मदानी बिटको दुई वर्षः स्थानीय मुद्दा प्राथमिकतामा, बेथिति र अराजकताविरुद्ध निर्मम

विकास तिमल्सिना
सह–सम्पादक मदानी विट डट कम

पत्रकारिता समाजको ऐना हो । समाजमा जे छ, त्यो देखाउनु सञ्चार माध्यमको कर्तव्य हो । त्यसमा पनि स्थानीय मुद्दा सञ्चार माध्यमको मेरुदण्ड हो । शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, उद्यमशिलता, पर्यटन, वातावरण संरक्षण, मानव अधिकारीको वास्तविक अवस्था सञ्चार माध्यमले जस्ताको तस्तै उजागर गर्नु सञ्चार माध्यमको मर्म हो, जिम्मेवारी हो । तर राष्ट्रिय मुद्दा, राजनीति र विकास पत्रकारितामा मात्रै केन्द्रित सञ्चार माध्यमले स्थानीय स्तरमा भइरहेका घटना, नागरिकको आवाज, कुनाकन्दराका खबर, स्थानीयस्तरका सम्भावना र चुनौतीलाई समेट्न नसकेको गुनासो छ । अर्थात हाम्रो कुरा मिडियाले सुनेनन् भन्ने गुनासोलाई सम्बोधन गर्न काभ्रेबाट मदानी विट अनलाइन सञ्चालन गर्ने निर्णय भयो । सोहि अनुसार २०८० मंसिर ११ गते मदानी विट डट कमको शुभारम्भ गरियो ।

हरेक सुचनाको मन्थन, पारदर्शिता र निश्पक्षताको प्रवद्र्धनको मुल मर्म आत्मसात गर्दै सुरु गरिएको मदानी बिट आजबाट तेस्रो वर्ष प्रवेश गरेको छ । यो दुई वर्षमा मदानी बिटले स्थानीय सरोकारका मुद्दालाई प्राथमिकता दिएको छ । त्यहि कारण पनि जनजनमा मदानी विट विश्वास, आस्था र भरोसाको पर्याय बनेको छ ।

संघीय राजधानी काठमाडौंबाट नजिकै रहेको काभ्रेपलाञ्चोक प्रचुर पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । धुलिखेल, नगरकोट, नमोवुद्ध, बेथानचोक, तेमाल, रोशी पर्यटकीय क्षेत्रको रुपमा परिचित छन् । यी क्षेत्रको सम्भावना र चुनौती मदानी विटको प्राथमिकतामा पर्यो ।

नागरिक आवाज र विकासका सकारात्मक पहल प्राथमिकतामा
पनौतीको सुन्थान र शंखुका सुन्तालाबारीका किसान, खोपासीको फाँटमा झुलिरहेका धान, महाभारको कफीसँग रमाइरहेका कृषक हाम्रो पहिलो खबर बने । विकटलाई निकट बनाउन दिनरात खटिइरहेका महाभारत र खानीखोलाका गाउँपालिका, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नेपालकै पहिलो स्वास्थ्य शहर बनेको धुलिखेलकाका, उद्यमशीलतामा जोड दिइरहेको बनेपा नगरपालिका, रैथाने बालि संरक्षणमा लागेको भुम्लु गाउँपालिका, कृषिमा नयाँ नयाँ प्रविधि भित्र्याइरहेको पाँचखाल र मण्डनदेउपुर नगरपालिका, व्यवसायीक कृषि र पर्यटनमा सम्भावना खोजिरहेको बेथानचोक गाउँपालिका, बढ्दो बसाईसराई रोक्ने उपाय खोज्दै गाउँमै सम्भावना देखाइरहेको चौंरीदेउराली गाउँपालिका, लोपोन्मुख जातजाति हायु लगायत तामाङ संस्कृति संरक्षणमा जोड दिइरहेको रोशी गाउँपालिका, इतिहास बोकेर अग्लो डाँडामा उभिरहेको तेमाल गाउँपालिका हाम्रो समाचारको मुख्य स्रोत बने । स्थानीय तहले सार्वजनिक गर्ने नीति तथा कार्यक्रमको गहिराइमा पुगेर समाचार पस्किरह्यौं ।

देशकै पहिलो सहकारी बनेपामा स्थापित भएको सुचनाका आधारमा तथ्य खोज्दै वास्तविकता उजागर गर्यौं । भालेश्वर, इन्द्रेश्वर, धनेश्वर, नमोवुद्ध, कुशेश्वर, कालेश्वर, डोलेश्वर मन्दिरको इतिहास खोतल्दै धार्मिक र ऐतिहासिक महत्वको खोजी गर्यौं । चण्डेश्वरी जात्रा, पनौती जात्रा, नमोवुद्ध जात्रा लगायतका मेला पर्वको ऐतिहासिकता, संस्कृति संरक्षण र हस्तान्तरणका लागि भइरहेका प्रयास बारे निरन्तर जानकारी गराइरहेका छौं ।

सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि भइरहेका असल अभ्यासलाई प्राथमिकता दिएर हौसला बढाई रह्यौं । कमजोरी औंल्यायौं । निजी विद्यालयले शैक्षिक प्रदर्शनी, अभिभावक भेला, खेल सप्ताह मार्फत गरेका नविनतम विषयलाई महत्वपूर्ण स्थान दियौं ।

विपत्तिमा सञ्चार माध्यमको कर्तव्य भुलेनौं
विपत्ति शब्दैबाट प्रस्ट छ की यो आपतविपतको समय हो । यो समयमा पत्रकार आफैं पनि जोखिममा हुन्छौं । यो समयमा आफ्ना पारिवारीक खुसी छाडेर आत्मविश्वासका साथ रिर्पोटिङका खटिनुपर्छ । यो समयमा एक त प्रभावित क्षेत्रमा पुग्नै कठिन हुन्छ । बल्लतल्ल ती क्षेत्रमा पुग्दा अवस्था दयनीय हुन्छ । कहाँबाट सुरु गर्ने, के गर्ने ? तर पनि आफ्नो पेशागत कर्तव्य सम्झँदै स्थानीयसँग कुराकानीको सुरुवात हुन्छ । आँखाभरी आँसु, भक्कानिएको मन, निराशाको अनुहारमा केहि आशा जगाउँदै कुराकानी गर्नुपर्ने बाध्यता हामी सामु छ ।

गत वर्ष असोज १०–१२ को विनाशकारी बाढीपहिरोले जिल्लामा विध्वंश मच्चायो । रोशी खोला आसपास, बेथानचोक बढी प्रभावित बने । बाढीपहिरोले आक्रान्त बनेका जिल्लावासीमा थप जोखिम हुन नदिन सहि सुचना प्रवाह गर्ने, उद्दारका लागि सम्बन्धित निकायमा सुचना पुर्याउने पुलको काम गरिह्यौं । विपत्तिको लामो समयसम्म राहत, पुर्नस्थापनाका कार्य नभएको विषयमा प्राथमिकताका साथ समाचार प्रकाशन प्रशारण गयौं ।

पनौती–१२ रोशीमा रिपोर्टिङमा पुग्दा एक प्याकेट चाउचाउसम्म नलिई आएको भन्दै पीडाले आक्रोशित बनेका स्थानीयको गाली खायौं । बल्लतल्ल बाटो खुलेपछि मंगलटार पुग्दा बाढीगएको १० दिनपछि आउने हो भन्दै ? सडकमा अलपत्र परेका चालक सहचालकको आक्रोशित रुपलाई शान्त बनाउँदै कुराकानी गर्यौं । लगभग जिल्लाका सबै क्षेत्रमा पुगेर स्थलगत रिपोर्टिङ मार्फत वास्तविक अवस्था जानकारी गरायौं ।

बेथिति र अराजकता विरुद्ध निर्मम
पारदर्शिता र निश्पक्षता हाम्रो मुल मर्म हो । यसबाट हामी बिचलित भएनौं, हुनेछैनौं । मदानी बिटले दुई वर्षको अवधिमा दर्जनौं विकृति र बेथिति उजागर गरेको छ । खानीखोलामा जात्रामा नक्कली पैसाको कारोबारको भएको विषय, विपत्तिमा निर्माणका नाममा भएको अनियमितता, न्यायालयले नै गरेको अन्याय, शक्तिको आडमा क्रसर खानीले मच्चाएको आतंक बारे अनेक धम्कीका बीच हाम्रो यात्रा रोकेनौं । खबरदारी गरिरह्यौं ।

गत भदौमा जेनजी आन्दोलनका नाममा काभ्रेमा पनि अराजकता मच्चियो । बनेपा नगरपालिकाको भवन जल्यो, प्रहरीका भवन र ट्राफिक विट जले, जनप्रतिनिधिका बस्ने घर खरानी भयो । पार्टी कार्यालयहरु ध्वस्त भए । यस्ता गतिविधि आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई विगतका पृष्ठभूमी सहित सार्वजनिक गर्यौं । धम्की र त्रासबाट विचलित नभई अराजकता मच्चाउनेविरुद्ध लागिरह्यौं । हामीले समस्या मात्रै देखाएनौं, सकारात्मक परिवर्तन लाई समाचारमा समेटेर आशा भरोसा र प्रेरणा जगाउने प्रयास गर्यौं ।

