साहित्य र जीवन
साहित्य संस्कृत शब्द हो । व्यसमा पनि दक्षिणपूर्वी एशियामा संस्कृतको छाप त्यहाँको जनजीवनमा प्रचुर मात्रामा परेको छ । यसै सन्दर्भमा नेपाल र भारतका बासिन्दाको जीवनशैली, भाषा, साहित्य र दर्शनमा पनि संस्कृतको दूरगामी र जीवनदायी प्रभाव परेको छ। साहित्य संस्कृतको सहित शब्दबाट बनेको हो । सहित शब्दमा यत् प्रत्यय लागेर साहित्य शब्द बन्दछ । साहित्य शब्दले सहभाव अर्थात् सहितसँग हुने भाव बुझाउँदछ यस शब्दमा आचार्य भामहको भनाइ रहेको छ कि– शब्दार्थौ सहितौ काव्यम “साहित्यमा शब्द र अर्थको सहभाव हुनु नै काव्य हो । साहित्यमा शब्द र अर्थको मिलन हुन्छ, भाव र विचारको सम्मिलन हुन्छ, कल्पना र भावनाको योग हुन्छ, अनुभूति र अभिव्यक्तिको संयोग हुन्छ ।
साहित्यलाई अर्को दृष्टिकोणबाट विचार गर्दा साहित्यमा कल्पना र भावनाको भाव र विचारको अनि अनुभूति र अभिव्यक्तिकोे सहभाव मात्र भएर हुन्न त्यस सहभावले अथवा सहितले हित वा कल्याणकारी भावनाको सम्पादन पनि गरेको हुनुपर्छ । यसरी शब्द र अर्थको योग भएर मात्र हँुदैन, मङ्गलमय भावनाको संयोग हुुनुपर्छ । यसरी शब्द र अर्थमा उदात्त भावनाको प्रयोग भएन भने उक्त शब्द र अर्थको दुरुपयोग हुन जान्छ । संस्कृत साहित्यामा सहित शब्दका दुईवटा अर्थको रुपमा विवेचना गरिएको छ । सहितको एउटा अर्थ साथ वा सहभाव हो भने अर्को अर्थ चाहिँ हितले युक्त हुनु हो । यसप्रकार साहित्यमा सहभाव र हितको सन्तुलित अत्यन्तै आवश्यक रहेको छ ।
संस्कृत साहित्यमा साहित्यको परिभाषा पनि भिन्न भिन्न रुपया विवेचना गरिएको छ । रुद्रथरको भनाइमा “परस्पर सापेक्षाणां तुल्यरूपाणां युगपदेव क्रियान्वयित्वं साहित्यम्” अर्थात् साहित्य भनेको परम्परा सापेक्षित तुल्यकोटिका बस्तुहरुको संग्रह हो । यस परिभाषा अनुसार साहित्यले व्यापक विषय र क्षेत्र अंगालेको देखिन्छ । मानव सभ्यताका विभिन्न शास्त्र र वाङ्मय प्रस्तुत परिभाषामा समाहित भएको छ । वास्तवमा आजको प्रचलित अर्थमा साहित्य यस परिभाषा भन्दा भिन्न छ । कुन्तकको भनाइ अनुसार “साहित्यमनयोः शोभाशालितां प्रति काप्यसौ अन्युनानतिरिक्तत्वमनोहारिण्यवस्थितिः अर्थात शब्द र अर्थको यथावत सहभाव साहित्य हो । तर शब्द र अर्थको सहभावनालाई मात्र साहित्यको संज्ञा दिन सकिंदैन । शब्द र अर्थको सद्भाव वाङ्मयको कुनै पनि अङ्गमा हुनैपर्छ । राजशेस्वरकोे भनाइ अनुसार साहित्यको परिभाषा शब्दार्थयोर्यधावत्सहभावेन विद्या साहित्यविधा अर्थात् शब्द र अर्थको सुन्दर स्थिति र यथोचित संयोग नै साहित्य हो । एक दृष्टिले शब्द र अर्थलाई साहित्यको साधनको रुपमा लिन सकिन्छ भने अर्को दृष्टिले हित सम्पादनलाई साहित्यको एकमात्र साध्यको रुपमा लिन सकिन्छ ।
अंग्रेजी भाषामा साहित्यलाई लिटरेचर (Literature) भनिन्छ । Literature को उत्पत्ति Letters बाट भएको हो । अर्थ अक्षर हो। विविध अक्षरहरुको समूहलाई साहित्य भन्न सकिन्छ । साहित्य शब्दले वहन गरेको गुरुता विशिष्टता र व्यापकता Literature शब्दले निर्वाह गर्न सकेको देखिन्न । अंग्रेजी साहित्यका विद्वान मेथ्यु आर्नल्ड (Metthew Arnold) को भनाइमा Literature is at bottom a criticism of life अर्थात साहित्य भनेको जीवनको समालोचना हो । तसर्थ साहित्यमा जीवन र जगतमा प्राप्त विभिन्न भावना र अनुभूतिको अभियाक्त हुन्छ । त्यसैले साहित्य एउटा लोक अनि आलोक हो जसमा बिभिन्न राद सिद्धान्त र प्रवृति समयका रङहरुमा परिभाषित हुँदै जान्छन् ।
