काभ्रेली पत्रकारितामा ‘मदानी विट’
विनोदकुमार न्यौपाने
अध्यक्ष:नेपाल पत्रकार महासंघ, काभ्रे
दुई वर्षअघि काभ्रेली पत्रकारिता क्षेत्रमा एउटा अनलाइन सञ्चारमाध्यमको उदय भयो । पछिल्लो समय लगातार अनलाइन सञ्चारमाध्यमहरुको जन्म भइरहेको समयमा उदाएको अनलाइनको नाम थियोः मदानीबीट डटकम ।
हाम्रो समाजसँग परिचित तर मिडियाको क्षेत्रमा भने नौलो नाम थियो मदानी । दही मथल्न प्रयोग गरिने मदानीको प्रतीकात्मक स्वरुपलाई प्रयोग गरेर स्थापना भएको अनलाइन हो मदानीबीट डटकम । दुई वर्ष पुरा गरेर तेस्रो वर्षको यात्रामा अघि बढिरहँदा मदानी बीट अनलाइन न्यूज पोर्टलमात्र होइन, यो काभ्रेको सामाजिक, राजनीतिक र आर्थिक संरचनालाई गहिराइदेखि विश्लेषण गर्ने, सत्यको सार निकालेर समाजलाई प्रस्तुत गर्ने एक किसिमको ‘मन्थनशाला’ बनेको छ । जसरी मदानीले दहीलाई मन्थन गरी घिउ निकाल्ने काम गर्दछ, यसैगरी मदानी बीटले सतही समाचारका बीचबाट तथ्यको घिउ निकालेर समाजलाई प्रस्तुत गर्ने काम गरिरहेको छ ।
काभ्रेपलाञ्चोक नेपालको एउटा त्यस्तो जिल्ला हो, जहाँ इतिहास, संस्कृति, भूगोल र समाजको विविधता जति छ, त्यति नै छ त्यहाँका समस्या, सम्भावना र संघर्षका आयामहरू पनि यो जिल्लामा रहेका छन् । तर यिनै विविधताभित्र लुकेका कथाहरू धेरै समयसम्म मुलधारका मिडियाले पूर्ण रूपमा उजागर गर्न नसकिरहेको गुनासो आइरहन्थ्यो । स्थानीय मुद्दा, सरकारी योजनासम्बन्धी अनियमितता, नागरिक सरोकार, सांस्कृतिक पहिचान र सामाजिक जीवनका नजिरहरू प्रायः सतही रूपमा मात्रै प्रस्तुत हुन्थे । यही रिक्त ठाउँलाई भरिदिनको लागि पछिल्लो समय काभ्रेली पत्रकारितामा एउटा नयाँ नाम स्थापित भएको छ— ‘मदानी बीट डटकम’ ।
अनलाइन मिडियाहरुको भीडमा मदानी बीट सामान्य अनलाइन मिडियाको रूपमा मात्रै अघि बढेको छैन । यसले काभ्रेको पत्रकारितालाई नयाँ दिशानिर्देश दिने, स्थानीय आवाजलाई प्रभावकारी रूपमा उठाउने, तथ्यपूर्ण खोजबिनमा जोड दिने र जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्ने माध्यमको रूपमा स्थान पाउँदै गइरहेको छ । नाममा ‘बीट’ ले जनाउने ‘गहिरो अनुसन्धान’ को अर्थले यसलाई अन्य स्थानीय पोर्टलहरूभन्दा पृथक बनाएको छ । स्थानीय भित्ताहरूमा कैद ज्ञान, असन्तुष्टि, आशा र बदलिँदा दस्तावेजहरूको संकलनस्थल बन्न खोजिरहेको यो माध्यम अहिले जिल्ला पत्रकारिताको उदीयमान मेरुदण्डजस्तै बन्दै गएको छ ।
काभ्रेको समग्र भूगोल—तेमालको उकालो–ओरालो, रोशीखोलाको फाँट,बेथानचोकका डाँडाकाँडा, पाँचखालको शहरी विस्तार—सबैतिर आफ्ना–आफ्नै समस्या र सम्भावना छन् । तर यिनै क्षेत्रका मुद्दाहरू प्रायः राजधानीमा केन्द्रित मिडियाहरुको प्राथमिकतामा पर्दैनन् । मदानी बीटले यही खालको ‘अनकभर्ड स्पेस’ लाई केन्द्रमा राख्दै आफ्नो पत्रकारिता अघि बढाएको छ । स्थानिय विकास योजनामा देखिने ढिलासुस्ती, सरकारी सेवामा देखिने लापरबाही, विद्यालयहरूमा शैक्षिक गुणस्तर कमजोर हुँदै जाने अवस्था, कृषकका पीडा, बस्ती–बस्तीका आधारभूत समस्याहरू, पर्यावरणीय क्षति जस्ता विषयलाई मदानी बीटले जस्ताको तस्तै प्रस्तुत गर्दै आएको छ । स्थानीय बासिन्दाको समस्यालाई उनीहरूको आवाजमै लेखिने मानवीय शैलीका रिपोर्टहरूले काभ्रेको पत्रकारिताभित्र नयाँ प्राण भरेको छ ।
