन्।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१) को ३ (३) मा स्वकीय सचिवालयका प्रमुख स्वकीयसचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने व्यवस्था छ।
सोही व्यवस्थाबमोजिम प्रधानमन्त्रीले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरिएको उनले बताए । प्रधानमन्त्रीको परिवारमा आफूसँग श्रीमान् मात्र रहनुभएको र उहाँहरुको वृद्ध उमेरको कारण पारिवारिक रुपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीले छनोटगरी नियुक्त गरेको उनले बताए ।
प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाइ अन्यथा व्याख्या नगर्न सचिवालयले अनुरोध गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “यसबाहेक अन्य नियुक्तिमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकाले त्यसो नगरिदिन हुन पनि अनुरोध छ।”






