गुणस्तरीय शिक्षाका समस्या र सुधारका उपायहरू

श्याम प्रसाद पाण्डेय
प्रधानाध्यापक (माध्यमिक प्रथम श्रेणी)
चण्डेश्वरी सृष्टिकान्त मा.वि. बनेपा ४

विषय प्रवेश
नेपालमा सञ्चालित धेरैजसो सामुदायिक (सरकारी) विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेका छैनन् भनिन्छ । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) कोनतिजाले पनि यस भनाइलाई पुष्टि गर्न सहयोग गर्दछ । २०८१ सालको (एस.ई.ई.) परीक्षामा संस्थागत (निजी) विद्यालयहरूबाट सम्मिलित ८५ प्रतिशत विद्यार्थीहरूले सफलता प्राप्त गर्दा सामुदायिक विद्यालयबाट सम्मिलित ५२ प्रतिशत विद्यार्थीहरूले
मात्र सफलता प्राप्त गरेका छन् । यसकारण, सामुदायिक विद्यालयहरूलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बनेको छ । अभिभावकहरूलाई आफ्नो बलबुताले भ्याएसम्म आफ्ना बच्चाहरूलाई संस्थागत विद्यालयहरूमा पढाउन चाहने अवस्था अएको छ ।
सामुदायिक विद्यालयहरूको गुणास्तर सुधारका लागि भएका सरकारी प्रयासहरू अपेक्षाकृत सफल हुन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४
कार्यान्वयन भएपछि स्थानीय सरकारहरू सामुदयिक विद्यालय सुधार गर्ने प्रयास गर्नुका सट्टा विद्यालयहरू बन्द गर्ने वा नजिकैका विद्यालयहरूसँग गाभ्ने काम गर्दैछन्।

यस्तो प्रतिकूल परिस्थितिमा पनि केही सामुदायिक विद्यालयहरूले लोभलाग्दो प्रगति गरेका छन् । संस्थागत विद्यालयबाट आफूतिर विद्यार्थी आकर्षित गर्दैछन् । योकसरी सम्भव भयो ? अन्य विद्यालयहरूले आफूलाई कसरी सुधार गर्न सक्लान् ? भन्ने बारेमा यो लेखमा छोटो चर्चा गरिन्छ ।

गुणस्तरीय शिक्षा संयुक्त राष्ट्रसङ्घले दीगो विकास लक्ष्य नं. ४ मा “सबैका लागि समावेशी, समान र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु र जीवनभर सिकाइका अवसर विस्तार गर्नु” भनेर गुणस्तरीय शिक्षामा जोड दिएको छ । विश्वमा शिक्षाको गुणस्तरका विभिन्न परिभाषा
र मापदण्ड रहेको पाइन्छ । यो केवल किताब–कापीमा सीमित सिकाइ होइन,

जीवनका आवश्यक सीप, मूल्य र व्यवहार सिकाउने समग्र शिक्षा हो । यसले विद्यार्थीमा सोच्ने, बुझ्ने, प्रश्न गर्ने र समस्या समाधान गर्ने क्षमता विकास गर्दछ ।
वास्तवमा गुणस्तरीय पाठ्यक्रम, गुणस्तरीय विद्यालय वातावरण, गुणस्तरीय कक्षाकोठा, गुणस्तरीय सिकारू, गुणस्तरीय शिक्षक र गुणस्तरीय मूल्याङ्कन पद्धतिले गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने कुरामा दुईमत नहोला ।

तर नेपालमा भने अङ्ग्रेजी भाषाको दक्षता र परीक्षामा प्राप्त गरेको अङ्क वा ग्रेडलाई नै गुणस्तरको मापक मानिएको देखिन्छ । यसैका आधारमा विद्यालयलाई कम वा उच्च गुणस्तरको भनेर मूल्याङ्कन गरिन्छ । देशको राजनैतिक नेतृत्व, तथाकथित शिक्षाविद्, शिक्षा प्रशासकदेखि सामान्य अभिभावकहरूले यसैलाई मापदण्ड मानेका छन् । अझ सामामुदायिक विद्यालयका शिक्षकहरू समेत यसैका आधारमा आफ्ना बालबालिकाहरूलाई संस्थागत विद्यालयमा पठाइरहेका छन् ।

