स्थानीय तहको स्वास्थ्य क्षेत्रमा भूमिका, चुनौती र अवसर

संघीय व्यवस्था कार्यान्वयनमा आएपछि स्वास्थ्य सेवाको व्यवस्थापन र सेवा प्रदान गर्ने कार्यमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण बनेको छ। कानुन र नीतिहरूले स्थानीय पालिकाहरूलाई स्वास्थ्य क्षेत्रमा थप सशक्त अधिकार दिएका छ जसको मुख्य लक्ष्य ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु हो। नेपालको संविधानले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। यस अधिकारलाई व्यवहारमा उतार्नका लागि स्थानीय सरकार सञ्चालन ऐनले स्तथानीयतहहरूलाई विस्तृत स्वास्थ्य सम्बन्धी कार्यहरू सुम्पिएको छ। स्थानीय तहको जिम्मेवारीमा स्वास्थ्य नीतिहरूको योजना बनाउने, स्वास्थ्य सेवाहरूको सञ्चालन र नियमन गर्ने, औषधि व्यवस्थापन गर्ने, जनस्वास्थ्य समस्यको निगरानी गर्ने, रोग नियन्त्रण गर्ने र महामारीको व्यवस्थापन गर्ने जस्ता कार्यहरू पर्दछन्। यसैगरी, मातृ तथा नवजात शिशु स्वास्थ्य, खोप अभियान, पोषण सेवा, परिवार नियोजन, र आकस्मिक स्वास्थ्य सेवा जस्ता प्राथमिक स्वास्थ्य सेवाहरूलाई सुदृढ पार्नका लागि स्थानीय तहको सक्रियता अपरिहार्य रहेको छ।

पृष्ठभूमि र संवैधानिक आधारनेपालमा सङ्घीयता लागू भएपछि स्वास्थ्य सेवाको भूमिकामा आएको परिवर्तनलाई आत्मसात गर्नकालागि विभिन्न कानूनी तथा संवैधानिक आधार तयार भएका छन ।

– संवैधानिक जिम्मेवारी: नेपालको संविधान, २०७२ ले धारा ३५ (आधारभूत स्वास्थ्यको हक) मार्फत स्थानीय तहलाई आधारभूत स्वास्थ्य सेवाको अधिकार प्रदान गरेको छ ।

– स्वास्थ्यलाई केवल रोगको उपचार नभई, स्वस्थ जीवनशैली, सरसफाइ र रोकथामको बृहत् दायरामा बुझ्नुपर्ने हुन्छ तथापी स्वास्थ्यलाई विकासको सूचक हो भन्ने कुरा स्थानीयतहमा वुझाउन सकिएको छैन तथापी पनि यो अपरिहार्य
छ ।
– स्थानीय सरकारको महत्त्व: जनताको नजिकको सरकार भएको र आधारभूत स्वास्थ्य सेवाको जिम्मेवारी प्राप्त हुनु नै स्थानीय सरकारको औचित्य झल्किन्छ ।

स्वास्थ्य क्षेत्रमा स्थानीय तहका प्रमुख चुनौतीहरू डिजिटल स्वास्थ्य सूचना प्रणाली लागू गर्ने, स्वास्थ्य शिक्षा तथा सचेतना कार्यक्रमलाई व्यापक बनाउने, स्थानीय स्रोतमार्फत औषधि र स्वास्थ्य उपकरणहरू उपलब्ध गराउने तथा स्थानीय स्तरमै रोग निगरानी प्रणाली मजबुत बनाउन सकिन्छ। स्वास्थ्य क्षेत्रमा पूर्ण जिम्मेवारी प्राप्त भएतापनि स्थानीय तहले धेरै अवरोधहरूको सामना गरिरहेका छन्।मुलत धेरै स्थानीयतहमा मुख्यतया तिन किसिकमा चुनौती तथा समस्या देखिएका छन ।

