महाधिबेशन प्रतिनिधी चयनका लागि एमाले काभ्रेले सार्वजनिक गर्योे निर्वाचन कार्यक्रम, मसिंर १० उम्मेदवारी दर्ता, १३ गते निर्वाचन
बनेपा/नेकपा एमाले काभ्रेले मसिंर २७ गते देखि राजधानीमा हुने पार्टीको ११ औ महाधिबेशनमा सहभागि हुने प्रयोजनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आज मसिंर ८ गते निर्वाचन कार्यतालिका प्रकाशन गरेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज पाण्डेले जानकारी दिए ।
यस्तो छ निर्वाचन तालिका
निर्वाचन तालिका अनुसार भोली मसिंर ९ गते विहान ११ बजे मतदाता नामावली प्रकाशन हुनेछ । मसिंर १० गते विहान १० बजे देखि २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । ११ गते दिउसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन ११ गते दिउसो ३.३० बजे हुनेछ । निर्वाचन कार्यक्रम मसिंर १३ गते विहान ८ बजे देखि ३ बजेसम्म हुनेछ । निर्वाचन सकिए लगत्तै सम्वन्धित मतदान केन्द्रमा सम्वन्धित केन्द्रको मतगणना गरिनेछ । सबै मतदान केन्द्रबाट तोकिएको प्रकृया पुरा गरि परिणाम प्राप्त भए पछि सम्वन्धित क्षेत्रको मतपरिणाम घोषणा हुनेछ ।
को बन्न सक्छ उम्मेदवार ?
महाधिबेशन प्रतिनिधीका लागि उम्मेदवार बन्न लगातार १० वर्ष पार्टी सदस्य भएर काम गरेको ब्यक्ति हुनु पर्नेछ । तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी–जनजाति र अपाङ्गता भएका ब्यक्तिले भने ७ वर्ष पार्टी सदस्य भई काम गरेको भए पुग्नेछ । पार्टी प्रवेश गरेकाहरुको हकमा विद्याधानको धारा ६३(११) मा उल्लेख भए बमोजिम गर्ने भनिएको छ । ४० वर्ष मुनिका युवा प्रतिनिधीका हकमा २०८२ मसिर १३ गतेसम्म ७ वर्ष सदस्यता भई काम गरेको र ४० वर्ष नकटेको हुनु पर्ने ब्यवस्था गरेको छ ।
१७ वटा मतदान केन्द्र
प्रतिनिधि सभा क्षेत्र तहमा हुने प्रतिनिधि छनौट निर्वाचनका लागि प्रत्येक पालिकामा मतदान केन्द्र निर्धारण गरिएको छ । एउटै पालिकामा २ वटा क्षेत्र पर्ने पालिकाहरु धुलिखेल, पनौती र बेथान्चोक गाउँपालिकामा २ वटा मतदान केन्द्र हुनेछन् । मतदान केन्द्र रहने स्थान सम्वन्धित पालिकाले तय गर्नेछ । दलित प्रतिनिधिका लागि जिल्ला पार्टी कार्यालयमा मतदान केन्द्र निर्धारण गरिएको छ । १७ वटा मतदान केन्द्र मार्फत मतदान हुनेछ ।
मतदाताले मतदानमा कसरी भोट हाल्न पाउँछन ?
मतदाताहरुले पार्टी सदस्यता कार्डका आधारमा (डिजिटल भए पनि मान्य) मतदान गर्न सक्नेछन् । सदस्यता कार्ड नभएको तर सदस्यता भएकाहरुले मतदाता परिचयपत्र, नागरिकता वा कुनै स्पष्ट परिचय खुल्ने परिचयपत्रका आधारमा मतदान गर्न पाउने छन् । मतदाता पहिचानमा समस्या देखिए सम्वन्धित पािलका कमिटी, वडा कमिटी र निर्वाचन अधिकृतको समन्वयमा समाधान हुनेछ ।
कति प्रतिनिधि चुनिनेछन् ?
केन्द्रीय कमिटीले जारी गरेको मापदण्डका आधारमा सामान्यतया जिल्लाबाट २४ जना प्रतिनिधि निर्वाचित हुनेछन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ बाट खुल्ला ६, महिला ४ र युवा १ गरी ११ जना, प्रतिनिधि सभा क्षेत्र नम्वर २ बाट खुल्ला ७, महिला ४ र युवा १ गरी १२ जना र जिल्ला दलित क्षेत्रबाट एक जना गरी २४ जना निर्वाचित हुनेछन् ।
कति छन् मतदाता ?
नेकपा एमालेले नविकरण गरेका १५ हजार १ सय ११ जना मतदाता रहेको बताएको छ । निर्वाचन क्षेत्र नम्वर १ मा ७ हजार ५३ र निर्वाचन क्षेत्र नम्वर २ मा ८ हजार ५८ जना रहेका छन् ।
बैठकले के निर्णय ग¥यो ?
‘नेकपा एमाले काभ्रे जिल्ला कमिटी सचिवालयको चौथो बैठकले गरेको निर्णय अनुसार एघारौं राष्ट्रिय महाधिबेशनका लागि प्रतिनिधी छनौट गर्ने निर्णय गरेको छ’–अध्यक्ष राजन भुर्तेलले भने–‘निर्वाचन प्रयोजनका लागि केन्द्रिय परिपत्र अनुसार तोकिएको मापदण्डमा प्रतिनिधी छनौट गर्न निर्वाचन कमिटी गठन गरेको छ ।’ बैठकले मसिंर २७ देखि २९ सम्म राजधानीमा हुने महाधिबेशनमा सहभागि हुन सबै संगठित सदस्य, कमिटी तथा जनबर्गिय संगठनमा आवद्ध नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुमा आब्हान गर्ने निर्णय गरेको छ ।
बैठकले प्रमुख निर्वाचन अधिकृत यज्ञराज पाण्डेको नेतृत्वमा मधुसुदन वाग्ले, लालतारा अधिकारी, राजेन्द्र पण्डित, रामचन्द्र थापा, भिमसेन हुमागाई, नवराज सापकोटा, विष्णु चौलागाई, सुमन तिमल्सिना, अच्युत अधिकारी, पुरुषोतम आचार्य, शिव तिमल्सिना, गोपाल तिमल्स्निा र पुरुषोतम तिमिल्सना सदस्य छन् । बैठकमा पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बास्कोटा प्रमुख अतिथी थिए भने महाधिबेशन प्रतिनिधि छनौटका लागि जिल्ला सहजकर्ता गणेश पहाडी, केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ इन्चार्ज रेशम लामा, केन्द्रीय सदस्य सुवास देवकोटा अतिथी थिए । प्रदेश कमिटी सदस्यहरु, पालिका इन्चार्जहरु र पालिका कमिटीका अध्यक्षहरुको बैठकमा सहभागिता रहेको थियो ।





