कांग्रेस विवाद वारपारको विन्दुमा, सभापति देउवा र महामन्त्री आमनेसामने

by | मंसिर ९, २०८२

कांग्रेस विवाद वारपारको विन्दुमा, सभापति देउवा र महामन्त्री आमनेसामने

कांग्रेसले आगामी निर्वाचनमा सभापति शेरबहादुर देउवाले नै टिकट वितरण गर्ने गरी निर्वाचन आयोगमा दल दर्ता गरेपछि महाधिवेशनको विवाद अब वारपारको विन्दुमा पुगेको छ । यसैबाट निर्णय लिन बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।

कांग्रेसले आइतबार सभापति देउवाको नाम राखेर उनको हस्ताक्षरको नमुनासहित दल दर्ताको निवेदन आयोगमा बुझाएको थियो । आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचन, २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन भएन भने यी दुवै निर्वाचनमा उम्मेदवारको टिकट वितरणमा देउवा नै हाबी हुनेछन् । त्यसैले पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निर्वाचन अघि नै महाधिवेशन गराउन थप दबाब बढेको छ । त्यसैका लागि महाधिवेशन पक्षधर नेताहरूले बुधबार राजधानीमा विशेष भेला समेत आयोजना गर्दैछन् ।

विशेष महाधिवेशनको निर्णय लिन पार्टीलाई दबाब दिने उद्देश्यले हस्ताक्षरकर्ता प्रतिनिधिहरू र जिल्ला सभापतिहरूको भेला बोलाइएको अभियन्ताका नेता देवराज चालिसेले बताए ।

महामन्त्रीहरू निर्वाचन अगाडि महाधिवेशन गर्न सभापतिमाथि दबाब बढाइरहेका बेला देउवा भने नियमित र विशेष दुवै महाधिवेशन टारेर फेरि पनि सत्ता–राजनीतिको केन्द्रमा बस्न अग्रसर देखिएका छन् ।