यस्तो अवस्थामा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन खोज्नु फलामको चिउरा चपाउनु जस्तै भएको छ ।नेपालमा सामुदायिक विद्यालयहरूको समस्याहरू नेपालमा सामुदायिक विद्यालयहरूको  कमजोर गुणस्तर हुनुमा धेरै कुराहरूले योगदान पुर्‍याएका छन् । धेरै मानिसहरू शिक्षकहरूमाथि दोष लगाउँछन् । विभिन्न अध्ययनहरूले नेपालमा शिक्षकहरूको गुणस्तर सन्तोषजनक नभएको कुरा उठाएका छन् । आन्तरिक प्रतिस्पर्धाका नाममा कमजोर क्षमताका शिक्षकहरूको नियुक्ति,शिक्षक छनोटमा अनियमितता, शिक्षकहरूको राजनीतिक संलग्नता र शिक्षकहरूमा दण्ड र पुरस्कारको अभाव जस्ता कारणहरूले शिक्षकहरूलाई आरोपित गर्ने गरिन्छ ।

सामुदायिक विद्यालयहरू कमजोर हुनुको अर्को कारक विद्यालयको नेतृत्वलाई लिइन्छ । विद्यालय राम्रो बनाउनका लागि प्रधानाध्यापकले प्रमुख भूमिका खेल्ने गरेको पाइन्छ । रोमाञ्चक र नवीन सिकाइ वातावरणमा गुणस्तरीय शिक्षण र सिकाइ प्राप्त गर्ने आधारको रूपमा प्रभावकारी प्रधानाध्यापक नेतृत्वलाई लिइन्छ । यद्यपि, नेपालमा विद्यालयको प्रधानाध्यापक नियुक्ति र नेतृत्व क्षमता विकासलाई कहिल्यै गम्भीरतापूर्वक लिइएको छैन । हाल, नेपालका धेरैजसो सामुदायिक विद्यालयहरूमा कानुनी रूपमा निमित्त प्रधानाध्यापकहरू छन् जसलाई कुनै मापदण्ड र परीक्षण बिना विद्यालय व्यवस्थापन समितिद्वारा नियुक्त गरिन्छ । सामुदायिक विद्यालयहरू कमजोर हुनुका अन्य कारणहरूमा राजनीतिक अस्थिरता, दशक लामो गृहयुद्ध, शिक्षाको बजारीकरण र निजीकरण आदि रहेका छन् ।

सामुदायिक विद्यालयमा लगानीको सङ्कटलाई अर्को मुख्य कारण मान्नै पर्दछ । आवश्यक शिक्षक दरबन्दी, कक्षाकोठा, खानेपानी, शौचालय, विज्ञान प्रयोगशाला, फर्निचर, खेलसामग्री जस्ता न्युनतम पूर्वाधार बिना विद्यालय खोल्न अनुमति दिनेसरकारी रवैयाले गर्दा सामुदायिक विद्यालयहरू मर्नु न मोटाउनुको अवस्थामा छन् ।

अझ, तीन घण्टाको लिखित परीक्षाबाट विद्यार्थी मूल्याङ्कन गर्ने विधिले त ज्ञान, सिप, प्रविधि र मूल्य मान्यताको सिकाइभन्दा परीक्षामुखी घोकन्ते शिक्षालाईप्रोत्साहित गरेको छ । त्यसमाथि, परीक्षा केन्द्रमा हुने भनी आरोप लागेका अनियमितता, उत्तरपुस्तिका परीक्षणमा हुने लापर्वाही आदिले गुणस्तरीय शिक्षाको धज्जी उडाएकै छन् । सामुदायिक विद्यालयको रूपान्तरण नेपालका लगभग सबै विद्यालयहरू उस्तै उस्तै परिस्थितिमा रहेको पाइन्छ । के ग्रामीण क्षेत्र, के शहरी क्षेत्र, सबै क्षेत्रहरूमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको पृष्ठभूमि उस्तै उस्तै छ । त्यसैले, विद्यार्थी/अभिभावक वा विद्यालयको भौगोलिक क्षेत्रको विविधताले विद्यालयको गुणस्तरमा खासै ठूलो प्रभाव पारेजस्तो देखिँदैन । उस्तै परिस्थितिमा, उस्तै प्रकारका विद्यार्थीहरूलाई शिक्षण गरेर पनि केही सामुदायिक विद्यालयहरू संस्थागत विद्यालयहरूभन्दा पनि अगाडि बढिरहेका छन् भने केही विद्यालयहरू झन् झन् पछाडि पर्दैछन् । यस्तो अवस्थामा केही सामुदायिक विद्यालयहरूले गरेका सफल अभ्यासले अन्य विद्यालयहरूले सिक्न र सो अनुसार आफूलाई सुधार गर्न जरूरी देखिन्छ ।

