पार्टी पुनर्गठन र रूपान्तरणका लागि मेरो उम्मेदवारीः पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावक बन्न आग्रह गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। पार्टी पुनर्गठन र रूपान्तरणका लागि अध्यक्षमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको उनले बताए ।

शक्तिमा होइन, विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु। पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारका रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु, उनले भनेका छन्, पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ। पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रूचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु ।

उनले ओलीलाई नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्न पनि भनेका छन्। पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,ु उनले भनेका छन्, ुअभिभावकीय भूमिकामार्फत् सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्छु।