काभ्रेमा सरकारी योजना, सडक–पुल निर्माण, खानेपानी आयोजनादेखि बजेट विनियोजनसम्मका प्रक्रियामा देखिने असमानता र अव्यवस्थालाई उजागर गर्ने काम कठिन छ । तर मदानी बीटले पछिल्लो समय यस बाधालाई चुनौती दिएको छ । राजनीतिक शक्तिको आडमा हुँदै आएको प्राकृतिक स्रोतको अवैध दोहन, अनियमित ठेक्का प्रक्रिया, सार्वजनिक निकायमा हुने गरेका सेवामा ढिलासुस्ती लगायतका कयौँ मुद्दामा यसले सशक्तरुपमा वास्तविकता प्रस्तुत गर्दै स्थानीय प्रशासन र जनप्रतिनिधिलाई जवाफदेही बन्न बाध्य बनाएको उदाहरण पनि देखिन्छ । पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, सत्यको खोज र नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि हो भन्ने मान्यतालाई मदानी बीटले व्यवहारमा उतारिरहेको छ ।
अझ २०८२ भदौ २३ गते र २४ गते भएको जेन्जी आन्दोलनपछि छाएको अराजकताविरुद्ध मदानी बीट निडर रुपमा उभिएको छ । धाकधम्की र चेतावनीबीच मदानीबीटले लगातार अराजकता मच्चाउनेविरुद्ध आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिहेको छ ।
पत्रपत्रिका र रेडियो टेलिभिजनलाई भौगोलिक सीमाहरुले नियन्त्रण गर्दछन् । आम नागरिकमाझ यी सञ्चारमाध्यमको पहुँच पुग्न अलि मुस्किल नै रहेको छ । तर, पछिल्लो समय अनलाइनको पहुँचले मदानी बीटलाई भौगोलिक सीमाभन्दा बाहिर पु¥याएको छ । काभ्रे बाहिर बसेका हजारौँ प्रवासी नेपाली—विशेषगरी काभ्रेली समुदाय—यसलाई आफ्नै गाउँ, ठाउँ र परिवारसँग जोडिने मुख्य माध्यमका रूपमा हेर्न थालेका छन् । फेसबुक, युट्युब, टिकटकलगायतका प्लेटफर्ममा मदानी बीटका सामग्रीहरू लोकप्रिय हुँदै गएको देखिन्छ । समाचारसँगै स्थलगत भिडियो रिपोर्टहरुले डिजिटल प्रयोगकर्तालाई अझ नजिक ल्याएको छ । भौगोलिक दूरी हटाउँदै काभ्रेको जीवनशैली, समस्या, संस्कृति र परिवर्तनका यात्रा विश्वका कुनाकाप्चासम्म पु¥याउने काम मदानी बीटले सशक्त रूपमा गरिरहेको छ ।
पछिल्लो समय मिडियाहरु राजनीतिक र विकासमा मुद्दामा मात्रै बढी केन्द्रित हुन थालेका छन् । काभ्रे जिल्लामा अनगिन्ती सांस्कृतिक मूल्य, परम्परा, लोककथा र पहिचानसँग जोडिएका तत्वहरू छन् । तेमाल क्षेत्रको तामाङ संस्कृति, पनौती, बनेपा जस्ता पुराना शहरहरुको ऐतिहासिक परिवेश, मण्डन र पाँचखालको कृषि परम्परा, धुलिखेल, बेथानचोकको पर्यटकीय महत्व महाभारत र खानीखोलाबासीले भौगोलिक विकटताकाबीच गरिरहेको संघर्ष र सफलताको कथा जस्ता विषयहरूलाई मदानी बीटले प्राथमिकता दिनुपर्छ भन्ने मलाई लाग्दछ ।
जिल्लामा रहेर सञ्चारमाध्यम सञ्चालन गर्नु चुनौतीपूर्ण काम हो । विज्ञापनको कमी, सीमित स्रोत, जनशक्ति अभाव, राजनीतिक–आर्थिक दबाबजस्ता चुनौतीहरू मदानी बीटले पनि भोगिरहेको छ । अनलाइन पत्रकारितामा फेक न्यूज, क्लिकबेट प्रवृत्ति बढिरहेको समयमा एक जिम्मेवार अनलाइन मिडियामाथि आम पाठकको विश्वास जित्नुपर्ने जिम्मेवारी झन् बढेर आएको छ । तर यी चुनौतीलाई चिर्दै मदानी बीट अघि बढोस् । मदानी बीटको नेतृत्व गरिरहनुभएका नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष मोतीराम तिमल्सिनासहितको टिम, यसका पाठक, शुभेच्छुक र विज्ञापनदता सबैमा हार्दिक बधाई एवं थप प्रगतिको हार्दिक शुभकामना ।





