मदानी विटसँगका दुई वर्ष: जिम्मेवारी, यात्रा र आत्मविश्वास
धादिङ र काठमाडौंमा एक दशकभन्दा बढी मिडियाका विभिन्न जिम्मेवारी सम्हालेपछि जब म काभ्रे आएँ, जीवनले नयाँ मोड लियो । जीवनले लिने हरेक मोडहरु नयाँ नै हुन्छन् । तर पनि मेरो जीवनमा त्यो अर्काे नयाँ मोड थियो । जब म यहाँ आएर मदानी विट र प्राइम एफएममा जोडिएँ । यही ठाउँबाट सुरु भयो मेरो नयाँ यात्राको अर्को अध्याय ।
मदानी विट, जसलाई म आज केवल ‘कार्यस्थल’ भनेर होइन, मेरो सिकाइको थलो भनेर वर्णन गर्छु । यो न्युज पोर्टलले शुरुवाती दिनदेखि नै मलाई सामेल गरायो—विश्वास ग¥यो— र जिम्मेवारी दियो । सह–सम्पादकको भूमिकामा हुँदा मैले पत्रकारिता केवल कागजमा पढ्ने कुरा नभई दैनिक अभ्यास, निर्णय, अनुशासन र निरन्तर स्वयं–अपग्रेड हुने प्रक्रिया हो भन्ने राम्रोसँग बुझें ।
दुई वर्षको समय धेरै लामो नलागे पनि यसले मलाई जीवन र पेशा दुबैको असली अर्थ बुझायो । एकातिर डेक्समा ब्रेकिङ न्यूजको हतार, अर्कोतिर घरको जिम्मेवारी— यी दुई भूमिकाबीचको सन्तुलन आफैँमा एउटा पाठशाला बन्यो ।
यी दुवै जिम्मेवारी समयको सही व्यवस्थापन, दैनिक अनुशासन र परिवारको पूर्ण साथबिना सफल हुनै सक्दैन भन्ने मैले मेरो पत्रकारिता करियरमा सिकेकी छु । मजस्तै धेरै कामकाजी महिलाका लागि करियर र मातृत्वलाई सन्तुलनमा राख्नु ठूलो चुनौती हो । तर, मैले बुझेकी छु— ‘क्वालिटी टाइम’, ‘क्वान्टिटी टाइम’ भन्दा बढी महत्वपूर्ण हुन्छ ।
मेरो दैनिकी हरेक दिन बिहान ४ बजेबाट सुरु हुन्छ । यो समय (४ः४५ देखि ६ः३० सम्म) मेरो लागि सबैभन्दा महत्वपूर्ण ‘मे–टाइम’ आफ्नो समय हो । योग र ध्यान मेरो दिनको सुरुवात नै शरीर र मनलाई रिचार्ज गरेर हुन्छ । बिहानको १ घण्टा १५ मिनेट योग र ३० मिनेट ध्यान गर्दा डेक्सको काममा आउने तनाव र हतारलाई व्यवस्थापन गर्न ऊर्जा मिलेको छ । पत्रकारिताको दौडधूपमा धैर्य र शान्त रहन यसले ठूलो सहयोग गरेको छ ।
मैले आफ्नो कामलाई सहज रूपमा अगाडि बढाउन सक्नुको मुख्य श्रेय मेरो श्रीमान् सुदन थापालाई जान्छ । हाम्रो साझेदारी बिना यो सन्तुलन सम्भव थिएन । बिहान ६ः३० पछि जब म योग गरेर फर्कन्छु, खाना पकाउँदै अनलाइनको अपडेट गर्ने काम गर्न थाल्छु । बाबुलाई स्कूलको लागि तयार गर्ने जिम्मेवारीमा श्रीमानमो निरन्तर समन्वय र सहयोग हुन्छ । बाबुको ‘होमवर्क’ हेर्नेदेखि उसलाई स्कूल पु¥याउनेसम्मको काममा उहाँको सक्रिय भूमिका छ ।
मैले पाएको सबैभन्दा ठूलो सहयोग नै ‘जिम्मेवारीको साझेदारी’ हो । जब बाबुको हेरचाहमा श्रीमानको साथ हुन्छ, म ढुक्क भएर डेक्सको काममा ध्यान दिन सक्छु । बिहान ९ बजेदेखि ३ बजेको न्युजसम्म म प्राइम एफएममै हुन्छु । त्यो समय न्यूज पोर्टलको डेक्समा बस्दा समयको व्यवस्थापन चुस्त हुनुपर्छ । डेक्स सम्पादकको रूपमा, मेरो जिम्मेवारी ब्रेकिङ न्यूजको प्रकाशन, फ्याक्ट चेकिङ र साथीहरुसँग समन्वय गर्ने हुन्छ ।
डेक्समा बस्दा मैले घरको चिन्तालाई काममा प्रवेश गर्न दिन्नँ र कामलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्छु । बिहान सबेरै देखि डेक्समा काम गरे पनि बेलुकाको मेरो समय पूर्ण रूपमा बाबु र परिवारका लागि समर्पित गर्छु । साँझको समयमा फोन र ल्यापटपलाई सकेसम्म पर राखेर बाबुसँग खेल्ने, कुरा गर्ने र खानेकुरा बनाउने काममा ध्यान केन्द्रित गर्छु ।
