७ पूर्वपदाधिकारीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट ७ पूर्वपदाधिकारीलाई छलफलका लागि बोलाएका छन्। पार्टीभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयमा विवाद बढिरहेका बेला देउवाले नेताहरूलाई छलफलमा बोलाएको पूर्वउपसभापति विमलेन्द्र निधिले जानकारी दिए।
देउवासँगको छलफलमा निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विजय गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला र प्रकाशशरण महत सहभागी हुनेछन्।
यी सातै नेता पार्टी महाधिवेशन नियमित हुनुपर्ने तर निर्वाचनअघि गर्न नहुने पक्षमा छन्। तर, महामन्त्री गगनकुमार थापासहितका नेताहरूले निर्वाचनअघि कांग्रेसमा नयाँ नेतृत्व चाहिएको भन्दै नियमित नभए विशेष महाधिवेशन भने पनि गर्नै पर्ने दबाब दिइरहेका छन्।
विशेष महाधिवेशन माग गर्दै पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाइसकेका छन्। हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। तर कांग्रेसका सात भाइ भनेर चिनिएका नेताहरू भने नियमित महाधिवेशनको तालिका ल्याउनुपर्ने र विशेष माग गर्दै बुझाइएको हस्ताक्षर फिर्ता गर्नुपर्ने भन्दै आइरहेका छन्।