1. आर्थिक र भौतिक चुनौती
– पर्याप्त बजेटको अभाव: स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सङ्घ र प्रदेशबाट प्राप्त हुने सशर्त र समानीकरण अनुदानपर्याप्त देखिदैन र स्थानीय तहहरु समेत आन्तरिक आम्दानीमा निकै कमजोर देखिएका छन ।

– भौतिक पूर्वाधारको कमी: दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरूमा भवन, बिजुली, पानी र सञ्चारको सुविधा नभएकाकारण स्वास्थ्य क्षेत्रमा आउने नयाँ प्रविधिको समुचित प्रयोग हुन सकेको छैन।
– गुणस्तरीय उपकरणको अभाव: प्रयोगशाला र परीक्षणका आधुनिक उपकरणहरू नहुँदा सामान्य रोगको निदान गर्न पनि जिल्ला वा प्रदेश अस्पताल पुग्नुपर्ने बाध्यता रहेको देखिन्छ।

2. जनशक्ति र व्यवस्थापकीय चुनौती
– दक्ष जनशक्तिको अभाव: विशेषगरी विशेषज्ञ चिकित्सक, नर्स र प्यारामेडिकहरू दुर्गम क्षेत्रमा जान नचाहनु र भएकालाई पनि टिकाउन नसक्नु हालको प्रमुख चुनौती रहेको छ ।

– कर्मचारी व्यवस्थापनको द्वन्द्व: सङ्घीयता अघिदेखि खटिएका स्वास्थ्यकर्मीहरूको वेमिल समायोजन र स्थानीय तहले भर्ना गरेका कर्मचारीबीच समन्वयको अभाव देखिन्छ ।

– राजनीतिक हस्तक्षेप: स्वास्थ्य संस्थाको सञ्चालन, कर्मचारी नियुक्ति र औषधी खरिद जस्ता प्राविधिक विषयहरूमा जनप्रतिनिधिबाट अनावश्यक दबाब वा हस्तक्षेपले कामकारवाहीमा समस्या देखिएको छ ।

3. अन्तर-तह समन्वय र कानुनी जटिलता
– अधिकारको अस्पष्टता: अस्पताल सञ्चालन (प्रदेश/सङ्घ), औषधी खरिद र स्वास्थ्य शिक्षा जस्ता विषयमा तीन तहका सरकारबीच अधिकार क्षेत्रको स्पष्ट नहुनु र हालसम्म पनि स्थानीय तहहरु संघकै भरमा पर्नु र केन्द्रीय कार्यक्रममा मात्रै निर्भर रहेका देखिन्छन । स्थानीय तहहरुका आफनै नौलो र नागरिकका आवाश्यकता बमोजिमका कार्यक्रम भएको देखिदैन भएता पनि निकै कम तहहरुले मात्र गरेको देखिन्छ । हामिले धुलिखेल नगरपालिकाले सञ्चालन गरिरहरहेको स्वस्थ शहर अभियानलाई लिन सकिन्छ जुन नेपालकै नमुना कार्यक्कमकव रुपमा रहेको छ ।

-गुणस्तर नियन्त्रणको समस्या: पालिकाले आफ्नो क्षेत्रभित्र निजी क्लिनिक र फार्मेसीहरूको नियमन गर्न आवाश्यक दक्ष जनशक्ति नहुँदा सेवाको गुणस्तरमा एकरूपता कायम गर्न सकिएको देखिदैन ।संघीयतामा स्थानीय तहको स्वास्थ्य प्रणालीमा आधारभूत भूमिका र रूपान्तरणका अवसरहरूः

