अनलाइन पत्रिकाहरुमा चुनौतीका पहाड
नेपाली अनलाइन मिडियाको बाढी छ । गाउँ–गाउँ र टोल–टोलसम्म सामाजिक सञ्जालका प्रयोगकर्ताको बृद्धि भएसँगै कुना कन्दराका खबरहरू समेत छिनको छिनमा फैलिई जाने जमाना छ ।
अथवा मान्छे–मान्छेका हात–हातमा खबरका मेसिनहरू छन् । अब त अझ एआई रे !
अनलाइनका बाढीले हुत्याएका कतिपय खबरका छालहरूका भने दिशा स्पष्ट पनि छैनन् । यसै पनि समाचारप्रधान एउटा अनलाइन पत्रिका समक्ष चुनौतीका पहाड छन् । त्यहिमाथि मिडिया आफैँ कति स्पष्ट, गम्भीर र भरपर्दा छन् भन्ने प्रश्न जटिल छ । ती चुनौतीहरूसँग भिड्दै मदानी बीटले सफलताको तेश्रो बर्षमा उँभो लाग्यो भन्ने थाहा पाउँदा एक सञ्चार–सुभेच्छुक हुनुको नाताले खुशी नहुने कुरै भएन ।
जिल्लामा निकै वर्ष पहिलादेखि पत्रकारितामा सक्रिय तिमल्सिना दाजुभाइ मोतीराम र लक्ष्मण निकै जुझारू लाग्छन् मलाई । मोफसलको चेष्टा र राजधानीको नेपाल समाचारपत्रको लामो छापा अनुभव तथा विभिन्न रेडियो र टेलिभिजनका अडियो, भिडियो पत्रकारिताको अनुभवबाट खारिएर आफ्नै मदानी बीट थालेका यी दाजुभाइले यसबाट पनि लामै यात्रा गर्छन् भन्ने मलाई विश्वास थियो र छ । यसको आधार भन्नु नै उनीहरूको कर्म हो । उनीहरूको कामप्रतिको प्रतिबद्धता हो । उनीहरूको समयसँग चल्न जान्ने सिप र कला हो ।
प्रत्यक्ष जोडिए पनि नजोडिए पनि मैले काभ्रे जिल्लाबाट प्रकाशित र सञ्चालित सबैजसो पत्रिका र अनलाइनहरू चासो पूर्वक हेरिरहेको हुन्छु । परदेश आएदेखि त झन् घर छेउछाउका आधिकारिक खबरका लागि भए पनि खोजीखोजी पढ्नै प¥यो । यस क्रममा मैले मदानी बीटलाई पनि स्थापना कालदेखि नै फलो गरिरहेको छु । बेला बेलामा आफ्ना फुटकर रचना र संक्षिप्त समाचारहरू पनि प्रकाशनका लागि दिएको छु । मदानी बीटसँग म पनि नजिकै छु ।
जिल्लाबाट सञ्चालित थुप्रै अरू अनलाइनहरू भन्दा मदानी बीट चाँडै फैलिएको अनुभव गरेको छु । स्थानीय सँगसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय खबरहरू मदानी बीटमा समय सापेक्ष अपडेट भइरहेका पाएको छु । मूलधारका भनिने ठूला मिडियाहाउस र तिनका श्रोतले दिएका समाचारका झण्डैझण्डै हाराहारीमा पुगेर पाठकहरूलाई खुराक पस्कने जमर्को गरिरहेको पाएको छु । मदानी बीट परिवारलाई बधाई दिन चाहन्छु ।
समय सँगैसँगै अनलाइन पत्रकारिता पनि अपग्रेड चाहिँ हुनु पर्ने देख्छु । मान्छेकै पेशा र अस्तित्वलाई चुनौती देला झैँ गरी आएको एआई प्रविधिले अबको अनलाइन पत्रकारितालाई पनि धरासायी बनाउने पो हो कि, यो पिरलो पनि बढेको छ । एआईबाट आफूहरू विस्थापित नहुन बरू उसैलाई प्रयोगमा ल्याएर अझ जाग्दो र फष्टाउँदो गरी चल्न जान्नु पर्ने समय आएको छ । आशा गर्छु, मदानी बीट यसप्रति सजग र सचेत छ ।
पत्रकारिता निष्पक्ष हुनु अति जरूरी छ । यो पाठक प्रति न्यायको हिसाबले मात्र नभई पत्रकारिताको आफ्नै धर्म र जिम्मेवारीको हिसाबले पनि जरूरी छ । तर, विकाशोन्मुख देशहरूमा पत्रकारिता माथि राजनीतिको प्रभाव ज्यादा नै देखिन्छ । राजनीतिक दल र मिडिया दुवैले आ–आफ्ना स्वार्थका लागि निष्पक्षता पोलेर खाए जस्तो लाग्छ । यसले सही सत्य र कतिपय अवस्थामा न्यायमाथि कुठाराघात गर्दछ ।
मदानी बीटले समातेको लय हेर्दा यो निष्पक्षताकै धारमा बग्दै गरेको भान त हुन्छ । तर यसका सञ्चालकका विगतका आवद्धताहरूले पाठकको हेर्ने नजरिया भने अझै बदलिन नसकेको जस्तो कहीँ कतै भेटिने प्रतिक्रियाहरूले अझै देखाउने गरेका छन् । सुझावका रूपमा लिनुभएमा त्यो आरोप आरोप मात्रै नभएर अवसरको सूचक पनि हो । यसको जवाफ मोतिराम जी र टीमले कामबाट नै दिनुपर्छ । आगामी दिनमा कर्महरूले भ्रम र यथार्थ बिचको त्यो खाडल पुर्न सक्नुभयो भने मदानी बीटको फड्को अझै लामो हुनेछ ।
अनलाइन मिडियाको बाढीमा मिसिएर मदानी बीटले चाहिँ फोहोर र धमिलो पानीका छिटा आफूमा नपारोस् ! सङ्लै बगोस्, कलकल बगोस् ! हार्दिक शुभकामना !
(कोपन्हेगन, डेनमार्क)