फिल्ड र डेक्समा अपनाइएको सावधानीले थपेको भरोसा
पत्रकारिता हतारको साहित्य पनि हो । फिल्डमा पुग्दा वास्तविक अवस्था छिटो भन्दा छिटो डेक्समा पठाउने हतार हुन्छ । डेक्समा हुँदा प्राप्त सुचनालाई समाचार मार्फत छिटो भन्दा छिटो पाठक, दर्शक सामु पुर्याउने हतार हुन्छ । धेरै समाचारमा कुनलाई पहिलो प्राथमिकता दिने भन्ने अर्को अन्योल हुन्छ । प्राप्त सुचनाको भेरिफाई, शब्द चयनमा सावधानी, उपयुक्त हेडलाइन अर्को महत्वपूर्ण विषय हो । यी विषयमा संवेदनशिल भएर सामाग्री प्रकाशन प्रशारण गरिरहेका छौं । पाठक, दर्शको सुझावलाई मार्गदर्शनका रुपमा ग्रहण गरेका छौं । हामलिाई थाहा छ, कुनै समयसिमा र स्थानमा सिमित हुने छुट हामीलाई छैन । विहान सबेरैदेखि, मध्यरातसम्म पछिल्लो परिस्थिती, समसामयिक घटनाबारे निरन्तर जानकारी गराइरहेका छौं ।

नयाँ नयाँ प्रविधिसँगको घुलमिल
तेस्रो वर्ष प्रवेशसँगै केहि नयाँ र परिस्कृति सामाग्री प्रस्तुत गर्ने जमर्को सहित तयारी गरिरहेका छौं । पाठन, दर्शकको रुची अनुसारका सामाग्री, खोजमुलक समाचार, लुकेका र लुकाईएका खबर हाम्रो प्राथमिकतामा छ । प्रविधिको विकास र स्क्रिनमा रमाउने युवाहरुलाई लक्षित गर्दै केहि फरक विषयवस्तु प्रशारण गरिरहेका छौं ।

विश्वासले दिएको उत्साह
अनलाइन सुरुवात गर्दा धेरैको प्रश्न थियो, सामाजिक सञ्जालका कारण अब अनलाइन चल्छ होला र, यति धेरै अनलाइन छन् बजार छैन, टिक्न गाह्रो छ । जिल्लामा सञ्चालन भएको अनलाइन कसले हेर्छ र ? तर अनुभवी टिमको मेहनत र निरन्तरको सक्रियताले यो सबै गलत सावित गरिदिएको छ ।

यो सबै समस्याको एउटै समाधान विश्वास हो । तथ्यमा आधारित समाचार, गुणस्तरीय सामाग्री, स्थानीय मुद्दामा केन्द्रित विश्वासको आधार हो । मदानी बिटले दुई वर्षको अवधिमा यहि विश्वास कमाएको छ । यो अवधिमा हामीले यस्ता धेरै पाठक, दर्शक, विज्ञापनदाताको मन जितेका छौं, जो हाम्रो सुख दुःखमा सँगै हुनुहुन्छ । उहाँहरुको विश्वासबाट हौसिने भन्दा जिम्मेवार धेरै भएका छौं ।

अन्त्यमा आफ्नै कुरा…..
मदानी बिटसँगको दुई वर्ष अविष्मरणीय रह्यो । यो अवधिमा करिव आधा समय डेक्समा र आधा समय फिल्डमा रहेर काम गरेँ । दुवै क्षेत्रको फरक फरक अनुभव छ । दुवै क्षेत्रको अनुभवलाई एकै शब्दमा भन्नुपर्दा मदानी बिटले कर्तव्य सिकाएको छ । विपत्तिमा सबैभन्दा माथी पेशा हुन्छ भन्ने अर्थ वुझाएको छ । गलत सुचनाको बाढीबाट बच्न सिकाएको छ । चुनौतीपूर्ण समयमा रिपोर्टिङ गर्न सिकाएको छ । असहज परिस्थितीमा जीउन सिकाएको छ । जिम्मेवार पत्रकारिताको महत्व वुझाएको छ । समयको व्यवस्थापन सिकाएको छ । नयाँ नयाँ प्रविधिमा अभ्यस्त बनाएको छ । धेरै जनासँग परिचित हुने अवसर पाएको छु ।

विहान झिसमिसेमै उठेर रिपोर्टिङमा दौडेको अनुभव छ, मध्यरातमा घर पुगेको छु । विपत्तिमा प्रभावित क्षेत्र पुग्दा समाचार संकलन, प्रकाशन, प्रशारणमा संयमता अपनाउनुपर्छ भन्ने ज्ञान एउटा गलत समाचारले कति असर गर्छ भन्ने कुराबाट भोगेको छु । समग्रमा भन्नुपर्दा मदानी बिट मेरो लागि पत्रकारिता र जीवन सिकाउने विश्वविद्यालय हो । दुई वर्षको अनुभव र हजुरहरुकै मार्गदर्शनले थप उर्जा थपेको छ भने पत्रकारितामा भविष्य देखेको छु ।