शिक्षामा निजी क्षेत्रको भूमिका: गुणस्तरीय शिक्षाको अर्काे नाम हो ‘निजी विद्यालय’

शिक्षा कुनै पनि राष्ट्रको प्रगति र समृद्धिको मेरुदण्ड हो । सामाजिक चेतना, मानव विकास र राष्ट्रिय उत्पादन क्षमताको आधार शिक्षाको गुणस्तरमै निहित हुन्छ । नेपालमा सरकारी शिक्षासँगै निजी शैक्षिक क्षेत्रले विगत तीन दशकयता देशको शिक्षालाई रूपान्तरण गर्ने ऐतिहासिक योगदान दिएको छ ।
निजी शिक्षाको उदय
नेपालमा निजी शिक्षाको औपचारिक यात्रा वि.सं.२०३६ सालबाट सुरु भएको मानिन्छ । त्यसबेला सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या तीव्र गतिमा बढ्दै थियो, तर गुणस्तरीय शिक्षाको कमी गहिरो रूपमा महसुस भइरहेको थियो । यही आवश्यकता पूरा गर्न केही शिक्षाप्रेमी र उद्यमशील व्यक्तिहरूले निजी विद्यालय स्थापना गर्ने साहसिक पहल गरे ।
काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, धरान र विराटनगरजस्ता शहरहरूमा सुरु भएका ती विद्यालयहरूले अनुशासन, समय पालन, नतिजा र व्यवहारिक शिक्षाको नयाँ मापदण्ड प्रस्तुत गरे । सुरुमा स–साना घर वा भाडाका भवनमा सञ्चालन भएका यी विद्यालयहरूले मेहनत, इमानदारी र नतिजामुखी गुणस्तरीय शिक्षणका कारण अभिभावकहरूको विश्वास जिते र विस्तारै देशभर फैलिँदै गुणस्तरीय शिक्षाको अर्को नाम “निजी विद्यालय” बने ।
विस्तार, लगानी र सबै तहको शिक्षा
आज नेपालभर करिब १० हजारभन्दा बढी निजी विद्यालय सञ्चालनमा छन्, जहाँ करिब ३० लाख विद्यार्थी अध्ययनरत छन् । यी विद्यालयहरूले आधुनिक भवन, प्रयोगशाला, पुस्तकालय, कम्प्युटर शिक्षण, डिजिटल बोर्ड र अतिरिक्त क्रियाकलापहरूमा उल्लेखनीय लगानी गरेका छन् ।
निजी शिक्षामा हालसम्म करिब ६ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । झण्डै ४ लाखभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारीमा संलग्न छन्, जसले यस क्षेत्रलाई शिक्षासँगै रोजगारी सिर्जनाको बलियो माध्यम बनाएको छ ।
सिर्फ विद्यालय मात्र होइन, निजी क्षेत्रले प्राविधिक शिक्षा, व्यावसायिक शिक्षा, नर्सिङ, इन्जिनियरिङ, व्यवस्थापन र विश्वविद्यालय तहसम्मको शिक्षामा पनि उल्लेखनीय योगदान पु¥याएको छ। यसले विद्यार्थीहरूलाई व्यावहारिक सीप, अनुसन्धान र रोजगारमुखी दक्षता प्रदान गर्दै राष्ट्र निर्माणमा प्रत्यक्ष भूमिका खेलेको छ ।
निजी क्षेत्रको प्रमुख योगदान
१. गुणस्तरीय शिक्षाको प्रवद्र्धन
एसईई, कक्षा १२ र अन्य व्यावसायिक तथा प्राविधिक परीक्षा नतिजा अनुसार, निजी विद्यालयका विद्यार्थीहरूको पास दर र उच्च प्रदर्शन सरकारी विद्यालयभन्दा बढी देखिन्छ ।
२. रोजगारी सिर्जना
शिक्षक, प्रशासक, कर्मचारीदेखि लिएर प्राविधिक र सहयोगी जनशक्तिसम्म, निजी शिक्षाले लाखौँ नेपालीलाई रोजगार दिएको छ ।
३. प्रविधि र नवाचारको प्रयोग
अनलाइन शिक्षण, डिजिटल कक्षा, प्रोजेक्ट–आधारित अध्ययन र अन्तरक्रियात्मक शिक्षण पद्धतिले नेपाललाई विश्व शिक्षण प्रवृत्तिसँग जोडेको छ ।
४. विद्यार्थीको समग्र विकास
खेलकुद, कला, संगीत, नेतृत्व विकास, सामाजिक सेवा र संचार सीपजस्ता सह–शैक्षिक गतिविधिमा जोड दिँदै निजी विद्यालयहरूले विद्यार्थीलाई आत्मविश्वासी र जिम्मेवार नागरिक बनाएका छन् ।
५. राज्यको भार कम गर्ने भूमिका
करिब ३४% विद्यार्थी निजी विद्यालयमा अध्ययनरत छन् । यसले सरकारी शैक्षिक लगानीमा ठूलो भार कम गरेको छ र राज्यलाई प्राथमिकता अन्य क्षेत्रमा केन्द्रित गर्न सक्षम बनाएको छ ।
६. उच्च शिक्षा र व्यावसायिक दक्षता
प्राविधिक, व्यावसायिक र विश्वविद्यालय तहको शिक्षा विस्तार गरेर विद्यार्थीलाई रोजगारमूलक सीप, अनुसन्धानको अवसर र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खडा हुन सक्ने क्षमता प्रदान गरेको छ ।
७. ग्लोबल कनेक्ट र अन्तर्राष्ट्रिय मान्यता
धेरै निजी विद्यालयहरूले अन्तर्राष्ट्रिय पाठ्यक्रम (जस्तै  IB, Cambridge) र विद्युतीय शिक्षा प्रणाली अपनाएर विद्यार्थीलाई विश्वस्तरीय शिक्षा र अवसर प्रदान गरेका छन् ।
८. समानता र पहुँचमा सहयोग
छात्रवृत्ति, आर्थिक कमजोर विद्यार्थीका लागि छुट र डिजिटल पहुँचको व्यवस्था गर्दै निजी विद्यालयहरूले शिक्षा समानता र पहुँच सुधारमा पनि योगदान गरेका छन् ।
निष्कर्ष
नेपालको शैक्षिक यात्रामा निजी क्षेत्र अब विकल्प होइन, अपरिहार्य सहयात्री बनिसकेको छ ।  यसले देशमा गुणस्तरीय शिक्षा, रोजगारी, प्रतिस्पर्धा र व्यावसायिक दक्षता स्थापनामा अग्रणी भूमिका खेलेको छ ।
एसईई, कक्षा १२ र उच्च तहका शिक्षा तथा लगानीको आधारमा, निजी विद्यालय र संस्थाले गुणस्तरीय शिक्षा, समग्र विकास र व्यावसायिक दक्षता दुवैमा स्पष्ट योगदान पु¥याएका छन् ।
निजी शिक्षाको लक्ष्य नाफा मात्र होइन — राष्ट्र निर्माण र सक्षम नागरिक उत्पादन हो । यदि सरकार र निजी क्षेत्रले साझेदारी र सहकार्यको भावनामा अघि बढे, ‘सबैका लागि गुणस्तरीय, समान र व्यवहारिक शिक्षा’ को लक्ष्य साँच्चिकै प्राप्त हुनेछ । 
(लेखक प्याब्सन काभ्रेका अध्यक्ष हुनुहुन्छ ।)