महाधिवेशन प्रतिनिधि छनोटका लागि एमालेको ५ बुँदे निर्देशन, १ हजार बढी शुल्क लिन नपाइने
नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधि छनोटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ।
पार्टी स्थयी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनथ अधिकारीका अनुसार सोमबार साँझ विभागको भर्चुअल बैठक बसेको थियो। सो बैठकले केही निर्णयहरू गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको हो।
अधिकारीका अनुसार महाधिवेशनको प्रतिनिधि छनोटका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचि अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ।
यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ।
यसैगरी कायम भएको अन्तिम मतदाता सूचिको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ।
यस्तै १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरिएको छ।
विभागको यो निर्देशनअनुसार कुनै पनि बहानामा १३ गते गर्नु पर्ने प्रतिनिधि छनोटको कार्यक्रम सार्न पाइने छैन।
केही जिल्लाहरूमा प्रतिनिधिको उम्मेदेवारी दर्ता शुल्क अत्याधिक तोकिएको जानकारी आएकोले त्यसमा विभागले हस्तक्षेप गरेको छ।
प्रतिनिधिमा उम्मेद्वारी शुल्क बढीमा १ हजार रुपैयाँ भन्दा बढी नलिन पनि निर्देशन गरिएको छ। प्रतिनिधि छनौटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरूलाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनोट प्रक्रियामा सहजिकरण गर्न पनि विभागले निर्देशन दिएको छ।
मंसिर २७ देखि २९ गते काठमाडौँमा हुने एमालेको ११ औँ महाधिवेशनको मंसिर १३ गते देशैभरी र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनौट हुँदैछन्। एमालेको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ।