विद्यालयको रूपान्तरण, अझ विशेष गरी सामुदायिक विद्यालयको रूपान्तरण, एकदमै चुनौतीपूर्ण काम हो । बाह्य रूपमा जति नै प्रयत्न भए पनि आन्तरिक रूपमा सुधार नभएसम्म कुनै पनि विद्यालय सुधार गर्न सम्भव हुँदैन । अर्को शब्दमा भन्नुपर्दा आन्तरिक र बाह्य दुवै तर्फबाट प्रयास भए मात्र विद्यालयको रूपान्तरण हुन सक्छ ।विद्यालय सँस्कृति र विद्यालय वातावरणले विद्यालयको गुणस्तर सुधारमा धेरैमहत्त्वपूर्ण भूमिका खेल्छन् । नेपालमा सामुदायिक विद्यालयहरूको परिदृश्य बिस्तारै परिवर्तन हुँदै गइरहेको छ । केही सामुदायिक विद्यालयहरूले उल्लेखनीय रूपमा शैक्षिक सुधार गरिरहेका छन् । अझ केही सामुदायिक विद्यालयहरू त संस्थागत विद्यालयहरूभन्दा पनि आकर्षणकोकेन्द्र बनेका छन् । बटवलको कालिका मानवज्ञान मावि, चितवनको नारायणी मावि,काठमाडौका ज्ञानोदय मावि बाफल, रत्नराज्य मावि बानेश्वर, भक्तपुरको वागीश्वरी मावि, जस्ता विद्यालयहरूले आफूलाई विद्यार्थी तथा अभिभावकहरूको आकर्षणको

केन्द्र सावित गरिसकेका छन् । काभ्रेपलाञ्चोक जिल्लामै पनि संस्थागत विद्यालयबाटसामुदायिक विद्यालयमा विद्यार्थी जाने लहर नै चलेको छ । बनेपाको चण्डेश्वरी सृष्टिकान्त मावि, पनौतीको भालेश्वर मावि, धुलिखेलको सञ्जीवनी मावि, नमोबुद्ध
(भकुण्डेबेशी) को जनक मावि लगायतका धेरै विद्यालयहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । यी र यस्ता विद्यालयहरूमा सरकारी वा गैरसरकारी तवरबाट विशेष व्यवस्था गरेर सुधार भएको देखिँदैन । बरू, विद्यालयको आन्तरिक व्यवस्थापनमा सुधार गरी, विभिन्न कार्यक्रम र क्रियाकलाप थप गरी विद्यालय व्यवस्थापन गरेको देखिन्छ । ती विद्यालयहरूले अवलम्बन गरेका उपायहरू तल चर्चा गरिएको छ ।

योग्यतम शिक्षक नियुक्ति र तालिम
विद्यालय शिक्षाको मुख्य आधार नै कक्षाकोठामा हुने क्रियाकलाप हो । यसकालागि योग्यतम शिक्षक नियुक्ति गर्ने, आवश्यक तालिम दिने र प्रोत्साहन कार्यक्रमसञ्चालन गर्ने गर्नुपर्दछ । शिक्षकले खुसी मन लिएर कक्षामा जाने वातावरण तयारगरिनुपर्दछ । विद्यालयको आन्तरिक स्रोत परिचालन गरी शिक्षकहरूलाई पुरस्कारतथा प्रोत्साहनको व्यवस्था गरिनुपर्दछ । विद्यालयभित्र समेत तालिमको व्यवस्था गरीशिक्षकहरूलाई शैक्षणिक ज्ञान र सिपसँगै सूचना तथा सञ्चार प्रविधिको ज्ञान रसिपको विकास गराउनु पर्दछ । तालिमबाट प्राप्त ज्ञान र सिप कक्षाकोठामा प्रयोग गर्नआवश्यक भौतिक सामग्री पनि व्यवस्था गरिनु पर्दछ।

