जेनजी आन्दोलन र राजनीतिक दलहरूले पुरा गर्नु पर्ने कार्यभार

 यादव थापा
राजनीति सबै नीति भन्दा श्रेष्ठ नीति हो, अरू सबै नीतिहरू त्यस देशले अवलम्बन गरेको राजनीतिवाट निर्देशित र प्रभावित हुन्छन् । त्यसैले देश विकासका लागि सर्वप्रथम प्रत्येक देशको राजनैतिक व्यवस्था, स्थिर र सङ्गलो हुनुपर्दछ । प्रस्तुत लेख ‘राजनीतिक दलहरूको अबको कार्यभार’ मा प्रवेश गर्नु अघि नेपालका राजनीतिक दलहरूको स्थापना, विकास र विगतमा तिनीहरूको अवस्था वारेमा संक्षित रूपमा जानकारी गराउनु पाठकहरूका लागि रुचिकर हुनेछ भन्ने विश्वास लिएको छु ।
राजनीतिक दलहरूको स्थापना र विकास क्रम
नेपालको सबैभन्दा जेठो राजनैतिक पार्टी प्रजा परिषद वि.स १९९३ जेष्ठ २० गते टंकप्रसाद आचार्यको नेतृत्वमा स्थापना भएको थियो, त्यसै गरि वि.पि.कोइरालाको नेतृत्वमा वि.सं. २००३ माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेस, सुवर्ण शमशेरको नेतृत्वमा वि.सं.२००५ श्रवण १ गते नेपाली प्रजातन्त्र कांग्रेस अनि मातृका प्रसाद कोईरालाको संयोजकत्वमा यी दुवै दल मिलाएर वि.स. २००६ चैत्र २७ गते अहिलेको नेपाली कांग्रेस पार्टी र पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । अर्को तर्फ राणा शासन टिकाउने उद्देश्यले भरत शमशेर राणाको नेतृत्वमा २००७ मंसिरमा गोर्खा खुकुरी दल गठन भएको थियो, जसले केही समय देशका विभिन्न भागमा आंतक मच्चाएको थियो । वि.सं. २०१५ साल फागुन ७ गतेदेखि वैशाख १६ सम्म १०९ निर्वाचन क्षेत्रका लागि भएको पहिलो संसदीय निर्वाचनमा विभिन्न राजनैतिक दलहरूले प्राप्त गरेको नतिजा यस्तो थियो
नेपाली कांँग्रेस ७४ स्थान, नेपाल राष्ट्रवादी गोर्खा परिषद १९ स्थान, संयुक्त प्रजातन्त्र पार्टी ५ स्थान, नेपाल कम्युनिट पार्टी ४ स्थान, नेपाल प्रजातन्त्र पार्टी (आचार्य) २ स्थान, मिश्र गुट १ स्थान र स्वतन्त्र उम्मेदवारहरुले ४ स्थानमा विजय हासिल गरेका थिए । वि.सं. २००७ देखि २०४६ साल सम्म दलहरूले कहिले खुला र कहिले भूमिगत अवस्थामा रहनु परेको थियो ।
देशमा २०४६ मा वहुदलिय व्यवस्थाको पुनस्र्थापना देखि २०७४ मा संघीयतामा प्रवेश गर्दासम्म नेपाली जनताहरूले धेरै किसिमका राजनैतिक घटना, आन्दोलन र सरकारका स्वरूप देख्ने अवसर पाए, ती मध्ये २०८२ भाद्र २३ र २४ गते अनायस सुनामीको रूपमा जेन्जी युवाहरूको आवरण र खोल ओढेर आएका आतङ्ककारी र विध्वसंकारी घटनाले नेपालको राजनीतिमा अप्रत्याशित परिवर्तन गरायो । भारतीय र पश्चिमा राष्ट्रहरुको स्वार्थपुरा गर्न उनिहरुको आर्थिक लगानीमा संचालित गैर सरकारी संघ संस्थाका मतियारहरुले दुई दिनमा नेपालका महत्वपूर्ण निकायहरुलाई खरानी बनाए र नेकपा एमाले र काँग्रेसका पार्टी कार्यालय, नेता आवास र कार्यकर्ता प्रमुख निशाना बने ।
राजनीतिक दलहरूको अबको कार्यभार
विश्वमा विकसित राजनीति, समयको गति, जनताको चाहना अनुसार आफुलाई परिवर्तन र परिमार्जन गर्दै लैजान सक्नु नै पहिलो कार्यभार हो, समय गति र मतिलाइ आत्मसात नगरी पुरानै परिपाटीवाट अघि वढ्न खोज्ने दलहरू अव पछि पर्नेछन् । दोस्रो अब सबै दलहरुले आफ्नो पार्टीभित्र पार्टी शुद्धिकररण र सुदृढिकरण अभियान सशक्तरुपमा संचालन गर्नुपर्छ जसबाट पार्टीभित्र जरा गाडेर बसेका धमिराहरुलाइ पाखा लगाउन सकियोस । तेस्रो सबै तहका जनप्रतिनिधिहरू चयन गर्नुपर्दा –न्युनतम शैक्षिक योग्यताको मापदण्ड तोकियोस जसवाट योग्य र शिक्षित कार्यकर्ताले अवसर प्राप्त गरी बौद्धिक व्यक्तिहरूको जन–प्रतिनिधित्व हुनसक्छ । चौथो निर्वाचित जनप्रतिनिधिलाइ कार्यकारी पदको जिम्मेवारी दिँदा योग्यता सहित विज्ञतालाई प्राथमिकतामा राखियोस यसवाट उत्कृष्ट नेतृत्व छनोट हुन्छ । पाँचौ सबै तहका जनप्रतिनिधि छनौट गर्दा कम्तिमा ६०% उम्मेदवार पचास वर्ष कम उमेरका युवाहरुलाई अबसर दिने जसले अहिले जेन्जी आन्दोलनले उठाएको विषयलाई पनि सम्बोधन गर्नेछ । छैटौ, पार्टीको नेतृत्व तहमा आजीवन रहने परिपाटीको अन्त्य गरिनुपर्छ साथै उमेरहद र कार्यकालको सीमा राख्नुपर्छ, यसवाट सबैले नेतृत्व सम्हाल्ने अवसर प्राप्त गर्न सक्छन र पार्टीमा नयाँ उर्जा प्राप्त हुन सक्छ ।