धुलिखेल ४ मा निःशुल्क दन्त शिविर, नवजात शिशु तथा सुत्केरीलाई पोषण वितरण, बखुण्डोल आधारभुत स्वास्थ्य केन्द्रबाट ७ हजारलाई सेवा

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ ले वडामा रहेका नवजात शिशु तथा सुत्केरी महिलाहरुलाई पोषण वितरण गरेको छ । हरेक वर्ष ६/६ महिनाको अवधीमा उक्त सामाग्री वितरण गरिदै आएको अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले बताए ।
जेष्ठ नागरिक सम्मान तथा तिर्थाटन, बालबालिकाहरुका लागि विविध कार्यक्रम, युवा तथा किशोर किशोरीहरुका लागि लक्षित कार्यक्रम लगायत वडामा हरेक वर्ग र क्षेत्रका नागरिकहरुका लागि हरेक वर्ष रचनात्मक कार्यक्रमहरु गरिएको अध्यक्ष तिमल्सिनाले बताए । पुर्वाधार निर्माणसँगै नागरिकहरुका हरेक सुखदुखमा वडा सरकार रहेको बताउँदै अध्यक्ष तिमल्सिनाले नवजात शिशु र सुत्केरी महिलाहरुका लागि वितरण गरिएको पोषण कार्यक्रम सन्देशमुलक रहेको बताए । चालु वर्षमा उक्त वडामा रहेका स्थायी बसोबास गर्ने ९ जना सुत्केरी महिलाहरुले एक÷एक किलो घिउ र एक क्रेट अण्डाका साथै न्यानो झोला प्राप्त गरेका छन् ।
गत वर्ष उक्त वडामा स्थायी बसोबास गरेका ३८ जना सुत्केरी महिलाहरुले उक्त सेवा लिएका थिए भने वडा भित्र रहेका ६४ जना महिलाहरुले गर्भवती तथा सुत्केरी महिलाको सेवा लिएको बखुण्डोल आधारभुत स्वास्थ्य केन्द्र इन्चार्ज हेमा संग्रौलाले बताईन् । ‘वडा तथा नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा बखुण्डोल आधारभुत स्वास्थ्य केन्द्र मार्फत विविध सेवा उपलब्ध गराईएको छ’–इन्चार्ज हेमा संग्रौलाले भनिन–‘आर्थिक वर्ष २०८१/२०८२ मा ७ हजार भन्दा धेरै सेवाग्राहिहरुले सेवा प्राप्त गरेका छन् ।’

एक वर्षको अवधीमा उक्त केन्द्र मार्फत ६४ जना गर्भवती तथा सुत्केरी महिलाहरुले सेवा लिएका छन् भने २ सय ५७ जना बालबालिकाहरुले पूर्ण खोप लगाएका छन् । ६ जनाले नियमित टिभी रोगको औषधी सेवन गरेका छन् । उनिहरुमा फोक्सोमा टिभी देखिएको छ । हरेक ब्यक्ति २१ वर्ष भन्दा कम उमेरका छन् । त्यस्तै आधारभुत स्वास्थ्य केन्द्र मार्फत ७ सय ६५ जनाको खकार संकलन गरिएको छ भने परिवार नियोजन सेवा ८२ जनाले लिएका छन् । गर्भपतन सेवा १४ जनाले लिएको इन्चार्ज संग्रौलाले बताईन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिमल्सिनाले वडा स्तरमा आवश्यक पर्ने विभिन्न खालका स्वास्थ्य शिविर तथा अन्य सेवाहरु उपलब्ध गराईरहेको बताए । यस अघि वडामा आँखा शिविर आयोजना गरिएको थियो ।
दन्त शिविरको आयोजना
पोषण वितरण कार्यक्रमसँगै वडा कार्यालयले दन्त शिविर आयोजना गरेको थियो । दन्त शिविरका लागि लियो क्लव अफ काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजको संयोजन रहेको थियो । संस्थापक अध्यक्ष डा. देवनारायण शाह, धुलिखेल स्वास्थ्य शाखाका प्रमुख सन्दिप केसी, वडा सदस्यहरु गोवद्र्धन थापा, कुमार थापा, सोना मंग्रान्ती, स्वास्थ्य शाखाका विभिन्न तहका कर्मचारीहरु, वडा कार्यालय तथा आधारभुत स्वास्थ्य केन्द्रका कर्मचारीहरुको सहभागिता रहेको थियो । शिविरमा डाक्टरहरु मेनुका भट्टराई, सजनी पौड्याल लगायतले सेवा दिएका थिए ।