सबल विद्यालय नेतृत्व
विद्यालयको प्रशासनिक तथा शैक्षिक नेतृत्त्व विद्यालयको प्रधानाध्यापकले गर्नेगर्दछ भने भौतिक व्यवस्थापन र नीतिगत नेतृत्त्व विद्यालय व्यवस्थापन समिति र त्यसको अध्यक्षले गर्ने गर्दछ । त्यसैले, विद्यालयका प्रधानाध्यापक र अध्यक्षबिचकोसहकार्यले विद्यालयको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसबाहेकनेतृत्त्वको दूरदर्शिता, पारदर्शिता, सदाचार, निर्णय क्षमता, सहकर्मीहरूसँगको सुमधुरसम्बन्ध आदिले विशेष महत्त्व राख्दछ । तसर्थ, प्रधानाध्यापक छनोट गर्दा यी सबैकुराहरूमा ध्यान पुग्नु पर्दछ । विद्यालय व्यवस्थापन समिति गठन र विशेष गरीयसको अध्यक्षको छनोटमा अझ बढी ध्यान दिनु पर्दछ । यदि व्यक्तिगत स्वार्थ बोकेकाव्यक्तिहरू छनोट भए भने विद्यालय गति ओह्रालो लाग्न केही समय पनि लाग्दैन ।

सरोकारवालाहरूको संलग्नता
विद्यालय सञ्चालनमा शिक्षक र कर्मचारीहरू मात्र नभई विद्यार्थी, अभिभावक,समुदायको पनि संलग्नता हुनु जरूरी हुन्छ । समय समयमा अभिभावकसँगको अन्तरक्रिया, समुदायमा छलफल र भेटघाट आदि गरेर समुदायको सहयोग जुटाउन सकिन्छ । सबै सरोकारवालाहरूको सहभागितामा योजना निर्माण भएमा आवश्यकस्रोत व्यवस्थापनमा सहज हुन्छ । यस्ता योजनाहरू सफल हुनुका साथै दीगो पनि हुन्छन् ।

सुरक्षित र स्वस्थ विद्यालय वातावरण
विद्यालयको वातावरणलाई विद्यार्थीमैत्री बनाउनु पर्दछ । विद्यार्थीहरू विद्यालय आउँदा मन आनन्दित भएमा सिकाइमा सकारात्मक प्भाव पर्दछ । हरियालीयुक्त वातावरण तयार गर्न फूलबारी तथा बगैंचा निर्माण गर्न सकिन्छ । विद्यालयलाई वायु प्रदुषणरहित, ध्वनि प्रदुषणरहित बनाएर रमणीय वातावरण तयार गएन सकिन्छ । विद्यार्थीहरूका लागि खेल मैदान र खेल सामग्री व्यवस्था पनि उत्तिकै जरूरी छ । भौतिक संरचनाहरू निर्माण गर्दा अपाङ्तामैत्री हुने गरी निर्माण गर्नु पर्दछ । विद्यालयमा प्राथमिक उपचारका लागि विद्यालय नर्सको व्यवस्था गर्नु पर्दछ ।

सिकाइको लागि अतिरिक्त समय
सबै सिकारूहरूले सम्बन्धित कक्षाका लागि आवश्यक पूर्वज्ञान प्राप्त नगरेका पनि हुन सक्छन् । तसर्थ कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त समय व्यवस्थापन गरी उपचारात्मक कक्षाके व्यवस्थापन गरिनु पर्दछ । त्यस्तै विद्यार्थीहरूले कठिन ठानेका विषयहरूमा पनि अतिरिक्त कक्षाके व्यवस्थापन गरिनु पर्दछ ।

सूचना तथा सञ्चार प्रविधिको व्यवस्था
आजको युग सूचना तथा सञ्चार प्रविधिको युग हो । शिक्षक तथा विद्यार्थीहरूमा डिजिटल साक्षरता नहुनु भनेको एक प्रकारले सिकाइ नै अधुरो हुनु हो । त्यसकारणविद्यालय कम्प्युटर, इन्टरनेट आदिको उचित व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउनु पर्दछ । यसका लागि कम्प्युटर विषय शिक्षण मात्र नभई कक्षाकोठामा स्मार्टबोर्ड वा मल्टीमेडिया प्रोजेक्टर जस्ता डिभाइसहरूको व्यवस्था गर्नु पर्दछ ।

