बेरोजगारलाई यसरी गर्न सकिन्छ रोजगारको व्यवस्थापन
जुना केसी
काम गर्ने उमेर पुगीसकेका र शैक्षिक योग्यता पुरा भएका युवाहरू आफ्नो योग्यता क्षमता अनुरूपको रोजगार नपाइ त्यतीकै बस्नुलाई बेरोजगार भनिन्छ । हाम्रो जस्तो परिवेशमा बेरोजगारी एउटा ठूलो चुनौतीको विषय हो ।
नेपालमा बेरोजगार वृद्धि हुनुका मुख्य कारणहरु राजनीतिक अस्थिरता, नयाँ कलकारखाना उद्योगधन्दा खोल्ने वातावरणको अभाव, सञ्चालनमा रहेका उद्योग धन्दाको उचित संरक्षण नहुनु, आधुनीक कृषी प्रणालीको विकास नहुनु, दक्ष जनशक्तिको ठूलो हिस्सा वैदेशीक रोजगार को कारण पलायन हुनु, उचित शिक्षा नहुनु लगायत छन् । नेपालको शिक्षा प्रणाली प्रयोगात्मक र व्यवहारिक बन्न सकेको छैन । बेरोजगार बन्न पुगेका युवाहरूको अवस्थाका बारेमा गहिरो चिन्तन गर्नु पर्ने दायित्व सम्पूर्ण सचेत नागरीक र राज्यको काँधमा छ ।
हामी सहजै अनुमान लगाउन सक्छौ शैक्षिक योग्यता पुरा भएर काम गर्ने उमेर पुगीसक्दा पनि आफ्नो खुट्टामा आफै उभिन नसकी आफ्ना न्युनतम आवश्यकता पुरा गर्न समेत आफन्त सँंग सहयोग माग्नु पर्दाको पीडा कस्तो हुन्छ भनेर ! परिवार, समुदाय र समाजको प्रश्न पनि त्यही हो । जतिबेला उसले काम गर्नु पर्ने उमेर छ । समय छ तर उ त्यति नै वेला किन वेरोजगार ? केहि त गर्नु नी यत्रो भैसक्यो, केही गर्न सक्या हैन जस्ता कुराले उसलाई झनै असहज बनाउँछ । यस्तो अवस्थामा वेरोजगार युवाहरुको मनमा अनकौ भावनाहरु खेल्न थाल्छन, के गरु ? कसो गरु ? कँहा जाउँ, कसलाई भनौ, यति धेरै पढियो अनि केही गर्न सकेको होइन, कस्तो पढाई रहेछ नेपालको, कुनै सीप पनि छैन ? ठिक त्यही वेला परिवारले सहि सल्लाह सुझाव र साथ दिन नसकेको अवस्थामा युवाहरू कुलतमा फस्ने अर्थात डिप्रेसनमा जाने र आत्महत्या जस्तो गम्भिर अपराधमा संलग्न हुने गरेको पाईन्छ ।
हरेक समस्याले आफै समाधान लिएर आएको हुन्छ भन्ने उक्तिलाई आत्मसात गर्ने हो भने, बेरोजगारी समस्याको व्यवस्थापन पनि सहजै गर्न सकिन्छ तर यसको लागी बेरोजगार युवाहरू, राज्य र नागरीक सबै सचेत हुन जरूरत छ । केही छैन, केही हुदैन, केहि गर्न सकिएन भन्ने नकारात्मक भावनालाई ठिक उल्टो बनाउँदै म कोही हुँ, म केही गर्न सक्छु, मेरो जन्म केहि न केही राम्रो काम गर्नका लागि भएको हो भन्ने खालको सकारात्मक भावनाको विकास गर्नु पर्ने हुन्छ ।
नेपालमा बेरोजगारहरुले सुधार्नु पर्ने बानी के छ भने, सानो र थोरै तलव भएको काम शुरु देखि नै नगर्ने, जब हामीले एक पाइला पनि साँदैनौ भने सयौ माइल टाढाको यात्रा कसरी सम्भव हुन्छ र ? सुरुवात सधै सानो बाट हुने गर्दछ, सानो शुरुवाती भोली गएर तपाँइको जीवनमा ठूलो अनुभव र त्यहि जीवन जिउने सारथी बन्न पुग्छ । म बेरोजगार छु भन्न सजिलो लाग्छ हामीलाई तर आफ्नो बारीमा फलेको तरकारी टिपरे बजारमा लगेर बेच्न लाज लाग्छ । शिबरात्री र साउनको सोमवारमा गाउँघरमा फलिरहेका तर खेर गईरहेका बेलपत्र, तुलसी पत्र, फलफूलहरु मन्दिरमा लगेर बेच्न हाम्रो लागी लाजमर्दाे काम हुन पुग्छ । हामी सेलरोटी बनाएर बेच्न सक्देनौ, मकै भटमास भुटेर वेच्न सक्दैनौ, साग कुहियर जान्छ वरु गुन्द्रक बनाएर बजारमा लगेर बेच्देर्नाै । यसो गर्दा हिनताबोध हुन्छ हामीलाई ।