मेरो सफलताको सूत्र सरल छ: बिहान आफूलाई रिचार्ज गर्ने, दिनभर काममा शतप्रतिशत दिने र साँझ परिवारलाई शतप्रतिशत दिने । कामकाजी आमाहरूले बुझ्नुपर्छ— हामी दोषमुक्त भएर काम गर्न सक्छौं, यदि परिवारको साथ र व्यक्तिगत अनुशासन कायम गर्न सकियो भने । न्यूज डेक्समा समाचारको ‘डेडलाइन’ पूरा गर्न जति महत्वपूर्ण हुन्छ, त्यति नै महत्वपूर्ण परिवारलाई समय दिनु पनि हो । मेरा लागि, यी दुवै जिम्मेवारीहरू समान छन् र दुवैलाई प्रेम र समर्पणका साथ पूरा गरिरहेकी छु ।
न्युज पोर्टलको न्युज डेस्कमा सह–सम्पादकको भूमिकाले मलाई पत्रकारिताको वास्तविक चहलपहल, दबाब र दायित्व कति गम्भीर हुन्छ भन्ने गहिरो अनुभव दियो । दुई वर्षको अवधिमा मैले समाचारको गति, सही निर्णय लिनुपर्ने क्षण, पाठकको भरोसा कति मूल्यवान् हुन्छ, अनि डिजिटल पत्रकारिता कति द्रुत र प्रतिस्पर्धात्मक छ भन्ने कुरा नजिकबाट बुझें ।
डेस्कमा बस्नेबित्तिकै दिनको सबैभन्दा महत्वपूर्ण निर्णय—कस्तो समाचारलाई प्राथमिकता दिने ? कुन एङ्गलमा प्रस्तुत गर्ने ? कुन हेडलाइन पाठकलाई आकर्षक र तथ्यसम्मत दुवै हुने ? यही प्रश्नहरूले दिनभर व्यग्र राख्थे । सह–सम्पादकको भूमिकाले सामग्री छनोटमा अत्यन्त सावधानी अपनाउन सिकायो । एउटा गलत शब्द, एक लाइनको गलत तथ्य वा कमजोर हेडलाइनले समग्र पोर्टलको विश्वास घटाउन सक्छ भन्ने कुराले मलाई सधैं सचेत बनायो ।
अत्यन्त द्रुत गतिमा खबर आउँथे—साथीहरुको फाइल, एजेन्सीको फीड, सामाजिक सञ्जालमा टुटेका ब्रेकिङ अपडेटहरू । मेरो जिम्मेवारी थियो—यी सबै सामग्रीलाई सम्हालेर, तथ्य जाँचेर, भाषा सुधारेर र प्रस्तुतीकरण शक्तिशाली बनाउँदै छिटो प्रकाशित गर्नु ।
अनलाइनमा एक मिनेट नै ठूलो समय हो । अर्को पोर्टलले ब्रेकिङ हाल्यो, हामीले ढिलो गर्यौँ भने पाठक अर्को साइटतिर लाग्थे । यही कारणले डेस्कको भूमिकामा हुँदा मैले तात्कालिकता र शुद्धता बीचको सन्तुलन कसरी मिलाउने भन्ने कठिन तर महत्वपूर्ण कला सिकें ।
ब्रेकिङको भीड, कमेन्ट सेक्शनको दबाब, सोशल मिडियामा फैलिएका हल्ला, राजनीतिक संवेदनशीलता—यी सबै बीच कहिलेकाहीँ सेकेन्डमै निर्णय लिनुपर्ने हुन्थ्यो । गलत निर्णयले आलोचना निम्त्याउँथ्यो, सही निर्णयले विश्वास बढाउँथ्यो । यी अनुभवहरूले मलाई निर्णय क्षमता, धैर्यता र निरन्तर निगरानी गर्न सक्ने गुणहरूमा परिपक्व बनायो ।
मैले यो दुई वर्ष समाचारलाई तथ्यपरक, सन्तुलित र स्पष्ट बनाउने सीप, पाठकको मनोविज्ञान बुझ्ने क्षमता, दबाब नियन्त्रण र समय व्यवस्थापन, पत्रकारितामा इमानदारी र संवेदनशीलताका मूल्य, डिजिटल माध्यमको ट्रेन्ड र प्रस्तुतीकरण शैली सिकें । न्युज पोर्टलमा डेस्कमा बिताएका यी दुई वर्षले मेरो पत्रकारिताको यात्रालाई दिशा, अनुशासन र आत्मविश्वास दुवै दिएको छ ।
आज मदानी विट तेस्रो वर्षमा प्रवेश गर्दा म गर्वसाथ भन्छु— यी दुई वर्ष मेरो लागि केवल पेशागत अनुभव होइन, जीवन बदलिदिएको यात्रा हो । यहाँ सिकेका प्रत्येक पाठले हिजोको मलाई भन्दा आजको ‘म’ बलियो, आत्मविश्वासी र सक्षम बनाएको छ ।
मदानी विटका सम्पूर्ण टिम, नेतृत्व र सहकर्मीहरूलाई मलाई यस यात्राको महत्वपूर्ण हिस्सा बनाएकोमा मनैदेखि धन्यवाद दिन्छु । आगामी दिनमा पनि— सत्य, वस्तुनिष्ठता र जिम्मेवारीसहित म आफ्नो भूमिकामा निरन्तर समर्पित रहनेछु ।