पाठ्यपुस्तक र शिक्षण माध्यम
नेपाल सरकारले पाठ्यक्रम विकास केन्द्रमार्फत तयार गरेका पाठ्यपुस्तकहरूउपयुक्त हुँदाहुँदै केही सामुदायिक विद्यालयहरूले निजी प्रकाशनका पाठ्यपुस्तकहरू प्रयोग गरिरहेका छन् । नेपाली माध्यमको सट्टा अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्दैमा शिक्षाको गुणस्तर वृद्धि हुने त पक्कै होइन । तर, अन्तरराष्ट्रिय बजारमा अङ्ग्रेजी भाषा बोल्ने जनशक्तिको मागका कारण पनि अभिभावकहरूले यसप्रति मोह राखेको हुनसक्छ । बजारको मागलाई ध्यानमा राखी यस्ता पाठ्यपस्तक प्रयोग गर्नु पनि उपयुक्त हुन सक्छ ।

यातायातको व्यवस्था
नेपाली समाज बिस्तारै आधुनिकीकरणतिर जाँदै छ । नजिकैको स्थानमा जान पनि यातायातका साधन प्रयोग गर्ने चलन बढ्दै छ । अभिभावकहरू पनि आफ्ना बालबालिकालाई विद्यालय बसमा पठाउन चाहन्छन् । त्यसबाहेक पैदल यात्रीका लागि सडकपेटी नहुँदा यस्तो यात्रा जोखिमपूर्ण पनि हुन्छ । तर विद्यालयहरूले यातायातको व्यवस्था गर्दा आफ्ना अभिभावकहरूको क्रयशक्ति र विद्यार्थीहरूको आवश्कतालाई मुख्य प्राथमिकतामा राख्नुपर्ने हुन्छ । अन्यथा बागमती प्रदेश सरकारलेबस वितरण गरेर विद्यालयमा थन्क्याएजस्तो हुनसक्छ ।

मूल्याङ्कन प्रणालीमा सुधार
नेपालमा विद्यार्थी मूल्याङ्कनका लागि आन्तरिक र बाह्य गरी दुई तरिकाहरू अपनाइएका छन् । बाह्य मूल्याङ्कन पद्धतिमा विद्यालयको भूमिका शुन्यप्राय नै हुन्छ । तर आन्तरिक मूल्याङ्कनमा भने प्रसस्तै सुधार गर्न सकिन्छ । गृहकार्य र कक्षाकार्यको तत्काल विशिष्टीकृत (ज्ञान, बोध, प्रयोग र उच्च दक्षता) पृष्ठपोषण दिने व्यवस्था, कमजोर विद्यार्थीहरूलाई सहपाठी साथीहरूबाट सहयोग जस्ता विधि निरन्तर अपनाउनु पर्दछ । एकाइ परीक्षा तथा साप्ताहिक परीक्षा सञ्चालन गरी विद्यार्थीहरूमा परीक्षाको डर (फोबिया) कम गर्न सकिन्छ ।

निष्कर्ष
विद्यालयको गुणस्तर सुधार अत्यन्तै चुनौतीपूर्ण कार्य हो । हरेक विद्यालयको आफ्नै विशेषता, आफ्नै परिस्थिति र आफ्नै चुनौतीहरू रहेका हुन्छन् । तिनीहरूलाई सामना गर्ने तरिका र उपायहरू पनि फरक फरक नै हुन्छन् । सुधार भएका र सुधारोन्मुख विद्यालयहरूले पनि आफ्ना परिस्थिति अनरूपका विधि र उपायहरू अवलम्बन गरेका छन् । यद्यपि, सबै विद्यालयहरूमा विद्यालय व्यवस्थापन समितिको निस्वार्थ सेवा, प्रधानाध्यापकको सबल नेतृत्त्व, असल शिक्षकको नियुक्ति र विकास, सरोकारबालाहरूको सक्रीय र अर्थपूर्ण सहभागिता, सिकाइ स्थल (कक्षाकोठा र विद्यालय हाता) र सिकाइ क्रियाकलापमा सुधार गरेको पाइन्छ ।शिक्षण संस्थालाई प्रदान गरिने अन्तरराष्ट्रिय गुणस्तर ISO: 21001 (2018) प्राप्त गर्ने नेपालको पहिलो विद्यालयको नेतृत्त्व गरेको अनुभवका आधारमा सामुदायिक विद्यालय सुधार गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सकिन्छ । हामीले चाहे हाम्रो विद्यालय सुधार हुन्छ । रूपान्तरण सम्भव छ । हामी सक्छौं, हामी गर्छौं ।
भवतु सब्ब मङ्गलम् ।