बरु हामी विदेशमा भाडा माँझ्न जान्छौं, त्यहा गएर शौचालय भए पनि सफा गर्छौ । नेपालमा हुने साना साना काममा ध्यान दिन सक्दैनौ । यसको मुख्य कारण नेपालमा श्रमको सम्मान र उचित मुल्यको वातावरण राज्य र समाजले निर्माण गर्न नसक्नु हो ।
आज भोली बेरोजगार युवाहरूको मुख्य लक्ष्य नै वैदेशीक रोजगार वन्न पुगेको छ । +२ पास गर्ने बितिकै हुने खानेहरु यूरोप, अमेरीका, निम्न वर्गकाहरु खाँडी मुलुक जाने सपना बनाउन थालेका छन् । विदेश गएका युवाहरुको पीडा छुट्टै छ । घरमा हुँदा चिया बनाउन नजान्ने युवाहरु त्यहा गए पछी एक्कासी ठूलो जिम्मेवारी र कामको बोझमा पर्दा झनै समस्या पर्ने गरेको छ । जसका कारण कति युवाहरु त्यहाँ रहन नसकेर हार खाएर नेपाल फर्कन्छन भने कति होम सिक र डिप्रेसनको शिकार बन्न पुग्छन । खाँडी मुलुकमा गएका युवाहरूले ठूलो ठूलो जोखीम मुलक काम गर्नु पर्ने हुँदा विभिन्न खालका दुर्घटनामा परी ज्यान गुमाउनु परिरहेको छ । दैनिक आउने तथ्यांकले त्यस तर्फ झस्काउनु पर्नेमा अझै सामान्य लिन थालिएको छ ।
वेरोजगारी. व्यवस्थापनमा राज्य र समाज संचेत हुन अवाश्यक छ । राज्यले पहिले नेपालको शिक्षालाई व्यवहारिक, प्रयोगात्मक र सीप मुलक बनाउन जरूरी छ । शिक्षा र रोजगारलाई सँगै लैजानु पर्छ । संघ संस्था र उद्योग कलकारखानाको संरक्षण जरूरत छ भने नयाँ उद्योग संचालनका लागी उचित वातावरण र राजनीतिक हस्तेक्षप विना ढुक्कसँग ब्यवसाय गर्न सक्ने अवस्थाको सृजना गरिनु पर्छ । संघसंस्था र व्यक्तिगत व्यवसाय संचालन गरिरहेका ब्यवसायीहरुका लागि आवश्यक पर्ने उचित वातावरणको सिर्जना गरिनु पर्छ । राज्यले उद्योगी ब्यवसायीका समस्याहरु समाधान गरी करको दायरामा ल्याउनु पर्छ । उद्योग बलियो बन्न थाले, निरन्तर संचालन भए र लगानीको वातावरण बनाईरहँदा त्यहाँ काम गर्ने श्रमिक मजदुरहरुले उचित पारिश्रमीक पाए कि पाएनन् ? त्यस तर्फ विशेष ध्यान दिनु आवश्यक छ ।
काम सानो वा ठुलो केहि हुन्न । रोजगार वा स्वंय आत्मनिर्भर । मुलुकमा भएको अशान्ति र राजनीतिक अस्थिरता बेरोजगारको चरम नमूना हो । जब राज्यका निकायहरु विद्यालय तह देखि नै रोजगार र आयआर्जनमा जोड्न गरी सक्रिय हुन्छन । नेपाल समृद्ध हुन्छ । सुखी हुन्छ । अनि हामी भन्न सक्छौ सुखी नेपालीको समृद्ध नेपाल । अर्थात समृद्ध नेपालका हामी सुखी नेपाली ? (लेखक सहयोगी रोजगार तथा मल्टिपरपोज प्रालीका प्रवन्ध निर्देशक हुनुहुन्छ । उक्त संस्थाले बेरोजगारलाई रोजगारको ब्यवस्थापन गरिरहेको छ ।)