जीवन भनेको जन्मेदेखि मृत्युसम्मको अवस्था हो । जब मानिस जन्मछ तब उसले आमाबाट धेरै कुराहरु सिक्दछ, त्यसपछि बुबाबाट र परिवारबाट सिक्दै समाजबाट सिक्छ । जीवन कस्तो बनाउने भन्ने कुरा पारिवारिक परिवेश, सामाजिक परिवेश आदिमा पनि केही निर्भर देखिन्छ । तथापि व्यक्तिमा नि केही न केही प्रतिमा अवश्य हुन्छ । एउटा असल बीउ मलिलो माटो, उचित हावापानी र मलजल पुगेमा राम्रोसँग अंकुराएर हुर्कन्छ तर वालुवामा प¥यो भने बीउ त्यतिकै कुहिएर जान्छ । मान्छेको जीवन पनि त्यस्तै हो । उसले राम्रो पारिवारिक बातावरण गाउँ समाज विद्यालय आदिमा राम्रो र उचित बातावरण पायो भने उसको क्षमता बृद्धि हुन्छ र ऊ असल नागरिक बन्छ । जस्तो हरेक बनस्पति केही न केही औषधीय गुणले युक्त हुन्छन् । हरेका अक्षर मिलेर वेदका मन्त्र बन्छन् तर चिन्न नसक्नु हाम्रो कमजोरी हो । त्यस्तै मानिस पनि केही न केही प्रतिभायुक्त हुन्छन् तर त्यो फस्टाउने वातावरण भयो र प्रतिभा चिन्न सकियो भने नै त्यसले सार्थक रुप लिने हो ।
मानिस एक सामाजिक प्राणी हो । अन्य प्राणी भन्दा फरक चेतना भएको कारणले पनि मानिसलाई सामाजिक प्राणी भनिएको हो । मानिस सामाजिक प्राणी भएता पनि केहीमा सामाजिक चेतना नभएको पनि देखिन्छ । खास त सामाजिक प्राणी भएपछि सामाजिकी करण हुनु, समाजप्रतिको दायित्व निर्वाह गर्नु र सबको हित सोचेर कर्म गर्नुपर्छ । सबैमा जस्तै भावना र विचार नभएको पनि पाइन्छ । कोही कोही असाध्य लोभी, संकीर्ण विचार, आफै मात्र खाउ भन्ने समाजलाई दिनुपरे हिचकिचाउने र पछि हटने स्वाभाव पनि केही केहीमा देखा परेको हामी पाउँछौ । मानिस संवदेनशील हुनुपर्छ । विवेकी हुनुपर्छ, नैतिकवान हुनुपर्छ र इमानदारितापन पनि हुनुपर्छ । यति भयो भने त्यो मानिस सफल भएको ठहरिन्छ मानिसको गुण अरुलाई सेवा गर्नु हो । संसारमा व्यक्तिहद समाजका उदाहरणका रुपमा हामी पाउन सक्छौ जस्तै रेडक्रसका जन्मदाता हेनरी ड्युना, समाजसेवी मदर टेरेसा, नर्र्स फ्लोरेंस नाइटिङ्गल आदि जसले समाजमा असाध्य ठूलो योगदान गरे र उनीहरु अहिले पनि समाजबाट पूज्य छन् र अमर छन् । तसर्थ हामी मानिसले आ–आफ्नो ठाउँबाट गरेको समाजसेवा गर्नु नै सार्थक जीवन हो ।
साहित्यमा विविध विधाहरु छन्। कथा, कविता, निबन्ध, उपन्यास, महाकाव्य, नियात्रा मुक्तक व्यंग्य, हाइकु, गजल आदि । यी सबै विचारहरुले मानिसलाई सकारात्मकतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेलको हुन्छन् । जीवनलाई दिशा निर्देश गर्नमा साहित्यको पनि महत्वपूर्ण भूमिका रहन्छ । तसर्थ साहित्य जीवनको अभिन्न अङ्गको रुपमा लिन सकिन्छ । साहित्यले देखाएको र अघि बढाएको बाटोेतर्फ लाग्नु मानिसको जीवन श्रेयस्कर हुन्छ । साथै साहित्य प्रगतिउन्मुख पनि हुनुपर्छ । यथास्थितिलाई समतामूलक समाजतर्फ डोहो¥याउने साहित्यले समाज रुपान्तरणमा मुख्य भूमिका रहेको हुन्छ । साहित्य समाजको दर्पण हो । समाजमा घटेका घटना परिघटना आदिलाई साहित्यमार्फत प्रतिबिम्बन गरिन्छ तसर्थ साहित्य जीवनसंग अभिन्न रहेको हुन्छ । साहित्यले नै समाजलाई राजनीतिलाई र अन्य पक्षहरुलाई पनि दिशा निर्देश गरिरहेकै हुन्छ ।