नेपालको संघीय संरचनाले स्थानीय तहलाई स्वास्थ्य प्रणालीको आधारभूत जगका रूपमा स्थापित गरेको छ, जसको नेतृत्वदायी भूमिका मुख्य गरी तीन क्षेत्रमा केन्द्रित छ: सेवा प्रवाह, जनस्वास्थ्य प्रवर्द्धन, र योजना/अनुगमन/नियमन पर्दछन । सेवा प्रवाह अन्तर्गत, स्थानीय सरकारहरूले वडा स्तरबाट आधारभूत स्वास्थ्य सेवा (जस्तै: खोप, पोषण, सुरक्षित मातृत्व) सुनिश्चित गर्छन्, स्वास्थ्य संस्थाको सञ्चालन गर्छन् र जनशक्ति व्यवस्थापन (चिकित्सक, नर्सको परिचालन) गर्छन् । जनस्वास्थ्य प्रवर्द्धनमा महामारीको प्रकोप नियन्त्रण (जस्तै: डेङ्गी, कोभिड-१९), खोप अभियान सञ्चालन, र वातावरणीय सरसफाइ मार्फत रोग रोकथामलाई प्राथमिकता दिइएको छ। यसका अतिरिक्त, स्थानीय तहले स्वास्थ्य नीति निर्माण गर्छ, स्वास्थ्य सूचना प्रणाली मार्फत अनुगमन गर्छ, र औषधी तथा उपकरणको उपलब्धता सुनिश्चित गर्छ।

स्थानीय तहमा चुनौतीहरू रहे तापनि स्थानीय तहसँग स्वास्थ्य प्रणालीलाई रूपान्तरण गर्ने ठूला अवसरहरू प्रशस्त रहेको छ। जनताको नजिकको सरकार र जनताले महसुस गर्ने सरकार भएकोले पहुँच र जवाफदेहीतामा सुधार ल्याउन सकिन्छ भने प्रत्यक्ष अनुगमन मार्फत अपनत्व बढाउन सकिन्छ। स्वास्थ्यमा नवीनता ल्याउनका लागि बहुक्षेत्रीय सहकार्य (शिक्षा, कृषि, खानेपानी विभागसँग), स्थानीय आयुर्वेदिक चिकित्साको प्रयोग, र दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने उपायहरू महत्वपूर्ण हुन सक्छन। वित्तीय र जनशक्ति समाधानका लागि स्थानीय स्वास्थ्य बिमा योजना ल्याउन सकिने र कार्यसम्पादनमा आधारित प्रोत्साहन मार्फत दक्ष जनशक्तिलाई आकर्षित गर्न सकिने सम्भावनाहरू त्यतिनै प्रवल रहेको देखिन्छ।

स्वास्थ्य सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले र गाउँ-टोलका आवश्यकताहरू स्थानीय तहले राम्रो रूपमा बुझ्ने भएकाले, स्वास्थ्य प्रणालीलाई सबल बनाउन स्थानीय तहको भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ।

स्थानीय तहले नेतृत्वदायी भूमिका खेलेर सबै नागरिकसम्म सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सक्छन्। यसका लागि संस्थागत क्षमता वृद्धि, बजेट अभिवृद्धि, जनशक्ति विकास, र स्वास्थ्य सेवा प्रविधिको उपयोग Telemedicine जस्ता उपायहरू अपनाउन सकिन्छ।

आधारभूत स्वास्थ्य सेवा स्थानीय तहलाई सुवर्ण अवसर हो, जसले गर्दा स्थानीय तहले नीति र कार्यक्रमहरू स्थानीय अवस्था अनुसार परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्छन् ।संघीयताले स्वास्थ्य सेवाको विकेन्द्रीकरण र स्थानीय नेतृत्व मार्फत गुणस्तरीय सेवा सुनिश्चित गर्ने सुवर्ण अवसर प्रदान गरेको छ । समग्रमा, संघीय संरचनाले स्वास्थ्य सेवालाई स्थानीय स्तरसम्म पुर्‍याउने अवसर प्रदान गरेको छ, यद्यपि यस क्षेत्रमा रहेका चुनौतीहरूको पहिचान गरी समाधान गर्नु आवश्यक छ।